चन्द्र कार्की
तेह्रथुम,
विद्युत् प्राधिकरणले दैनिक १४ घन्टा लोडसेडिङ हुने सूचना सार्वजनिक गरेको छ तर यहाँ भने ६ महिनादेखि दैनिक ४८ पटकभन्दा बढी समय लोडसेडिङ हुँदै आएको छ । बिनासूचना र जानकारीको लोडसेडिङका कारण यहाँका ५ हजार ८ सय ५० घरभन्दा बढी सेवाग्राहीले प्राधिकरणलाई नियमित महसुल बुझाएर पनि अन्धकारमा बस्नु पर्ने बाध्यता छ ।
पिलुवा हाइड्रो पावरबाट उत्पादन भएको बिजुलीका कारण संखुवासभा र तेह्रथुममा २४ सै घन्टा विद्युत् आपूर्ति हुनुपर्ने हो तर लामो समयदेखि बिनाजानकारी मनपरी ढंगले प्राधिकरणले प्रत्येक आधा घन्टामा विद्युत् कटौती गर्दै आएको छ । ३३ केभी क्षमताको विद्युत्को केन्द्रीय प्रसारण लाईन नआएसम्म पिलुवामा उत्पादन भएको २ मेगावाट क्षमताको विद्युत्समेत सञ्चालन नहुने भएकाले जिल्लामा यति धेरै समय लोडेडिङ हुने गरेको विद्युत् प्राधिकरण शाखाले जनाएको छ । '३३ केभी नआए सम्म पिलुवा एक्टिभ हुँदैन,' प्राधिकरणका प्रमुख रमेश भण्डारीले भने ।
प्राधिकरणको जिरीखिम्तीमा रहेको विद्युत् सबस्टेसनको ट्रान्स्र्फमरको क्षमता कम हुनु पनि विद्युत् अनियमितताको अर्को कारण रहेको उनको भनाइ छ । यहाँ रहेको सबस्टेसनको क्षमता १ दशमलव ५ एमभीएको मात्र रहेको र यसले १२ किलोवाट विद्युत् क्षमता मात्र लोड लिने गरेकाकाले समस्या भएको उनले बताए ।
'बिजुली नजाओस् भनेर रामनाम जपेर बस्नुपर्छ,' प्रमुख भण्डारीले भने । ३ एमभीएको ट्रान्स्र्फमर जडान भएमा मात्र विद्युत् आपूर्ति नियमित हुने उनको भनाइ छ । त्यसका लागि २ करोड रुपैयाँ आवश्यक पर्ने र उक्त रकमका लागि माथिल्लो निकाएमा पटक-पटक माग गर्दासमेत कुनै सुनुवाइ नभएको उनले बताए ।
विद्युत् पटकपटक आउँदै जाने गरेकाले जिल्लामा बिजुलीबाट हुने व्यवसाय सञ्चालन गर्न समस्या भएको व्यवसायीले बताउँछन् । बिजुली नियमित नहुँदा कम्प्युटर प्रशिक्षण, साइबर, फोटोकपी लगायत व्यापार व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको पाथीभरा कम्युनिकेसन सेन्टरका सञ्चालक प्रकाश श्रेष्ठले बताए ।
विद्युत् नियमित नभएकै कारण विदेशबाट आफन्तले विभिन्न मनी ट्रान्स्फरमार्फत् घरमा पठाएको रकम निकाल्न पाएका छैनन् ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...