दयालबहादुर शाही
जनआन्दोलन भाग–२ पछि लोकतन्त्रका लागि घातक हुने प्रतिस्पर्धामा राजावादीलाई माओवादीले श्रेष्ठता हासिल गर्नुका साथै त्यसमा एकाधिकारवाद लादिसकेका छ। माओवादीको सामाजिक फाँसीवादी शैली अझै पनि नेपाली समाज र लोकतन्त्रका लागि मुटु नजिकै राखिएको नांगो खुकुरीको रूपमा रहेको छ। १२ बुँदे सम्झौता २०६२ साल मंसिर ५ गते सम्पन्न हुनु केही दिनअघि प्यालेस्टाइन मुक्ति संगठनका स्वर्गीय महानायक यासेर आराफातको योगदान र बलिदानलाई माटोमा मिसाउँदै हमासले प्यालिस्टाइनमा चुनाव जितेको थियो। कमजोर राज्यका सुरक्षा अंगलाई पंगु बनाएर चुनाव जितिने हमास शैली अपनाएर एमाले कांग्रेसलाई एक चिहान पार्ने माओवादीको नियत गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपालको देवत्वकरणका पक्षपातीहरुले बुझ्न सकेनन्। भारतमा अटल विहारी बाजपेयी, सोनिया गान्धी, मनमोहन सिंह, लालकृष्ण आडवाडीजस्ता ठूला नेताहरु ल्ोकसभा निर्वाचनमा एक दुई लाखको मतान्तरले विजयी भएझै आफूहरुले पनि चुनावमा उम्मेदवारी दिए पुगिहाल्ने एमाले कांग्रेसका हस्तीहरुको भ्रम र प्यालेस्टाइन जस्तै कमजोर भइसकेको राज्यको वास्तविकता बीचको भ्याकुम संविधानसभा निर्वाचनको परिणामले देखाइदियो। क्षति भोग्नु अगाडि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई वास्तविकता बताउने एमाले नेता केपी ओली र गुमराहमा राख्न सक्ने कला भएका माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रतियोगिता चलेको छ। एक्सनमा विश्वास गर्ने प्रचण्ड यस राजनीतिक क्रिकेटमा बलिङ गरिरहेका छन् भने ओलीको हातमा सजगता र प्रतिरोधको ब्याट रहेको छ। यस स्पर्धामा संक्रमणकालीन प्रधानमन्त्री रेफ्रीको भूमिकामा रहनु पर्ने हो तर बलको रूपमा आएकाले संक्रमणकालीन संवेदनशीलता खतराको दिशातिर गइरहेको छ।
प्रहार र प्रतिरोध
ओली–प्रचण्ड आम्नेसाम्नेको पहिलो राजनीतिक खेल ०६२/०६३ को सफलतापछि अन्तरिम प्रधानमन्त्रीको पात्र चयनको क्रममा देखापर्योह। यसमा प्रचण्ड निकै हावी भए। २०४६ सालको जनआन्दोलनपछिको अन्तरिम सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिसकेकाले वामपन्थीहरुलाई पैचो फर्काइदिनु पर्ने अवस्था सिर्जना गर्न सकिन्थ्यो। जनआन्दोलनकारी सात दलमध्ये चार दल वामपन्थी हुनु, नेपाली कांग्रेस (प्रजातान्त्रिक)ले गिरिजाप्रसाद कोइरालालाई स्वीकार गर्ने सम्भावना कम हुनु र माओवादी सहयोगीका रूपमा रहनुले थप आधार मिलेको थियो। प्रचण्डजस्ता चतुर खेलाडीले चाहेको भए माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन प्रत्यक्षक वा परोक्ष रूपमा तर निर्णायक भूमिका निभाउन सक्थे। यदि स्वार्थ बाझिदो हो त मानिसले ज्यामितिका स्वयंसिद्ध तथ्यहरु पनि बंग्याउने प्रयत्न गर्दथ्यो भनेर लेनिनले अकारण भनेका थिएनन्। विभाजित कांग्रेसभन्दा आफ्नो महत्वाकांक्षा पूर्तिको बाटोमा एमाले नै बाधक हुने प्रचण्डको अनुमानका कारण त्यतिबेला एमालेलाई पन्छाइएको थियो। माओवादी उपयोगितावादी राजनीतिको गोटी हुने क्रममा कोइरालाले सूर्यबहादुर थापाले धेरै पटक प्रधानमन्त्री हुन राखेको कीर्तिमान भंग गर्न सकेका थिए। यो कीर्तिमान घातक थियो भन्ने सत्य त्यतिबेला प्रस्ट भयो जति बेला संविधानसभा निर्वाचन र राष्ट्रपति निर्वाचनताका नेकपा माओवादीले कोइरालाको औचित्य समाप्त भएको व्यवहार देखायो। त्यसपछि माधवकुमार नेपाललाई बल बनाउन खोजे