नेपाललाई विहारीकरण गरौं


मदन लम्साल
भारतीय राजदूत राकेश सूद नेपाल आएदेखि नै दार्‍ही खौरिएको देखिएको छैन । धेरै मानिसले यसलाई दार्‍ही पाल्ने सूदको शोख हो भन्ने ठाने होलान् । कतिपयले त्यो सूदको माओवादी दलसँगको एलर्जीका कारण उनले दार्‍ही काट्न नसकेका पनि सोचे होलान् । तर, अहिले आएर पो थाहा भयो नेपालका हजाम विहारतिर पलायन भएका कारण पो बौरा सूदले दार्‍ही काट्न नपाएका रहेछन् । हालै एक सार्वजनिक कार्यक्रममा सूदले विहारमा धेरै विकास भएका कारण नेपालका धेरै हजामहरु उता गएका भनेपछि यो नयाँ तथ्य खुलेको हो ।  

तीन प्रतिशत आर्थिक वृद्वि मात्र हुने नेपालका सट्टा ११ प्रतिशत वृद्धिदर भएको विहारमा काम गर्न हजामहरु हुर्रिनु स्वाभाविकै हो । हजामको मात्र के कुरा इलेक्ट्रिशियनदेखि इञ्जिनीयरसम्म पनि अब विस्तारै विहारतिरै जान खोजेका देखिन्छन् । हिजो नेपालमा खेतबारीमा काम पाउन विहारीहरु तँछाडमछाड गर्थे । आज परिस्थिति ठीक उल्टो हुँदै गएको छ । अहिले नेपालका गाउँगाउँबाट युवाहरु कामको खोजीमा संसारका कुनाकाप्चासम्म पुगिसकेका छन् भने विहारीहरु पनि नेपाल आउन छोड्न थालेका छन् ।

तर, कामदार नभएर उद्योग बन्द भए भनेर चिन्ता भने गर्नु पर्दैन । किनकी यो प्रवृत्ति नेपाल र नेपाली धनी हुँदै गएको सङ्केत हो । गरीबजति सबै हराएपछि देश स्वतः धनी हुने भैहाल्यो । आखिर राष्ट्रिय योजना आयोगदेखि हरेक राजनीतिक दल र सरकारको एक प्रमुख लक्ष्य भनेको पनि गरीबहरुको निवारण नै हो । गरीबहरुलाई देशबाट उन्मूलन गरेपछि गरीबीको स्वतः उन्मूलन हुने नै भयो । गरीबहरु नै नरहेपछि अब कामविहीन हुने भइयो भनेर नेपालको गरीबी हटाउने भनेर खुलेका सरकारी र गैरसरकारी संस्थाहरुलाई चिन्ता लाग्न सक्छ । तर, देश धनी बनाउने यो भन्दा उम्दा अर्को उपाय अहिलेसम्म आएको छैन ।

देशलाई छिट्टै धनी बनाउने नै हो भने नेपाललाई अब विहारीकरण गर्नुको विकल्प पनि छैन । नेपाली कामदारलाई खाडी देश, मलेसिया, कोरिया आदि पठाउनुको सट्टा अब केही वर्षका लागि विहार पठाउनु उचित देखिन्छ । मध्यम वा निम्न आयका लागि खाडीलगायतका मुलुक जाने कामदार होऊन् वा धेरै आय चाहिने उच्च पदस्थ सरकारी कर्मचारी सबैलाई अब विहार जान प्रेरित गर्नुपर्दछ । केही वर्ष विहारमा उनीहरुले काम गरे भने कमसेकम नेपालको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा बुझेर आउने छन् । नेपालमा राजनीतिको धन्दा गर्ने मानिसहरुलाई पनि अब विहार अवलोकन भ्रमणमा पठाइरहनु पर्दछ । ता कि दुइचारओटा राम्रा कुरा सिकेर नेपालमा पनि लागू गर्न सकून् । राजनीतिकर्मीलाई त्यसरी विहार भ्रमणमा पठाउँदा एउटै कुरामा विशेष ध्यान पुर्‍याउनुपर्दछ । नेपाली राजनीतिकको प्रभाव विहारी राजनीतिमा पर्न दिनु हुँदैन ।

अर्को कुरा अब यो नेपाल पर्यटन वर्षजस्ता कार्यक्रम गर्न छोडेर 'विहार भ्रमण वर्षजस्ता कार्यक्रम शुरु गर्नुपर्दछ । 'शान्तिका लागि लुम्बिनी जाऊँ' भन्ने गरेजस्तै 'विकास सिक्न विहार जाऊँ' भन्ने अभियान देशभरबाट चलाउनुपर्दछ । त्यति गरेपछि हेरौं न कसले रोक्न सक्छ, नेपाललाई विहारीकरण हुनबाट !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...