तपाईंको कम्प्युटर भाइरसबाट सुरक्षित छैन भने 'ब्रोडलिंक क्यान इन्फोटेक' एन्टिभाइरस किन्ने उपयुक्त थलो हुनसक्छ। भृकुटीमण्डमा चलिरहेको इन्फोटेकमा झन्डै आधा दर्जन कम्पनीले छुटसहित एन्टिभाइरस बिक्री गरिरहेका छन्।

नेपालमा सबभन्दा चल्तीको एन्टिभाइरस 'कास्परस्की'ले बिक्री मूल्यमा आधा छुट दिएको छ। कास्परस्कीको आधिकारिक बिक्रेता सागर इन्टरनेसनलले हजार रुपैयाँ पर्नेलाई पाँच सयमा बिक्री गरिरहेको छ।
नियोटेरिकले 'ट्रेन्डमाइक्रो' एन्टिभाइरस ल्याएको छ। 'टोटल सेक्युरिटी' नाम दिइएको यो एन्टिभाइरस सफ्टवेयर एउटै कम्प्युटरमा प्रयोग गर्ने भए ९ सय ९९ र तीन वटामा प्रयोग गर्नलाई १ हजार ४ सय ९९ रुपैयाँ पर्ने प्रोडक्ट मेनेजर तृष्णा तुलाधरले जानकारी दिइन्।
इन्फोटेक कम्प्युटरले ल्याएको 'जि-डाटा' को मूल्य हजार रुपैयाँ छ। तीन कम्प्युटरमा प्रयोग गर्न दुई हजारमा बिक्री गरिरहेको ब्रान्ड मेनेजर उज्ज्वल भुजेलले बताए। यो एन्टिभाइरसमा दुई स्क्यानिङ इन्जिन भएकाले अरूभन्दा सुरक्षित भएको उनको दाबी छ।
म्याकाफेले पनि यही मेलाको अवसर पारेर आफ्ना उत्पादनमा छुट दिइरहेको छ। ९ सय पर्ने एन्टिभाइरस ४ सयमा पाइन्छ। तीन कम्प्युटरमा प्रयोग गर्नेलाई पहिले १ हजार ६ सय रुपैयाँ पर्थ्यो भने अहिले पाँच सयमै बिक्री भइरहेको छ।
अर्को एन्टिभाइरस 'क्विकहिल' ५ सयमा एउटा किन्दा सय रुपैयाँ बराबरको माउसप्याड सित्तैमा पाइन्छ। इन्टरनेट सेक्युरिटीसहितको एन्टिभाइरसको मूल्य भने १ हजार ४ सय पर्छ। 'कम्प्युटर किनेपछि एन्टिभाइरस राख्नुपर्छ भन्ने धारणा विकास भएको छ,' इन्फोटेक आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का सचिव अमृतकुमार पन्तले भने, 'सक्कली एन्टिभाइरसको मूल्य गत वर्षभन्दा कम भएकाले धेरैमा राख्नुपर्छ भन्ने धारणा विकास भइरहेको छ।'
नेपालमा वार्षिक तीन करोड रुपैयाँ बराबरको एन्टिभाइरस कारोबार हुने गरेको यसमा संलग्न व्यवसायी बताउँछन्। नेपालमा कास्परस्की, एभिजी, नोर्टन, म्याकाफे, इ-स्क्यान, क्विक हिल, नोड-३२ लगायत एन्टिभाइरस बढी चल्तीमा छन्। भारत, जर्मनी, रुस, अमेरिकामा बनेका यी एन्टिभाइरस प्रबर्द्धन र बिक्रीका लागि नेपालमा आधिकारिक बिक्रेता नियुक्त गरिएको छ। तीमध्ये अधिकांशले क्यान इन्फोटेकमा आफ्नो स्टल राखेका छन्।
इन्टरनेट कनेक्सन, पेन ड्राइभ र सिडी प्रयोगले डाटा ट्रान्सफर गर्दा भाइरस एउटा कम्प्युटरबाट अर्कोमा सजिलै प्रवेश गर्छ। त्यसले कम्प्युटर ढिला हुने, डाटाहरू नष्ट हुने र फर्म्याटसमेत गर्नुपर्ने हुन्छ। एन्टिभाइरस हाल्दा पनि सक्कली-नक्कली छुट्टयाउनुपर्छ।
पहिले सूचना प्रविधिमा लगानी गर्न सक्ने र सामान्य सूचना नष्ट हुँदा पनि ठूलो नोक्सानी बेहोर्नुपर्ने कम्पनीले मात्र एन्टिभाइरस किन्थे। अहिले घरायसी कम्प्युटरमा पनि राख्ने क्रम बढेको छ। अधिकांश कम्प्युटर कुनै न कुनै रूपमा इन्टरनेटको सञ्जालसँग जोडिएका हुन्छन्। त्यस्ता कम्प्युटरमा भाइरस सर्ने जोखिम बढी हुन्छ।
पछिल्लो समय फायरवालसहितको एन्टिभाइरसको माग बढेको छ। एन्टिभाइरसले मात्र सबै किसिमका भाइरस रोक्न नसक्ने हुँदा इन्टरनेट हुँदै आउने भाइरस रोक्न फायरवाल राख्नुपर्ने व्यवसायीहरू बताउँछन्। कास्परस्कीले इन्टरनरेटबाट हुनसक्ने सम्भावित भाइरस आक्रमण रोक्न छुट्टै इन्टरनेट सेक्युरिटीसमेत बजारमा ल्याएको छ। मोबाइल फोन र म्याक कम्प्युटरका लागि छुट्टै एन्टिभाइरस पनि ल्याएको छ।
व्यवसायीका अनुसार ब्रान्डेड कम्प्युटरभन्दा एसेम्बलमा एन्टिभाइरस नराख्नु सुरक्षाका दृष्टिले सबभन्दा खतराजनक हुन्छ। एन्टिभाइरस किन्न चाहनेले अनलाइनबाटै पनि किन्न सक्छन्। अनलाइनबाट क्रेडिट कार्डमार्फत डाउनलोड गर्न सकिए पनि महँगो पर्ने व्यवसायीहरूले बताए। क्रेडिट कार्डबाट किन्दा नोर्टन सिंगल प्रयोगकर्ताकै लागि ९९ अमेरिकी डलरसम्म पर्छ।
एकपटक सक्कली एन्टिभाइरस राखेपछि त्यसको लाइसेन्स सामान्यतया एक वर्षको हुन्छ। त्यसबीच इन्टरनेटमार्फत अटोमेटिक अपडेट हुन्छ। अधिकांश एन्टिभाइरसले इन्टरनेट कनेक्सन भेट्नेबित्तिकै आफैं अपडेट गर्न सक्छन्। स्थानीय बिक्रेताले डाउनलोडको सुविधासमेत दिएका छन्। कम्पनीहरूले एन्टिभाइरस, इन्टरनेट सेक्युरिटी र टोटल सेक्युरिटीका नाममा छुट्टाछुट्टै उत्पादन गरिरहेका छन्।
सूचना प्रविधि विज्ञका अनुसार नयाँनयाँ एन्टिभाइरस आएजस्तै कम्प्युटरमा पनि नयाँनयाँ भाइरसले विभिन्न माध्यमबाट आक्रमण गर्ने क्रम बढिरहेको छ। यसबाट कम्प्युटर बचाउन असुरक्षित वेबसाइट नखोल्ने, पेन ड्राइभजस्ता डाटा ट्रान्सफरका साधन प्रयोग गर्दा स्क्यान गरेर मात्र कपी गरे सुरक्षित हुन सकिन्छ। @ Nagarik

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...