मध्यपहाडी सडक आयोजना अन्तर्गत आठराई क्षेत्रमा यातायात सुविधा पुगेपछि यहाँका बासिन्दाको जीवनशैली फेरिएको छ । पाँचथरको फिदिमदेखि तेह्रथुमको संक्रान्तिसम्म जोड्ने सडकको ट्रयाक खोलिएपछि आठराई क्षेत्रका आठवटा गाविसका झण्डै ३ लाख बासिन्दालाई सजिलो भएको छ । फिदिम-संक्रान्ति सडकले चुहानडाँडा, हुवाकु, इवा, खाम्लालुङ, छातेढुंगा, इसिबु र सम्दु गाविसका बासिन्दालाई सजिलो भएको हो ।
चुहानडाँडा-३ का सुकबहादुर फोम्बोले भने, 'दुई/तीन वर्षमै घरैबाट गाडी चढ्न पाइएला जस्तो त लागेको थिएन, आज गाडी कुदेको देख्दा सपना जस्तो लागेको छ ।' घर नजिकैबाट गाडी चढेर दुई घन्टा नबित्दै फिदिम पुग्न पाउँदा उनी दंग छन् । शैक्षिक चेतनाको दृष्टिले मुलुकमै चर्चामा रहेको आठराईलाई यातायातले ठगेपछि विकास कछुवा गतिमा थियो । स्थानीय बासिन्दाका अनुसार २०१८ सालदेखि यहाँ त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सञ्चालन भएको हो । यो क्याम्पसमा उच्च शिक्षा लिन आउने पूर्वी पहाडका कोही पनि विद्यार्थी घटीमा ७ घन्टा पैदल नहिंडी क्याम्पस टेक्न सक्तैनथे ।
गाउँमा छिटो गाडी गुडाउने हतारोले यहाँका बासिन्दाले प्रत्येक घरबाट ५ सयदेखि १५ हजार रुपैयाँसम्म उठाएका थिए । तमोर नदीमा पुल निमाणर्ाधीन रहेकाले अहिले संक्रान्तिबाट खोलासम्म करिब २० किलोमिटरमा सातवटा ट्याक्सी सञ्चालनमा छन् । त्यस्तै खोलादेखि फिदिमसम्मको करिब १० किलोमिटर सडकमा पनि त्यति नै ट्याक्सी चलेका छन् ।
मध्यपहाडी सडकबाट शाखा खोलेर धेरैवटा गाविसले आफ्ना गाउँमा गाडी पुर्याउने योजना बनाइरहेका छन् । 'केही वर्षमै हरेक गाउँमा सडक यातायातको पहुँच हुन्छ' याकुम्बागडी कृषक सहकारी संस्था संक्रान्तीका अध्यक्ष तुलसीप्रसाद भण्डारीले भने ।
गाउँमा गाडी पुगेपछि ढुवानी भाडा घट्दा उपभोग्य सामान केही सस्ता भएका छन् । भरियाले फिदिमबाट सामान बोकर ल्याउँदा करिब १४ रुपैयाँ किलो ढुवानी भाडा ल्ााग्थ्यो । गाडीमा सामान ल्याउँदा ७ रुपैयाँसम्ममा गाउँमा भित्रन थालेको छ ।
यातायात सुविधा नहुँदा ७५ रुपैयाँ केजीले बिक्री हुने चिनी अहिले ७० मा झरेको छ । यातायातले स्थानीयवासीको आउजाउ सहज भए पनि भारी बोकेर परिवार पाल्दै आएकाहरूलाई मर्कामा पारेको छ । यी क्षेत्रका करिव हजार जना भरिया अहिले वैकल्पिक पेसाको खोजीमा छन् ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...