च्याटमा रमाउँछन् शरणार्थी वृद्धवृद्धा


भूटानी शरणार्थी शिविर बेलडाँगी-१ की ५५ वर्षीया रनमती घिमिरे
बिहीबार स्थानीय साइबरमा तेस्रो देश गएका
आफन्तसँग च्याटमा कुरा गर्दै ।

'हाम्रो पनि फोटो खिचायो अबचाहिं हामी पनि आउँछौं नानी' भूटानी शरणार्थी शिविर बेलडाँगी-१ सेक्टर 'ई' की ५५ वषर्ीया रनमती घिमिरेले अष्ट्रेलियामा पुनस्र्थापना भएका आफ्ना कान्छा देवर ५३ वर्षका विष्णुकान्त घिमिरेलाई इन्टरनेट फोनमा कुरा गर्दै यसो भनिरहेकी छिन् ।

भूटानको देहाती गाउँमा जन्मेर २० वर्षअघिको अधबैसे उमेरमा रनमती पूर्वी नेपालको झापाको दमकमा रहेको बेलडाँगी शिविरको छाप्रोमा पसेकी हुन् । पिछडिएको ठाउँबाट आएको महसुस गर्ने रनमतीका १९ वर्ष त झन् अन्धकारमय बनेर बिते ।

डेढ वर्षयता उनमा अलग्गै किसिमको उत्साह पलाएको सबैले महसुस गरेका छन् । यूएनएचसीआरले शरणार्थीलाई अहिलेको अवस्थाभन्दा केही सुविधाजनक अवस्थामा राख्ने भन्दै चार वर्षयता पुनस्र्थापना कार्यक्रम चलाएपछि रनमतीका आफन्त दुई वर्षअघि डेनमार्क, अमेरिका, अष्ट्रेलियालगायतका देशमा गए । त्यसपछिका केही समय मोबाइलमा रनमतीले मुग्लाने आफन्तसँग कुरा गरिन् तर डेढ वर्षयता उनले उताका आफन्तलाई हेर्दै प्रत्यक्ष कुरा गर्न थालेकी छन् । 

'साह्रै आनन्दको मेसिन बनाएको रहेछ' विदेशमा बसेका आफन्तलाई कम्प्युटरमा हेर्दै उनी बोल्दैछिन्, 'आज त यता पानी परेर जाडो बढेको छ । त्यता कस्तो छ नि ?'

रनमतीकै छेउमा अष्ट्रेलियाली आफन्तसँग कुरा गर्दैछिन् ५७ वर्षीया दिलमाया भेट्वाल । घरायसी झगडाको इतिवृत्ति उनी सुनाउँदैछिन् मुग्लाने आफन्तलाई । उताबाट भेट्वाललाई सम्झाउने प्रयास भइरहे पनि उनी कडकरहेकी छन् । उनको रिसाएको अनुहार पनि देखेका उताका आफन्तले सम्झाउँदैछन् । 'अनुहार बिगारेर कति धेरै रिसाकी दिदी हाँसन' भाइको भनाइ सुनेर हाँस्ोकी  भेट्वालले भाइलाई सोधिन्, 'म हासेको पनि देखिस् ?'

  शरणार्थी शिविर वरिपरि दुई वर्षदेखि अचम्मको परिवर्तनका अवस्थाहरू देखिएका छन् । अधिकांशका आफन्तहरू तेस्रो देश जान थालेपछि बालकदेखि वृद्धवृद्धाहरू पनि इन्टरनेट फोनमा झुम्मिन थालेका छन् । युवाहरूको मात्र आकर्षण रहेको च्याट र नेट अब वृद्धहरू पनि यसका पारखी भइसकेका छन् । 

उता गएका आफन्तलाई हेर्नु, खबर बुझ्नु, आफू पुनस्र्थापना हुने देशको हावापानी र अन्य अवस्था बुझ्न इन्टरनेट फोनमा बूढाबूढीहरू झुम्मिएका हुन् । 'अरूले सुनाएको भन्दा आफै देखेको र बोलेको बढी विश्वासी हुन्छ' बेलडाँगी-२ सेक्टर सीकी ६३ वषर्ीया तुलसादेवी अधिकारी भन्छिन्, 'कम्प्युटरबाट फोटो हेर्दै फोन गर्न सिकेपछि त दिनहुँ गरिरहुँ जस्तो लाग्छ ।' 

टेलिफोनमा भन्दा नेटमा सस्तो पर्ने र परदेशी आफन्तको अनुहार हेर्दै कुराकानी गर्न पाइने भएपछि भुटानी वृद्धवृद्धा यतातिर पल्किएका हुन् । उनीहरूमध्ये केहीलेचाहिं आफै आफ्नो इमेल आइडी खोल्न सिकेका छन् । अधिकांशले आफन्तको सहारा लिएर इमेल खोल्ने गर्छन् । आमालाई परदेशी आफन्तसँग च्याट कुरा गराउन लिएर आएका लक्ष्मीनारयण घिमिरे भन्छन्, 'च्याटले शरणार्थी वृद्धवृद्धालाई आधुनिकतासँग परिचय गराएको छ । यसले उनीहरूको जीवनशैलीलाई समेत सहज बनाएको छ ।'

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...