एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भएकोमा दार्जिलिङका राजनीतिक दलहरू तथा सर्वसाधारणले खुसी व्यक्त गरेका छन् ।
क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) ले शनिबार एक समारोहबीच दार्जिलिङ बजारका विभिन्न चोकमा नवनिर्वाचित प्रधानमन्त्रीको स्वागत गर्दै लेख्यो, 'नेपालका नयाँ प्रधानमन्त्री झलनाथ खनाललाई लाल सलाम' क्रामाकपाले नेपाली जनताहरूप्रति पनि सद्भाव प्रकट गर्दै लेखेको छ, 'नेपालका क्रान्तिकारी जनता अमर रहुन् ।' उसले खनाललाई विजयी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने एकीकृत माओवादीप्रति पनि आभार प्रकट गरेको छ ।
सात महिनादेखि सरकारविहीन रहेको नेपालमा एकीकृत माओवादीको सहयोगमा नयाँ प्रधानमन्त्री चयन गरिनु स्वागतयोग्य रहेको क्रान्तिकारी नेताहरूले बताएका छन् । क्रामाकपाका महासचिव एवम् पूर्वविधायक आरबी राईले प्रधानमन्त्री चयनले सात महिनादेेखि नेपाली राजनीतिमा देखिएको गतिरोध समाप्त हुने आशा व्यक्त गरे ।
उनले दार्जिलिङमा आयोजित एक कार्यक्रममा भने, 'अब सबै दल मिलेर नयाँ संविधान निर्माणमा लाग्न जरुरी छ ।' नेपालसँग रगतको साइनो रहेको उल्लेख गर्दै उनले भने, 'नेपाललाई दुख्दा हामीलाई पनि दुख्छ ।'
झलनाथको सत्तारोहणले विश्वभरि छरिएर रहेका नेपालीमा खुसीको सञ्चार भएको राईले बताएका छन् । लामो राजनीतिक अस्थिरताले आर्थिक क्षेत्रमा समेत प्रभाव परेको भन्दै उनले जनचाहना अनुसार संविधान निर्माण गर्न मुख्य दलहरूलाई आग्रह गरे ।
'भारतीय नेपालीको हैसियतले नेपालमा चाँडो संविधान बनोस् भन्ने चाहन्छु,' उनले भने । दार्जिलिङका पत्रकार भानु खवासका अनुसार खनालको सत्तारोहणले दार्जिलिङे जनतामा पनि हर्ष छाएको छ । 'सात महिनादेखि लथालिंग रहेको देशमा नयाँ प्रधानमन्त्रीले पदभार सम्हालेको खबरले सर्वसाधारण खुसी छन्,' खवासले भने ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...