पर्यटन गन्तव्य बन्दै बेतिनी

मोरङको बेतिनी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । उर्लाबारी ६ मंगलबारे उत्तरमा रहेको बेतिनी सिमसार क्षेत्र आन्तरिक पर्यटकका लागि रमाइलो गन्तव्य बनेको छ । 


पूर्व-पश्चिम राजमार्गको मंगलबारेबाट तीन किलोमिटर उत्तर पर्ने सिमसार गत वर्षबाट आन्तरिक पर्यटकका लागि गन्तव्य बनाउन पूर्वाधार निर्माण थालिएको हो । दुई किलोमिटर लम्बाइ र चार सय मिटर चौडा रहेको सिमसार क्षेत्रमा पोखरी बनाउने काम सकिएको छ । 



पर्यटकका लागि खानेपानी, शौचालय र टहरा निर्माण गर्ने योजना रहेको बेतिनी सिमसार तथा मिक्लाजुङ पर्यटन एकीकृत विकास संघका अध्यक्ष रुद्रबहादुर तामाङले बताए । 'वनभोज आउनेको घुइँचो लाग्छ' उनी भन्छन्, 'अचेल तीन-चार टोलीसम्म दैनिक आउँछन् ।' जिविसले आन्तरिक पर्यटन प्रवर्द्धन गुरुयोजनामा समेत प्राथमिकतामा राखेको तामाङले बताए । उक्त स्थानमा स्थानीय संघसंस्था, गाविस वन उपभोक्ता समितिको सहयोगमा पूर्वाधार विकास गरिँदै लगिएको छ । ३५ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्राे, अमला, लहरे टिम्बुर, सुनाखरी जस्ता वनस्पतिहरू पाइन्छन् । चराचुरुङ्गीहरूमा मैना, लुइँचे, धनेश, मयूर, बट्टाई पाइन्छन् । यसैगरी उक्त स्थान आसपास मृग, हरिण, चितुवा, बँदेलजस्ता वन्यजन्तु पाइन्छन् ।



विराटनगरबाट गएको वनभोज टोलीमा सहभागी उमा पोखरेलले जिल्लाका कुनाकाप्चामा रहेका यस्ता पर्यटकीय स्थानहरूको पहिचान गरी पूर्वाधार विकास गर्ने हो भने आन्तरिक पर्यटकको केन्द्र बन्न सक्ने अनुभव सुनाइन् ।



पोखरीलाई अझ व्यवस्थित र विस्तार गरी डुंगा सयर, त्यहाँसम्म पुग्ने बाटो व्यवस्थित बनाउने अनि वनभोज स्थलमा टहरा, पानीजस्ता पूर्वाधार विकास गर्ने हो भने उक्त स्थान अझ आकर्षणको केन्द्र बन्ने स्थानीयले बताएका छन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...