हात्तीको आक्रमणबाट बच्न गुहार माग्दामाग्दै वाक्क भएका झापा बाहुनडाँगीका बासिन्दा यतिबेला भने धेरै भन्दा धेरै हात्ती गाउँ पसिदिउन् भन्ने कामना गर्दैछन् ।
चारदशकको अवधिमा हात्ती र गाउँलेबीच दुश्मनी र नफरत बाहेक बाँकी सम्बन्ध स्थापित हुन सकेन् । वि.सं २०३६ सालदेखि नै यी दुइबीच बिग्रिएको सम्बन्ध सुधार गर्न आखिरमा गाउँले नै कस्सिएका हुन् ।
हात्तीको आक्रमणबाट दुइदर्जन मानिसले ज्यान गुमाएका छन् । करोडौं रुपैयाँ बरावरको धनमाल क्षति समेत भईसकेको छ । ‘तर अबपनि पौंठेजोरी खेलेर नहुने रहेछ,’ स्थानिय अर्जुन कार्कीले भने, ‘हामीलाई आक्रमण गर्ने तीनै हात्तीलाई आम्दानीको स्रोत बनाउने र सम्बन्ध सुधार गर्ने प्रयास गरेका हौं ।’ हात्ती आए टिन ठटाउँदै र पटाका पड्काउँदै लखेट्नुको सट्टा गाउँ टोलमै भुल्याउने र पर्यटकलाई देखाउने प्रबन्ध बाहुनडाँगीवासीले गरेका छन् ।
चारदशकसम्म हात्तीको आतंकबाट बच्न राज्यसँग हारगुहार गरेका गाउँलेले पर्यटन बर्ष २०११ को शुरुवातसँगै हात्तीप्रतिको दृष्टिकोण परिवर्तन गरेका हुन् । ‘गाउँ पस्ने हात्ती पर्यटकलाई देखाएर आम्दानी गर्ने नयाँ स्रोतको पहिचान गरेका छौं,’ बाहुनडाँगी होमस्टे तथा व्यवस्थापन समितिका अध्यक्ष रमेश दहालले भने, ‘हामीलाई दुख दिने हात्ती नै हाम्रो आम्दानीको स्रोत बनेका छन् ।’
भारत सीमावर्ती बाहुनडाँगीमा पश्चिम बंगाल राज्यको सुकुना जंगलहुदैं हुलका हुल जंगली हात्ती पस्ने गर्छन् । ‘डेढसय सम्मको संख्यामा पस्ने हात्तीले वाली नाश गर्नुका साथै घरगोठ समेत भत्काइदिन्छन,’ अध्यक्ष दहाल भन्छन, ‘हामीले हात्तीको गस्ती गर्न बनाएका टुङमा बसेरै सशुल्क पर्यटकले हात्ती हेर्ने प्रबन्ध गरेका छौं ।’ पर्यटकको सुरक्षा र गाउँलेको सहकार्यमा बढाउन जिल्ला प्रशासन कार्यालयले समेत चासो दिएको छ । प्रशासन कार्यालयले पर्यटकलाई सुरक्षित तरिकाले हात्ती हेर्ने व्यवस्था मिलाउन गाउँलेलाई सक्दो सहयोग गर्ने आश्वासन समेत दिएको छ ।
यसअघि बाहुनडाँगीमा हात्तीको आक्रमण रोक्न क्याकटस रोप्ने, सुरुङ निर्माण गर्ने, विद्युतिय तारघेरा गर्ने लगायत अभियान चलाइएको थियो । तर ती योजनाबाट पनि हात्तीको आक्रमणमा कमी आउन सकेको थिएन् । झापाको, शनिश्चरे, खुदुनावारी र शान्तिनगरलगायतका क्षेत्रमा समेत भारतबाट आउने जंगली हात्तीले दुःख दिने गर्छ ।@ Purbeli Times


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...