२० माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले जनताले जुत्ता हान्ने डरले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएको बताएका छन् । बिहीबार बसेको संसदको बैठकमा उम्मेदवारी फिर्ताको घोषणा गर्दै प्रचण्डले तत्काल नयाँ सरकार गठन नगरे जनताले नेताहरुलाई जुत्ता हान्ने अवस्था आएको बताए ।
उनले भने-’अहिले त एक दुई थप्पड मात्र खाएका छौं । अब पनि सरकार गठन नगर्ने हो भने नेताहरु बाहिर निस्कन पनि नसक्ने अवस्था आउने मैले देखे । अब त जनताले जुत्ता हान्छन भन्ने डर लाग्यो मलाई ।’ प्रचण्डले एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन सक्नु नेपाली आफ्नो सरकार आफै बनाउन सक्छन भन्ने सन्देश भएको बताए । भारतले नेपालमा सरकार बनाउन नदिएकोप्रति इङ्िगत गर्दै प्रचण्डले भने-’ यसले हामी आफ्नो सरकार आफै गठन गर्न सक्छौं । कसैको आदेश र निर्देशनमा चल्दैनौ भन्ने इतिहास बनेको छ ।’
गएरात आफु राम्रोसंग ननिदाएको भन्दै प्रचण्डले चारैजना लडिरहने तर मुलुकले फेरि पनि सरकार पाउन नसक्ने अबस्था अन्त्य गर्न बोल्ड निर्णय लिएको बताए । ‘हार्ने लिष्टमा मेरो नाम पनि पर्ने भयो, इतिहासको कलंक हुने भइयो भन्ने डरले म रातभर निदाउन पनि सकिन ।’ प्रचण्डले भने ।
इतिहासका सवैभन्दा असल र राम्रा मानिसहरुको प्रतिनिधित्व यो संबिधानसभामा भएको भन्दै प्रचण्डले ६०१ लाई सरकार बनाउन नसक्ने, आफ्नो निर्णय आफैं गर्न नसक्ने र संबिधान बनाउन नसक्ने असक्षम प्रमाणित गर्ने षडयन्त्र भएकाले त्यसलाई चिर्न आफुले त्याग गरेको वताए । ‘यी ६०१ ले सक्दैनन, अरु नै कोही तानाशाही आउनुपर्छ भन्ने बनाउन खोजियो’-प्रचण्डले भने ।
शान्ति र संविधानका लागि आफु र आफ्नो पार्टीले त्याग गरेको भन्दै प्रचण्डले भने-’शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, नयाँ संविधान निर्माण गर्ने र सरकारका आधारभुत सहमतिका आधारमा उम्मेदवारी फिर्ता लिएर खनाललाई समर्थन गरेका हौं ।’ उनले भावी सरकारको खाका, शान्तिप्रकृयालाई टुंगाउने बिधि र संबिधान लेखनका आधारभूत बिषयमा समेत खनालसंग खास सहमति गरेको दावी गरे ।
सहमतिको राजनीति तोड्न कांग्रेस दोषी भएको भन्दै इतिहासले निर्मम मूल्यांकन गर्ने बताए । ‘शान्ति प्रक्रिया पुरा गरी नयाँ घोषणा नगरेसम्म सहमतिका साथ अघि बढ्नु पर्छ भन्ने सहमति तोड्ने कांग्रेस नै दोषी हो ।’ प्रचण्डको दावी थियो ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...