छेटु शेर्पा
सङ्खुवासभा/ जिल्लाको खाँदबारीमा एकीकृत नेकपा माओवादीका जिल्ला कमिटी सदस्य डिल्लीराम श्रेष्ठले एउटी स्कुले छात्रालाई गम्भीर कुटपिट गरेका छन् ।
खाँदबारी–१२ ढुङ्गेधाराको बागेश्वरी उच्च माविमा अध्ययनरत् १५ वर्षीय छात्रा कुमारी मगरलाई श्रेष्ठ र उनकी पत्नीले कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् । घाइतेको खाँदबारी अस्पतालमा उपचार भइरहेको छ ।
श्रेष्ठले जगल्ट्याउँदै ढुङ्गामा लडाएको र उनकी श्रीमतीले लौरोले अन्धाधुन्दा कुटपिट गरेको घाइते बालिकाले अस्पतालको शैय्याबाट जानकारी दिइन् । दुई दिनअघि बालिका कुटपिट भए पनि घटना लुकाउने प्रयास हुँदा बिहीबार मात्र सार्वजनिक भएको हो । श्रेष्ठ नेपाल रेडक्रसमा समेत सक्रिय छन् ।
अस्पतालको १ नम्बर शैय्यामा उपचार गराइरहेकी कुमारीले भनिन्, ‘डिल्ली अङ्कल र आण्टीले पालैपालो कुटे ।’ अवस्था जानकारी लिन अस्पताल पुगेका सञ्चार र अधिकारकर्मीका अघि रुँदै बालिकाले डिल्ली अङ्कलको घरमा बसेकी सावित्रा अधिकारीलाई प्रकाश गिरीसित लगाइदिएको आरोपमा आफूलाई विनाकारण कुटेको बताइन् । उनको टाउको र ढाडमा असर परेको छ । उनको खकारमा रगत देखिएको स्टाफ नर्स विष्णु श्रेष्ठले बताइन् ।
कुटपिटमा सङ्लग्न माओवादी सदस्य श्रेष्ठले भने आफूबाट कुटपिट नभएको बताए । ‘मेरी श्रीमतीले कुटपिट गरेकी रहिछन्, बरु मैले गएर छुट्याएँ’ उनले भने ।
एकीकृत माओवादीले घटना सार्वजनिक नगर्न सञ्चारकर्मीहरूसँग आग्रह गरेको छ । माओवादी जिल्ला सङ्गठन समिति सदस्य राजेन्द्र थापाले पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारवाही गरिने बताए ।
मानवअधिकार सञ्जालले घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ । घटना लुकाउने प्रयास भएमा दुखद् हुने इन्सेकका जिल्ला प्रतिनिधि किशोर बुढाथोकी बताएका छन् ।
Courtesy :- Blast Times Daily

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...