कुमार भट्टराई
दमक फाल्गुन १२
प्राध्यापकहरु संघर्षमा उत्रिएपछि झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसको छ दिनदेखि ठप्प पठनपाठन अझै सुचारु हुन सकेको छैन ।
विश्व विद्यालय अनुदान आयोगबाट दोस्रो उच्च शिक्षा परियोजना कार्यक्रम शुरु भएपछि उच्च माध्यमिक र त्रिभुवन विश्वविद्यालय तर्फका प्राध्यापकको वर्गीकरणको विषयलाई लिएर प्राध्यापकले संघर्ष शुरु गरेका हुन् । क्याम्पस बन्द हुँदा तीन हजार विद्यार्थीले पढ्न पाएका छैनन् ।
त्रिभुवन विश्वविद्यालयको सूचीमा नराखिएका २७ जना प्राध्यापक छ दिनदेखि आन्दोलनमा छन् । उनीहरुले आज बिहानबाट रिले अनसन शुरु गरेका हुन् । आन्दोलनरत प्राध्यापक धनन्जय बाँस्कोटाले त्रिभुवन विश्वविद्यालयतर्फ नियुक्ती भएकालाई समेत उच्च माध्यमिकतर्फ घटुवा गरेकोले आन्दोलन शुरु गरिएको बताउनु भयो ।
यता क्याम्पस संचालक समितिका अध्यक्ष सुरेश सुब्बाले दोस्रो उच्च शिक्षा परियोजना लागू गर्न प्राध्यापक वर्गीकरण आवश्यक रहेको बताउनु भयो । दमक क्याम्पसका प्राध्यापकले अन्यत्र पढाउन नमिल्ने भएकोकोले पनि वर्गीकरण परियोजनाको अनिवार्य सर्त रहेको उहाँले जिकीर गर्नुभयो । दमक क्याम्पसका धेरै प्राध्यापकले अन्यत्रका उच्च मावि र क्याम्पससमा समेत पढाउने गरेका छन् ।
अढाई बर्षअघि विश्वविद्यालय अनुदान आयायेगको छनोटमा परेको क्याम्पसले प्रोत्साहन अनुदान, कार्यसम्पादन अनुदान र जोडकोष अनुदान अर्न्तगत पाँच बर्षभित्र १६ करोड २५ लाख रुपैयाँ पाउनेछ जसमध्ये एक करोड ६५ लाख रुपैयाँ प्राप्त भईसकेको छ ।
परियोजना अर्न्तगत प्राध्यापकको वृत्तिविकास लगायत कार्यक्रम पनि समेटिने छन् । आफूहरुलाई ती सबै सेवासर्तबाट बन्चित गरि मानर्मदन गरेको प्राध्यापकले दाबी गरेका छन् ।
समस्या समाधान गर्न इन्द्रबहादुर बुढाथोकीको संयोजकत्मा गठित समितिलाई काम गर्न दिन र तत्काललाई आन्दोलन रोक्न क्याम्पस संचालक समितिले आग्रह गरेको छ । तर प्राध्यापकले भने वर्गीकरण खारेज गरेर मात्र वार्तामा बस्न सक्ने बताएका छन् । क्याम्पसमा मानविकी, विज्ञान, शिक्षा, व्यवस्थापनका दशजोड दुइ, स्नातक र स्नातकोत्तरका कक्षा संचालनमा छन् । @ purbeli Times


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...