पनि अनुकूल पात्र हुने प्रतियोगितामा रामराजाप्रसाद सिंहले शीर्षस्थान हासिल गरे। एमालेको बुटवल महाधिवेशन प्रभावित गर्न प्रचण्डले माधवकुमार नेपाललाई तटस्थ राख्न बलका रूपमा सभासद् बनाएर खनालको पक्षमा चुनावी परिणामको तराजु ढल्काए। दयाले नभई सभासद् नबनाउँदा नेपाल खरो रूपमा ओलीलाई साथ दिने देखेर नै बलिङ गरिएको थियो। प्रचण्डले प्रयोग गरेको अर्को बल तत्कालीन युवा तथा खेलकुद मन्त्री गोपाल शाक्य थिए। नेपाली सेनाका तत्कालीन बलाध्यक्ष कुलबहादुर खड्कापछिका प्रचण्डले प्रयोग गरेका पछिल्ला बल प्रधानमन्त्री झलनाथ खनाल हुन्।
हारजितको लेखाजोखा
प्रचण्डले कोइरालालाई प्रयोग गरेर एमालेकै हाराहारीको व्यवस्थापिका संसदमा ७४ जना सांसदहरु पाए र संविधानसभाको परिणाम आफ्नो पक्षमा पार्न सके। तर राष्ट्रपतिको निर्वाचन र सेनापति काण्डमा बराबरीमा धकेलिए। आफूलाई पार्टी नेतृत्वमा आउनबाट रोक्न सभासद बनाइएका माधव नेपाललाई ओलीले प्रधानमन्त्री मात्र बनाएनन् आम हड्ताल प्रकरणमा माओवादीको वास्तविक हैसियत जनतालाई देखाइदिन सफल भए। माधवकुमार नेपालको अप्रत्यासित राजीनामाम पछिको प्रधानमन्त्रीको दौड पनि ओली–प्रचण्ड आम्नेसाम्नेको चरमविन्दु थियो। प्रचण्ड आफै प्रधानमन्त्री बन्न नसक्नु र माधवकुमार नेपाल वा रामचन्द्र पौडेललाई बनाउन नसक्नु नेताद्वयका दोहोरो हार हुन्। आफू प्रधानमन्त्री हुने सम्भावना टरेपछि प्रचण्डले खनाललाई समर्थन गर्ने बताए। ओलीले पनि केन्द्रीय कमिटी बैठकबाट सहजता प्रदान गरी ब्याटिङ फर्काए। पछिल्लो प्रहारको असर भने खनाल सरकारको व्यवहारमा निर्भर छ।
एमालेमा माओवादी चलखेल
अहिलेको राजनीतिक गतिरोध गृह मन्त्रालयको कारणले मात्र सम्भव भएको होइन। संविधानसभा निर्वाचन, राष्ट्रपति निर्वाचन, माओवादी नेतृत्वमा सरकार गठन, माधवकुमार नेपाललाई सभासद्मा मनोनयन, एमालेको बुटवल महाधिवेशनको परिणाम, माधव नेपाल नेतृत्वको सरकारविरुद्धका षड्यन्त्र, आमहड्ताल प्रकरण र खनाल सरकारको गठन सबै घटनामा माओवादीले एमालेभित्र खेलेको छ। संविधानसभा निर्वाचनमा झिनो मत अन्तरले एमालेले पराजय बेहोरेका ६० निर्वाचन क्षेत्रमा अन्तर्घात प्रभावी देखिएको छ। पूर्व मालेले टिकट पाएका ८० प्रतिशत ठाउँमा एमालेले हार नबेहोर्नु र वामदेव गौतमले प्रचण्डलाई मलाई किन हराइयो भन्नुले माओवादी–पूर्वमाले बीचको गोप्य साँठगाँठलाई सतहमा ल्याउँदछ। संविधानसभा निर्वाचनअघिदेखि नै गौतमको भूमिका विपक्षी टिमको प्रभावमा परी बिक्री भइसकेको खेलाडीको जस्तो त छ नै। अध्यक्ष खनाल, उपाध्यक्ष अशोक राई र सचिव युवराज ज्ञवाली भ्रममा छन् वा बिक्री नै भइसके घनश्याम भुसालले दिने गलत सल्लाह वा पुर्या्उने विवेकमा निर्भर छ। गौतम आवरणमा एमाले सारमा माओवादी नभएको भनी खण्डन गर्ने सामर्थ्य राजनीतिशास्त्रका ज्ञातादेखि रसायन शास्त्रका विज्ञसम्मलाई छैन। यसर्थ प्रचण्ड नेतृत्वको सरकारको पालामा गृह मन्त्रालय एमालेलाई दिएको भनी गरिने दलील वास्तविकताको धरातलमा छैन। तसर्थ विष्णु पौडेल वा वर्षमान पुनमध्ये एक जनालाई तत्काल गृहमन्त्री बनाएर प्रधानमन्त्री खनालले आफ्नो ट्रेडमार्क के हो प्रस्ट पार्न ढिलाई गर्नु छैन।
दोधारमा गौतम नीति
