बलात्कृत महिला प्रहरीबाटै प्रताडित


सामूहिक बलात्कारपछि समाजबाट सहयोग पाउनुको साटो गाउँ निकाला गरिएकी एकल महिलाले प्रहरीबाट समेत सहयोग पाइनन्।
गत पुस २८ गते गाउँकै दुई युवाद्वारा बलात्कृत कोल्हुवाबगेया-४ की २८ वर्षीया हसिना (नाम परिवर्तन) गाउँलेको बहिष्करणमा परेकी छन्। प्रहरीले समेत सामाजिक निर्णय स्वीकार गर्न दबाब दिइरहेको उनको गुनासो छ।
बलात्कृत भएपछि धर्म अनुसार उनलाई गाउँमा बस्न नहुने निर्णय मुस्लिम समुदायले गरेको छ। 
छिमेकी गाउँ एकडरा चोकबाट फलफूल बेचेर साँझ घर फर्किरहेका बेला गाउँ नजिकैको उखु खेतमा उनीमाथि जबर्जस्ती भएको थियो।
हसिना घर फर्के लगत्तै सहयोगको याचना गर्दै छिमेकीसित पीडा पोखिन्। तर, छिमेकीबाट उनले सहयोगको साटोमा पाइन् 'तिरस्कार'। छिमेकीले तत्काल हसिना बलात्कृतको खबरलाई गाउँभरि फैलाए। दुई घन्टा नबित्दै त्यहाँका मुस्लिम समुदायका पुरुषहरुको पञ्चायत (बैठक) बस्यो। 
बैठकले हसिनालाई बलात्कार गर्ने दुईमध्येका एक युवालाई विवाहका लागि रोज्न आधा घन्टाको समय दियो। तर, हसिनाले उनीहरुसित विवाह नगर्ने अ•ी कसेपछि गाउँ छोडेरे अन्यत्र जानुपर्ने सजाय पाइन्। हसिनालाई जबर्जस्ती गरिरहेकै अवस्थामा स्थानीय समिर दफालीका छोरा मुर्तुजा र मोलवी अन्सारीका छोरा फरमुदलाई गाउँकै तीनजनाले प्रत्यक्ष देखेकाले मुर्तुजा र फरमुदलाई दोषी ठहर गर्दै तिनीहरुलाई ३० हजार नगद जरिवाना, ती रकम टोल विकासमा खर्च गर्ने र हसिनालाई गाउँ निकाला गर्ने निर्णय सोही बैठकले गर्न भ्यायो। 
लिखित माइन्युटमा गरेको सो निर्णयमा बैठकमा सहभागी ३७ जनाको हस्ताक्षर र औंठा छाप लगाइएको छ। 
घटनास्थलबाट तीन किलोमिटर पश्चिम प्रहरी चौकी रहे पनि घटनाको १४ दिनपछि सञ्चार माध्यममा खबर आइसकेपछि मात्र प्रहरीको कानमा पुग्यो हसिना गाउँ निकालाको घटना। विभिन्न सञ्चार माध्यमले लगातार खबर प्रकाशन गर्न थालेपछि प्रहरीले तत्काल उनलाई घरमा स्थापित गरे पनि न्याय भने अझै दिन सकेको छैन। 
न हसिनालाई लिखित निर्णय गरी गाउँ निकाला गर्नेहरु प्रहरीको आँखामा दोषी देखियो, न त बलात्कारी नै। स्थानीय अधिकारवादीको निरन्तर दबाबपछि गत माघ १२ गते प्रहरीले विपक्षीलाई समेत जिल्ला प्रहरी कार्यालयमा बोलाएर हसिनालाई गाउँमा सुरक्षित बस्न दिन आग्रह गरेको थियो। 
त्यसको १० दिन नबित्दै पुनः गाउँलेले डरधम्की दिन थालेपछि अन्यत्र रात काटेर दिनभरि न्यायका लागि सदरमुकाममा भौँतारिनु हसिनाको दैनिकी बनेको छ। जति हारगुहार गर्दा पनि प्रहरीले वास्ता नगरेपछि साता अघि हसिनाले अदालतमा मुद्दा दर्ता गराएको मानव अधिकार संरक्षण केन्द्रका मिडिया संयोजक नागेन्द्रकुमार कर्णले बताए। 
जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयराज शर्माले भने अहिलेसम्म पीडितको भनाइ सुन्न भ्याएका छैनन्। 'यहाँ दैनिक अपराधका कैयौं घटना र उजुरी आइरहने गरेको छ। कहाँ एउटा बलात्कारको घटना हेर्न भ्याउनु?' एसपी शर्माले नागरिकसँग भने।
हसिनाले भने महिनामा २० पटकभन्दा बढी जिल्ला प्रहरीमा धाइसके पनि कुनै सुनुवाइ नभएको दुखेसो पोखेकी छन्। 'दोषीहरुले त्यसै पनि मुद्दा दर्ता नगराउन दबाब दिँदै आएका छन्,' उनले भनिन्, 'झन् आफन्त कहाँ बसेर दैनिक सदरमुकाम ओहोरदोहोर गर्न यातायात भारा र खाना खर्च जुटाउन गाह्रो भइरहेको छ।'
Source:- Nagariknews 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...