जन्म दिने अभिभावकले आफ्नै सन्तानलाई बेच्न सक्लान् रु प्रायः सक्दैनन् । तर सिन्धुपाल्चोकका एक निर्दयी बाबुले जागिर लगाइदिने बहानामा छोरी बेचेका छन् । बेचिएर भारत पुगेकी युवती तीन वर्षपछि भागेर फर्की घर आएपछि बाबुले बेचेको रहस्य खुलेको हो ।
युवतीले मुद्दा हालेपछि उनलाई बेच्ने बाबु र स्थानीय दुई दलाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
चौतारा घर भएकी १८ वर्षीया चौतारा आई (प्रहरीले राखेको नाम) लाई २०६४ मंसिरमा स्थानीय दलालसँग मिलेर उनकै बाबु लोकबहादुर घलेले बेचेको अभियोग छ । सोमबार अदालतले लोकबहादुर र अन्य दुई अभियुक्त ईश्वर र रामशरण घलेलाई पुर्पक्षका लागि थुनामा राखेको हो । न्यायाधीश वीरबहादुर डाँगीको इजलासले यस्तो आदेश दिएको हो ।
ती युवतीका श्रीमानले दास्रो विवाह गरेपछि माइत बसेको मौका छोपेर राम्रो जागिर लगाई दिने प्रलोभनमा उनलाई बेचिएको थियो । अभियुक्तमध्येकै दावा र काजीमान तामाङ फरार छन् । लोकबहादुरले छोरीलाई राजधानी लगेर गाउँकै दलालसँग ८० हजार रुपैयाँ लिएर बिक्री गरेको बयान प्रहरीमा दिएका छन् । भागेर फर्केपछि युवतीले दिएको किटानी जाहेरी र बयानका आधारमा उनका बाबु र दलालहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
लोकबहादुरले बेचेको नभई राम्रो जागिर लगाई दिने आशामा रकम लिएर चिनाजानका मान्छेलाई छोरी पठाएको बताए । युवती भारतको सदित नगरबाट भागेर मुलुक फर्केपछि माघ २ गते प्रहरी सम्पर्कमा आएकी थिइन् । त्यसअघि नै सासू कृष्णमायाले बुहारी बेचिएको र त्यसमा सम्धीको समेत हात रहेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । अभियुक्तलाई प्रहरीले चेलिबेटी बेचबिखनका अन्य घटनामा पनि 'मोस्ट वान्टेड' का रूपमा राखेको थियो । यस्तै प्रकृतिका ११ वटा मुद्दा अदालतमा विचाराधीन रहेको जानकारी जिल्ला सरकारी वकिल यादवप्रसाद सेडाईंले कान्तिपुरलाई दिए ।
चेलिबेटी बेचबिखन रोक्ने नाममा दर्जनौं संघसंस्था खुलेका छन् । सरकारी संयन्त्रसमेत क्रियाशील छन् । सिन्धुपाल्चोकमा वषौ देखि हुँदै आएको चेली बेचबिखन भने अझै रोकिएको छैन । त्यसमा गरिबी र दलालहरूले अपनाएको फरक प्रक्रिया कारण रहेको बताउँछिन्, महिला हिंसाविरुद्ध सक्रिय नानीमैयाँ नेपाल । 'गरिबी पनि उस्तै छ,' उनी भन्छिन्, 'जागिर लगाउने भन्दै पासपोर्टमा भिसा लगाउँदै विभिन्न मुलुकमा चेलीहरू बेचिएकै छन् ।' @ eKANTIPUR


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...