खनाल प्रधानमन्त्री पक्का


काठमाडौं, माघ २० - एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुने पक्का भएको छ । संसदको ठूलो दल माओवादीले समर्थन गर्ने निर्णय गरेपछि खनाल प्रधानमन्त्री हुने पक्का भएको हो ।
एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको उम्मेदवारी फिर्ता लिएर खनाललाई समर्थन गर्ने निर्णय गरेपछि खनाल प्रधानमन्त्री हुने पक्का भएको हो ।
माओवादी स्थायी समितिको आज बसेको बैठकले प्रचण्डको उम्मेदवारी फिर्ता लिएर खनाललाई समर्थन गर्ने निर्णय बहुमतले गरेको हो । निर्णयमा उपाध्यक्ष डा. बाबुराम भट्टराईले नोट अफ डिसेन्ट लेख्नु भएको छ ।
श्रोतका अनुसार दुबै दलका शीर्ष नेताहरुबीच आज विहान भएको भेटमा प्रचण्डले उम्मेदवारी फिर्ता लिने र खनाललाई समर्थन गर्ने सहमति भएको थियो । दुबै दलबीच मन्त्रालय वाँडफाँडको विषयमा समेत सहमति भएको छ ।
संसदमा माओवादीको सिट संख्या २३७ र एमालेको १०७ छ ।
संक्षेपमा खनाल
झलनाथ खनालको जन्म बिस २००६ साल चैत ३ गते इलामको साँखेजुङमा भएको हो । पिता पुङ्कनाथ र माता मधुमाता खनालको कोखबाट खनाल सातौं सन्तानकोरुपमा जन्मिएका हुन् ।
खनाल विद्यार्थी जीवनदेखि नै भूमिगत कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । खनाल यसबीचमा तत्कालिन नेकपा मालेको पोलिट्ब्युरो सदस्य हुँदै महासचिव भएका थिए ।
संविधानसभा निर्वाचनमा तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल दुई ठाउँबाट पराजित भएपछि खनाल महासचिव भएका थिए । २०६६ सालको बुटवल महाधिवेशनमा बरिष्ठ नेता केपी शर्मा ओलीलाई हराउँदै खनाल अध्यक्षमा निर्वाचित भएका थिए ।
खनाल संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नं. १ बाट संविधानसभा सदस्य चुनिएका हुन् ।
उनले राजनीतिशास्त्र र इतिहासमा स्नातक गरेका छन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...