त्रिभुवन विरही
विजयपुर/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० जना कर्मचारीलाई अवैधानिकरुपमा नियुक्त गरेर काम लगाइएको तथ्य फेला परेको छ । प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, अस्पताल निर्देशकलगायत्का पदाधिकारीले स्वास्थ्य प्राविधिकहरु अवैधानिकरुपमा नियुक्त गरेको तथ्य मङ्गलबार फेला परेको हो ।
मङ्गलबार नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गरेको छड्के जाँचका क्रममा यस्तो तथ्य फेला परेको हो । परिषद्का अध्यक्ष डा. हरि लम्सालले प्रतिष्ठानमा गरिएको छड्के जाँचको क्रममा ३० जना प्राविधिक अवैधानिक पाइएको जनाए । ‘६० जना प्राविधिकको फायल हेर्दा ३० जना अदक्ष प्राविधिकलाई गैरकानुनी प्रक्रियाबाट नियुक्त गरेको देखिन्छ ।’ उनले पत्रकारहरुसँग भने ।
परिषद्मा नाम दर्ता नहुने व्यक्तिले स्वास्थ्यसम्बन्धी कुनै काम गर्न नहुने ऐनमा उल्लेख छ । ‘यसअघि पनि बीपीलाई पत्र पठाएर सम्पूर्ण प्राविधिकको विवरण मागिएको थियो तर प्राप्त भएन,’ अध्यक्ष लम्सालले जनाए । परिषद्का अनुसन्धान अधिकृत वशिष्ठकुमार घिमिरेले बीपी प्रतिष्ठानमा चरम् भ्रष्टाचार भएको यो घटनाले पुष्टि गरेको जनाए ।
छड्के जाँचको क्रममा प्रतिष्ठानले ६० जना प्राविधिकको मात्र फायल बुझाएको थियो । अन्य प्राविधिकको फायल खोज्न समय लाग्ने भन्दै टारेको परिषद्का सदस्यले जनाए । प्रतिष्ठानमा १ सय २३ जना प्राविधिक छन् । मङ्गलबार छड्के जाँच गर्न आएको टोलीमा परिषद्का अध्यक्ष डा. लम्साल, रजिष्ट्रार धनप्रसाद पौडेल, अनुसन्धान अधिकृत घिमिरे र प्रशासकीय अधिकृत केशवप्रसाद अधिकारी सहभागी थिए ।
टोलीले परिषद्मा दर्ता नभएका प्राविधिकलाई काममा नलगाउन प्रतिष्ठानलाई अनुरोध गरेको छ । प्रतिष्ठानका निर्देशक वीपी दास भने यस विषयमा बोल्न चाहेनन् । प्रतिष्ठानमा छड्के जाँच गर्न आएको टोली ड्रिमल्याण्ड होटलको ८ हजार ३ सय रुपैयाँ नतिरी हिँडेको छ । उनीहरु सो बिल प्रतिष्ठानले तिर्ने भन्दै हिँडेका थिए । टोलीले १५ मिनेटमा ६० वटा फायल जाँचेको थियो ।
मङ्गलबार गरिएको छड्के जाँचमा ल्याब टेक्निसियन १०, फिजियोथेरापी विभागका २, शल्यक्रिया विभागका ४, फोरेन्सिक विभागका १, रेडियोलोजी विभागका २, स्टिलथेरापीका ४, फर्मास्युटीकल विभागका १ सहित ३० जना प्राविधिकलाई प्रतिष्ठानले अवैधानिकरुपमा नियुक्त गरेको पाइएको छ ।
With reference to Blast Times daily


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...