विदेशी डिटिएच रोक्न निर्देशन


सरकारले अनुमति नलिई डाउनलिंक गरेर विदेशी च्यालन प्रसारण रोक्न र अवैध रूपमा विदेशी कम्पनीका डाइरेक्ट टु होम (डिटिएच) भित्रन नदिने काम सुरु गरेको छ । कतिपय सरकारी कार्यालयमा समेत अवैध विदेशी डिटिएच प्रयोग भइरहेको भन्दै तिनलाई हटाउन सञ्चार मन्त्रालयले सबै सरकारी निकायलाई पत्र पठाएको छ ।
सञ्चारले अवैध विदेशी च्यालन डाउनलिंक र विदेशी डिटिएच आयात तथा बिक्री वितरणलाई रोक लगाउन जिल्ला प्रशासन, भन्सार तथा राजस्व कार्यालयलाई पत्राचार गरेको छ । उसले यस्तो गरिएको पाए सर्वसाधारणलाई समेत सम्बन्धित निकायलाई जानकारी गराउने आग्रह गरेको छ ।
'केवल अपरेटरले डाउनलिंकको अनुमतिबिनाको च्यालन दिइरहेको जानकारी आएको छ,' मन्त्रालयका सहसचिव महेन्द्र गुरागाईले भने, 'अनुमति नलिएका च्यानल चलाउनु गैरकानुनी हो ।' उनले अहिले मन्त्रालयलबाट १ सय ३ वटा च्यालनले डाउनलिंकको अनुमति लिएको बताए । जसको जानकारी मन्त्रालयको वेबसाइट एमओआइसी डट जिओभी डट एनपीमा राखिएको छ ।
मन्त्रालयले अनुमति नलिई विदेशी च्यालन प्रसारण गर्न नपाउने व्यवस्थाविपरीत डाउनलिंक अनुमति नलिई च्यानल प्रसारण गरेको गुनासो आएको भन्दै त्यसलाई तुरुन्त रोक्न भनेको छ । डाउनलिंक अनुमति नलिई च्यालन प्रसारण गरे ती केबल कम्पनीको रिसिभिङ मेसिन जफत गरिने उनले बताए ।
केही केबलहरूले अन्य मुलुकका डिटिएच ल्याएर त्यसमा आउने च्यालन प्रसारण गरिरहेका छन् । 'यो राष्ट्रिय प्रसारण ऐनविपरीत हो,' उनले भने, 'गत वर्षको कानुनले अनुमति नलिई डाउनलिंक हुने च्यालन र विदेशी डिटिएच चलाउनु अवैध हुने व्यवस्था गरेको छ ।'
मन्त्रालयले गैरकानुनी डिटिएचको बिक्री रोक्न गृह मन्त्रालय, भन्सार विभाग र राजस्व अनुसन्धान विभागलाई लिखित आग्रह गरिएको जनाएको छ । गुरागाईका अनुसार अहिले सरकारी निकाय तथा सर्वसाधारणबाट पनि भारत, चीन र थाइल्यान्डबाट भित्रिएको डिटिएच प्रयोग भइरहेको गुनासो आएको छ । 'मुलुकमै डिटिएच कम्पनी सञ्चालन भइसकेको अवस्थामा विदेशीलाई नियन्त्रण गर्न यस्तो गरेका हौं,' उनले भने ।
यस्तै खुला सीमाको कारण आइरहेको अवैध भारतीय डिटिएच रोक्न सीमा सुरक्षालाई पनि आग्रह गरेको छ । 'सीमाबाट वैधानिक रूपमा नआए पनि अवैधानिक रूपमा बोकेर आउँदा सीमा सुरक्षाले केही नगरेको जानकारी पाएका छौं,' उनले भने, 'हामीले कसैलाई पनि सानो परिणाममा समेत डिटिएच ल्याउन नदिन भनेको छौं ।' उनले अब यसरी अवैध रूपमा ल्याए भन्सारले नियन्त्रणमा लिने बताए ।
उनले अन्य मुलुकबाट आएको डिटिएच रोकिए सरकारले राजस्व गुमाउनु नपर्ने र स्वदेशी कम्पनीले प्रोत्साहन पाउने बताए । 'डिटिएच किन्दा, मासिक रिचार्ज गर्दा धेरै रकम बाहिरिएको छ,' उनले भने, 'यो रोक्न हामीले विदेशी डिटिएच प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका हौं ।'
अहिले राजधानीका साथै मुलुकका मुख्य सहरमा विदेशी कम्पनीका डिटिएच बिक्री भइरहेका छन् । तराई क्षेत्रमा भने भारतीय सीमावर्ती बजारमा गएर उपभोक्ताले सीधै डिटिएच ल्याउने गरेका छन् । मन्त्रालयले विदेशी डिटिएचको रिचार्ज कार्डसमेत बेच्न नपाइने जनाएको छ । यसले विदेशी डिटिएच विस्थापनमा सहयोग पुग्ने उनले बताए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...