पानीको मूल फुट्न थालेकोले यो वर्ष मकैको बीउ उत्पादन घट्नसक्ने सुनसरीको हाँसपोसास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले जनाएको छ । तीन–चार वर्षको अन्तरालमा मूल फुटेर जमिन हिलाम्मे हुने गरेको केन्द्रमा यो वर्ष पनि सोही समस्या दोहोरिएपछि मकै तथा गहुँ उत्पादनमा प्रत्यक्ष प्रभाव पर्ने केन्द्रले जनाएको हो ।
केन्द्रका प्रमुख वेदानन्द चौधरीका अनुसार मूल फुटेर पानी बढी भएपछि मकै खेतीको लागि आधाभन्दा बढी जमिन अनुपयुक्त भएको छ । कूल १५ हेक्टर क्षेत्रफलमा मकै लगाउने योजना बनाइएकोमा सात हेक्टर क्षेत्रफलमा मात्र लगाउन सकिएको उनले जनाए । बाँकी जमिनमा भने हिलोका कारण बीउ छर्न नसकिएको उनले जनाए । जोतेर ठिक्क पारेको जमिनमा पनि गहुँ लगाउन नसकिएपछि गहुँको बीउ यो वर्ष पर्याप्त मात्रामा उत्पादन गर्न नसकिने भएको केन्द्रले जनाएको छ । बीउ उत्पादन गर्नैपर्ने भएकोले किसानको खेतमा भए पनि बीउ उत्पादन गर्ने योजना बनाउन थालिएको उनको भनाइ छ । समस्याको विषयमा केन्द्रमा छलफल भइरहेको जनाउँदै किसानलाई बीउ उत्पादनका लागि दिने योजना बनाइएको उनले जानकारी दिए ।
केन्द्रले रोप्ने बीउ उन्नत जातको भएकोले खेर जान नदिन किसानलाई नै निश्चित हिस्सा दिएर भए पनि जिम्मा दिन लागिएको उनले बताए । केन्द्रको जमिनमा केही वर्षको अन्तरालमा पानीको मूल फुट्ने हुँदा बालीनाली उत्पादन गर्न समस्या हुने गरेको क्षेत्रीय निर्देशक चौधरीले बताए ।
पानीका कारण १५ हेक्टर जमिनमा लगाइएको गहुँमध्ये दुई हेक्टर क्षेत्रफलको गहुँ खेतीमा समेत असर पुगेको उनले जनाए । पानी बढी भएका कारण गहुँ पहेंलो हुने समस्या देखिएको उनको भनाइ छ ।
बीउ उत्पादन गर्न केन्द्रले २३ हेक्टर जमिन प्रयोग गर्ने गर्छ । केन्द्रको २६ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । पानीको लेयर आपैंm माथि आउने क्रम यो वर्ष दोहोरिएको जनाउँदै उनले जमिन नसुकेमा किसानहरुलाई बीउ उत्पादन गर्न दिइने जनाए ।
With reference to Blast Times daily


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...