काठमाडौं, माघ २० - प्रहरी प्रधान कार्यालयले एक वर्षअघि प्रक्रिया नमिलेको विवादपछि रद्द गरेको पार्का ज्याकेट खरिद प्रक्रिया फेरि अघि बढाएको छ।प्रधान कार्यालयले प्रहरीका लागि ऊनी पाइन्ट, परेड जुत्ता, टाउजर र रेनकोटसँगै ४२ हजार थान पार्का ज्याकेट खरिदका लागि माघ १४ गते टेन्डर आह्वान गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६६ मा 'खरिद प्रक्रियामा अनियमितताको आशंका गर्दै अनुसन्धान थालेपछि असोज २ गते प्रक्रिया रद्द भएको थियो।
प्रधान कार्यालयले तीन वर्षको अन्तरमा कर्मचारीलाई स्केलअनुसार जाडो मौसममा पार्का ज्याकेट दिँदै आएको छ। एक वर्षअघि रोकिएको प्रक्रिया यसपालि पनि मौसम फेरिनै लाग्दा थालिएको छ। प्रक्रियाअनुसार ज्याकेट किन्नमात्र कम्तीमा ४५ दिन लाग्छ। प्रहरीको आङमा ज्याकेट पर्दा गर्मी चढिसक्छ।
अघिल्लो वर्ष ५६ हजार ५९ थान पार्का ज्याकेट बिनाप्रतिस्पर्धा खरिद गर्न चेकबाट भुक्तानी दिने तयारी भएपछि आयोगले अनुसन्धान थालेको थियो। अनियमित रूपमा टेन्डर स्वीकृत गरेर १० करोड ४० लाख रुपैयाँको चेक काटिएको थियो।
आयोगले खरिद प्रक्रियामा खरिद नियमावली, २०६४ को पूर्ण रूपमा पालना नभएको भन्दै प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी, प्रहरी नायब महानिरीक्षक रमेशविक्रम साह, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खड्का, प्रहरी उपरीक्षक मनोज न्यौपाने, प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम साह, तेजनारायण शर्मा, तत्कालीन नायब उपरीक्षक गणेश रेग्मी, प्रहरी निरीक्षक सीताराम चापागाईं र शम्भु ढकाललाई लिखित ध्यानाकर्षण गराएको थियो।
आयोगले प्रतिस्पर्धामा सहभागी फर्मलाई हचुवा ढंगले हटाएर आफूअनुकूल फर्मको टेन्डर स्वीकृत गरेको अनुसन्धानबाट ठहर गरेको थियो। स्वतन्त्र प्रतिस्पर्धा नगराइएको, टेन्डरमा माग गरिएको सामानको विवरण प्रस्ट उल्लेख नगरिएको र विधिवत खरिद सम्झौता अगाडि नै सप्लायर्सलाई चेक काटिएको अनुसन्धान प्रतिवेदन दिएर आयोगले प्रधान कार्यालयको ध्यानाकर्षण गराएको थियो।
प्रधान कार्यालयले टेन्डर भरेका मुक्तिनाथ ट्रेड कन्सर्न, मनिरा सप्लायर्स, जागृति सप्लायर्स, न्यू सिद्धि देउराली, ग्लोबल बिजनेस काठमाडौं, पिस नेपाल फेसन इन्डस्ट्रिजलाई नमुनाबमोजीमको रंग र प्याट्रन नमिलेको भन्दै उनीहरूको बोलपत्र रद्द गरी चाइना न्यु युनाइटेड इपोर्ट, एक्सपोर्ट कोअपरेसनको स्थानीय एजेन्ट आनन्द ट्रेड कन्सर्न काठमाडौंबाट प्रतिथान २४ अमेरिकी डलर (१० करोड ३५ लाख ७० हजार रुपैयाँ) मा खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको थियो। प्रहरी प्रवक्ता नवराज ढकालले पार्का खरिद प्रक्रियामा पुराना गल्ती नदोहोरिने दाबी गरे। उनले भने, 'पहिले जेजस्ता प्रक्रियागत त्रुटि भएका छन्, त्यो दोहोरिन्न।'


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...