आन्दोलन चर्केको बहराइनको राजधानी मनमामा व्यवसाय गर्दै आइरहेका सिन्धुपाल्चोक हेलम्बुका श्याम तामाङ तनाबमा थिएनन् । उनले त्यहाँ रेष्टुराँ, दोहोरी साँझ र क्याटेरिङ चलाइरहेका छन् । 'बाहिर देखिएको जस्तो खतरा यहाँ छैन्', शुक्रबार दिउँसो फोनमा कुराकानी भइरहँदा उनी भन्दै थिए- 'आज बिदा भएपनि मेरो क्याटेरिङमा काम भइरहेका छ ।'
राजधानी मनमाको केन्द्र भाग भन्दा ढेड किलोमिटर मात्रै टाढा बस्दै आएका तामाङले बहराइनमा चलेको आन्दोलनबाट नेपाली समुदाय खतरा मुक्त रहेको बताए । 'सरकारबिरुद्ध यहाँ सिया समुदायले आन्दोलन चर्काउने प्रयास गरेको हो', १० बर्षदेखि त्यहाँ बस्दै आएका उनले भने- 'तर, यो राजधानीको निश्चित भागमा मात्रै केन्दि्रत छ ।'
राजधानी भन्दा बाहिर रहेका सबै नेपाली कामदारले सहज रुपमा काम गरिरहेको उनले जनाए । 'बिरोध चर्किएको ठाँउमा मात्रै हामीलाई खुल्ला रुपमा हिड्न दिइएको छैन्', उनले भने-'अरु सबै सामान्य अबस्था छ ।'
सिया समुदायले संबिधानको परिवर्तन, भष्ट्रचारको नियन्त्रण, बिदेशीलाई नागरीकता दिन रोक, सिया समुदयामा सेना र प्रहरीमा भर्ना गर्न लगायत माग राखी आन्दोलन चर्काउने प्रयास भइरहेको उनले बताए । बहराइनमा सुन्यु समुदायले शासन गरिरहेको छ । उनीहरुले सेना र प्रहरीमा सिया समुदायलाई भर्ना नलिई पाकिस्तानी र युमनीहरुलाइ भर्ना लिने गरेको छ ।
रेमिट्यान्स कम्पनीहरुका सर्बेक्षण अनुसार बहराइनमा ३५ देखि ४० हजार नेपाली कामदार कार्यरत छन् । 'यहाँ सफाई, निर्माण क्षेत्र, सपिङ कम्पेलक्स, सुरक्षा गार्डमा बढी नेपाली कामदार रहेका छन्', गैरआबसीय नेपाल संघ बहराइनका अध्यक्ष समेत रहेका उनले भने-'डाक्टर, इजिनियरहरु पनि छन् ।'
नेपाली क्लब बहराइनका अध्यक्ष दुर्गा गिरीका अनुसार बिदेशी सहित नेपाली कामदार सामान्य अबस्थामा काम गरिरहेका छन् । 'नेपालीहरुलाई असर परेका छैन', साउदी अरेबियामा रहेका नेपाली दुताबासको लागि सम्र्पक ब्यक्तिको रुपमा समेत रहेर काम गर्दै आइरहेका गिरीले भने-'सबै नेपाली दाजुभाई सम्र्पकमा आइरहेका छन् । कसैले समस्या भएको बताएको छैन् ।' बहराइनमा नेपाली दुताबास खुलेको छैन् । त्यहाँ साउदीबाट हेर्दै आइरहेको छ ।
उनले प्रर्दशन भइरहेको स्थानमा मात्रै सुरक्षा दिन उद्योग र कम्पनीहरुले काम बन्द गरिएको बताए । उनका अनुसार सम्भाबित खतराबाट बच्न फिलिपिन्स सरकारले भने आफ्ना कामदारहरुको बिषयमा निकै चासो दिइरहेको छ । 'कुन कुन क्षेत्रमा आफ्नो कामदारको अबस्थाको बारेमा फिलिपिन्स दुताबासले आफ्नो नागरीकको बिबरण लिइरहेको छ', उनले भने-'यसो हुदाँ नेपालीहरुले पनि चासो दिइरहेको छ ।'
खाडीका ६ मुलुक मध्ये बहराइन सबैभन्दा खुकुलो मुलुक हो । त्यसकारण धेरै नेपालीले रेष्टुरा र दोहोरी साँझ सञ्चालन गर्दै आइरहेका छन् ।
Source:- ekantipur


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...