उडी जाऔं त पंक्षी होइन, भुइँ बस्ने मन छैनको मनोदशामा गौतम गण छ। एमालेमै बसौं, समालिने शक्तिको अभाव छ। गाउँ, टोल, जिल्ला, युवा, विद्यार्थी, मजदुर, महिला, उत्पीडित जातीय मुक्ति समाज, जनजाति महासंघ, सबैतिरबाट बडारिने क्रम जारी छ। माओवादीमा हाम्फालौं एमालेमा जस्तो धम्क्याएर खान छुट पाइने सम्भावना क्षिण छ। अमिक शेरचनको जस्तो विलोपीकरण हुने सम्भावित खतरा र जता आफू जाने उतै शर्मनाक हारले छाँयाले झैं पछ्याउँदै जाने संयोगले गौतमलाई किकंर्तव्यविमूढ पारेको छ। यसरी गौतम नीति नै दोधारमा परेपछि प्रधानमन्त्री खनाललाई पनि एमाले चाहिने हो वा माओवादी बोध हुन सकेको छैन।
डुंगा र मुडा
बुटवल महाधिवेशनको चुनावी परिणाम बुझ्न नसक्नु अहिलेको एमालेको समस्याको जड हो। डुंगा आफू आधा डुबेर पनि यात्रीलाई पार लगाउँछ तर मुडा आफू पानीमाथि उत्रिए पनि कसैलाई बोक्ने सामर्थ्य राख्दैन। ओली पराजित भए पनि जबज बटालियनलाई भारी बहुमतका साथ जिताउन सफल रहे तर खनाल र गौतम आफू विजयी भए पनि बहुमत गुमाउन पुगे। हिजो मनमोहन अधिकारी र माधवकुमार नेपाललाई प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् गठन गर्न सजिलो हुनु र अहिले खनालले अप्ठेरो बेहोर्नुमा एमालेको स्थायी, पोलिट्व्युरो र केन्द्रीय कमिटीको समीकरण नै कारण हो। अर्कोतर्फ साथमा बहुमत भैदिएको भए प्रधानमन्त्री पदका लागि पार्टीलाई मूल्य र मान्यताहीन बनाउन तयार हुने जुन स्थिति देखियो त्यसले पनि खनाललाई प्रतिकूलता र नैतिक संकटतिर धकेलेको छ।
उपसंहार
जसरी कमलको फूल टिप्न हिलोमा पस्नु जरुरी हुन्छ, त्यसरी नै पूँजीको निर्माण नगरी समाजवादी व्यवस्था सम्भव छैन। लोकतान्त्रिक अभ्यास बिना अधिनायकवादी क्यान्सरबाट मुक्ति, पाइँदैन। यिनै दुई खम्बे नीतिका साथ जननेता मदन भण्डारीले एमाले पंक्तिलाई लोकतान्त्रिकरणको क्रान्तिकारी धार दिनु भएको थियो। प्रयोगका क्रममा के देखियो भने कहिलेकाहीँ कमलको फूल टिप्न हिलोमा फस्दा हिलो खुट्टामा मात्र लागेको छैन आँखामै पस्ने गरेको छ। त्यतिबेला कार्यकर्ता, नेता र पार्टीसमेतलाई आफूलाई समेत नदेख्ने र नचिन्ने कमजोरी देखिएको छ। माओवादी पनि त्यही हिलोमा त्यही कमलको फूल टिप्ने लक्ष्यका साथ आएको जस्तो देखिए पनि उसको लक्ष्य एमालेलाई कमलको फूल टिप्न नदिने बरु हिलोमा लडाइदिने प्रकृत्तिको रहेको छ। एमालेले आँखामा परेको हिलो पखाल्नै पर्छ अनि मात्र कमलको फूल टिप्न सक्नेछ। बहुलवाद, सेना समायोजन, सदाचारको राजनीति, राष्ट्रिय सहमति, संविधान निर्माण, शान्ति स्थापना, प्रतिस्पर्धात्मक राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाजस्ता कुरामा सम्झौता नगर्ने ओली भिजन र प्रधानमन्त्री भएपछि हरेक छुट दिनुपर्छ भन्ने हिजोको गिरिजाप्रसाद कोइराला र आज प्रधानमन्त्री झलनाथ खनालको निम्छरो अडानबीच द्वन्द्व छ। प्रधानमन्त्रीको रूपमा माधवकुमार नेपालको भूमिका लोकतन्त्रका लागि अत्यन्त प्रभावकारी रह्यो। उनको हठात राजीनामाले भने बेथिति र गोलमाल चाहनेलाई नै बल पुगेको छ। सकभर प्रधानमन्त्री खनाललाई लोकतन्त्र, जबज र एमालेको पक्षमा भरपर्दो खेलाडी, त्यो नभए निष्पक्ष रेफ्रीको रूपमा एमालेले नउम्क्याउने हो भने यो राजनीति क्रिकेटबाट माओवादी घर फर्किनु पर्नेमा एमाले घर फर्कने खतरा छ। जबजरक्षक बटालियनका मानव डमरुहरु ऐन महर, निरेशलाल सिंह, समिक बडाल, नरेश रोकायाहरुले युथफोर्सपछि ब्याकफोर्स गठन गरी प्रभावकारी हुटिङ गरेमा मात्र खेलाडी बिक्री हुने र खेल हार्ने खतरालाई एमालेले टार्न सक्ने छ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...