अफिसमा मोवाईल प्रयोगमा बन्देज

अमर खड्का, इटहरी, फागुन ५- काममा अवरोध पुगेको भन्दै इटहरीको एक उद्योगले मजदुरलाई मोबाइल प्रयोग गर्न रोक लगाएको छ। रिजालटासी इन्डष्ट्रिज उद्योगले मजदुरलाई ड्युटी अवधिभित्र मोबाइल प्रयोग गर्न रोक लगाएको हो। उद्योगले यसबाट उत्पादन वृद्धि भएको जनाएको छ भने मजदुरचाहिँ आक्रोशित भएका छन्।

'मजदुरले कामको समयमा लामो समयसम्म मोवाइलमा संवाद गरेर समय वर्वाद गर्ने गरेकाले पूर्णरुपमा रोक लगाइएको हो', प्रशासकीय अधिकृत खेलनारायण पराजुलीले भने- मोबाइल प्रयोगमा रोक लगाएपछि मजदुरले काम राम्रोसँग गर्न थालेका छन्। उनका अनुसार मजदुरका लागि अति आवश्यकीय कामका लागि अन्यत्रबाट आउने फोन 'रिसिभ' गर्न कार्यालयले अलग्गै टेलिफोनको व्यवस्था गरिदिएको छ।
 जाम, जुस, अचार, स्क्वास जस्ता सामान उत्पादन गर्ने उद्योगमा गम्भीर भएर काम गर्नुपर्नेमा मोबाइलले गर्दा मास्तिष्क डाइभर्ट भएर सोचेअनुसार सामान उत्पादन नभएपछि मोवाइल प्रयोग गर्न नदिने रणनीति अपनाएको पराजुलीले बताए।
 'मोवाइल प्रयोग गर्न दिदाँ बेला–बेलामा विभिन्न मजदुर सङ्गठनले आन्दोलनका नाममा बाहिरबाट अन्य व्यक्ति बोलाएर उद्योगमा तोडफोडसमेत हुने गर्थ्यो,' उनले भने- अहिले त्यस्तो हुन छाडेको छ।
 एमाले र एकीकृत माओवादी निकट मजदुर सङ्गठनसँग आबद्ध ६६ महिला र २५ पुरुष स्थायी कामदार रहेको उद्योगमा उत्पादन कक्षमा प्रशासनका कर्मचारीले पनि मोबाइल प्रयोग गर्दैनन्।
 रिजालटासी उद्योगले मोबाइल प्रयोगमा रोक लगाएसँगै पूर्वका अन्य थुप्रैले पनि रोक लगाउने भएका छन्। इटहरीकै गोयल चामल उद्योगका सञ्चालक राजेश अग्रवालले व्यवस्थित गरेर रोक लगाउने तयारी भइरहेको बताए।
 जेविएस इन्डष्ट्रिज उद्योगमा पनि मोवाइल प्रयोग गर्न नदिने तयारी थालिएको जानकारी दिइयो। 'अहिलेसम्म रोक लगाइएको छैन तर संवेदनशील काम भइरहेको समयमा समेत मजदुरले प्रयोग गर्दा दुर्घटना हुने सम्भावना बढ्दो छ,' सञ्चालक अनन्त बिष्टले भने- दुर्घटना हुनबाट बच्न मोवाइल रोक गर्ने सोच छ।
मोबाइल प्रयोगमा रोक लगाएको उद्योग रिजालटासीले उत्पादनमा फाइदा पुगेको बताए पनि मजदुर भने आक्रोशित छन्। 'मोबाइल प्रयोग गर्न नदिएपछि घरमै राखेर आउनुपर्छ, कहिलेकाहीँ सारै महत्वपूर्ण फोनसमेत रिसिभ गर्न नपाउँदा समस्या हुने गरेको छ'- मजदुर निरज क्षेत्रीले भने। उनले हरेकको स्वतन्त्रताको ख्याल गरेर प्रयोग गर्न दिइनुपर्ने बताए। अर्का मजदुर सविन चौधरीले मोबाइल प्रयोग गर्न नदिँदा परिवार र आफन्तमा आपतविपत पर्दा समस्या हुने गरेको बताए। @ Nagariknews 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...