झलनाथ खनाल नयाँ प्रधानमन्त्री खनालको नालिबेलीसहित


 नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ । संसदमा बिहीबार भएको निर्वाचनमा खनालको पक्षमा ३६८ मत खस्यो ।
एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले उम्मेदवारी फिर्ता लिएर समर्थन गरेपछि खनालको जित सुनिश्चित भएको थियो । माओवादी स्थायी समितिको बैठकले प्रचण्डको उम्मेदवारी फिर्ता लिएर खनाललाई समर्थन गर्ने निर्णय बहुमतले गरेको हो । निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पराजित हुनुभयो । पौडेलको पक्षमा १२२ र गच्छदारको पक्षमा ६७ मत परेको थियो ।
वर्तमान प्रधानमन्त्री माधवकुमार नेपालले असार १६ गते राजिनामा दिनु भएको थियो । त्यसपछि सहमतीय र बहुमतीय सरकार गठनको एक चक्र पुरा हुँदा पनि सरकार गठन हुन नसकेपछि प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिया सुरु भएको थियो । त्यसक्रममा सहमतीय सरकार गठनमा सहमति हुन नसकेपछि बहुमतीय प्रक्रियाबाट खनाल प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको हो । खनाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि एमाले नेता केपी शर्मा ओलीले खनाल नेतत्वको सरकारलाई सहमतीय सरकार बनाइने बताउनु भयो । उहाँले विगतका तिक्तता विर्सिएर सहमतिमा आउन कांग्रेस लगायतका दलहरुलाई आग्रह गर्नुभयो । 
प्रधानमन्त्री खनालका विगत र आगत
अन्ततः नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल गणतन्त्र नेपालको ३४ औं प्रधानमन्त्री वन्न सफल भएका छन् । उनी गणतन्त्र नेपालको तेस्रो तथा नेपालको इतिहासमा चौथो कम्युनिष्ट प्रधानमन्त्री बनेका छन् ।
२००६ साल चैत ३ गते इलामको साँखेजुङमा जन्मिएका खनाल मातापिताका सातौं सन्तान हुन् । खनालले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातक तह उतिर्ण गरेका छन् । बिद्यार्थी कालदेखिनै कम्युनिष्ट राजनीतिमा लागेका खनालले कम्युनिष्टको अर्डिनेसन केन्द्रमार्फत राजनीतिक जीवन सुरु गरेका थिए । बिचमा प्राध्यापन पेशामा पनि लागेका खनाल २०३५ सालदेखि नेकपा मालेमा संलग्न भएका थिए ।
राजनीति सुरु गरेको १५ बर्षमै खनाल पार्टी नेतृत्व गर्न सफल भएका थिए । तत्कालीन मालेका महासचिव सीपी मैनालीलाई कारवाही गरेपछि उनी महासचिवमा आसिन हुने अबसर पाएका थिए । त्यसपछि २०४६ सालसम्म उनी निरन्तर मालेको नेतृत्वमा रहे । मालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा चुनिए । २०४६ सालपछि बनेको अन्तरिम सरकारमा खनाल कृषिमन्त्रीको जिम्मेवारीमा थिए भने २०५३ को एमाले एकल सरकारमा उनी संचारमन्त्री भए ।
एमालेको चौथो महाधिवेशनमा महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनबाद नामक सिद्धान्त प्रस्ताव गर्दा खनाल मैनालीको नौलो जनबादतर्फ उभिए । निर्वतमान महासचिवलाई दोस्रो दर्जामा राख्ने परम्पराबिपरित खनाललाई स्थायी समितिमा समेत राखेनन भण्डारीले । त्यसपछि निरन्तर खनाल ओझेल परे मदन भण्डारी रहँदा र माधव नेपाल नेतृत्वमा आउँदा पनि । पछिल्लो समय उनी पार्टी बिदेश बिभाग प्रमुखका रुपमा सक्रिय रहे ।
२०६१ साल राजाले शक्ति हातमा लिएपनि पार्टी महासचिव माधवकुमार नेपाल लगायतका नेता पक्राउ परेपछि काठमाण्डौमा उपलब्ध केन्द्रीय सदस्यको वैठकले पक्राउ पर्नबाट जोगिएका खनाललाई कार्यबहाक महासचिवको जिम्मेवारी दिए । खनालले त्यसबेला आन्दोलनलाई संगठित गर्न तथा माओवादीलाई शान्ति प्रकृयामा ल्याउने क्रममा माओवादीसंग सम्बाद गर्न पनि महत्वपूर्ण भूमिका खेलेका थिए । एमालेबाट खनाल र बामदेव गौतम भारत लगायत नेपालका बिभिन्न स्थानामा गएर माओवादी नेतालाई भेटी १२ बुँदे सहमतिका लागि आधार तयार गरेका थिए ।
संबिधानसभा चुनावमा इलामबाट निर्वाचित भएका खनालको भाग्योदय त्यतिबेला भयो जतिबेला पार्टी महासचिव माधवकुमार नेपालसहित सवै बरिष्ठ नेताहरु पराजित भए । उनी करिव २० बर्षपछि पुन पार्टी नेतृत्वमा आए । २०६६ सालमा बुटबलमा भएको महाधिवेशनमा प्रभावशाली भनिने नेता केपी ओलीलाई पराजित गरेपछि खनालले आफ्नो क्षमता जनतामाझ देखाए । खासगरि माओवादीसंग नरम भएको अभियोग लागेका खनाल त्यही कारण पराजय भोग्नुपर्ने अनुमान गरिएको थियो ।
प्रचण्ड नेतृत्वको माओवादी सरकार ढलेपछि खनालले बरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री प्रस्ताव गरेर खनालले आफ्नो उदार दील देखाएका थिए । तर त्यसपछि निरन्तर उनले आफ्नै पार्टी नेतृत्वको सरकालाई आलोचना गरिरहे । नेपाल-ओली पक्षले खनालले नै एमाले सरकार ढालेको अरोप लगाउंदै आएको छ । खनालको राम्रो पक्ष भनेको उनी जनताको बहुदलीय जनबादको नीतिभन्दा प्रगतिशिल मानिन्छन् । उनले ब्यबहार पनि आफ्नो क्रान्तिकारीपन बचाउन सफल भएको एमाले कार्यकर्ताहरु ठान्छन् ।
खनालको अर्को सम्झनैपर्ने पक्ष भनेको उनको भारतबिरोधी छवि हो । प्रचण्डले प्रधानमन्त्रीमा छनौट गर्नुको पछाडीको सवैभन्दा बिश्वसनीय कारण पनि उनको भारतबिरोधी छवि नै हो । भारतले दिएका दर्जनौ निम्ता अस्वीकार गरेका खनालले भारतीय पक्षबाट पटक पटक अपमान पनि खेपेका छन् । नेपालीको सरकार बनाउने भन्दै प्रचण्डले खनाललाई अघि सार्नुको कारण पनि उनलाई भारतले मन नपराउनु नै हो ।
पहिलोपटक प्रधानमन्त्रीको कुर्सिमा आसिन हुन लागेका खनाललाई आफ्नै पार्टी र बाहिरबाट पनि निकै चुनौती छ । खनाल पटक पटक मन्त्री पनि भएका छन् । उनका श्रीमती रभीलक्ष्मी चित्रकार र छोरा निर्भिक चित्रकार खनाल छन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...