इलाम, फाल्गुन १६ -
होटल व्यवसायीले बाल मजदुर नराख्ने प्रतिबद्धता जनाएका छन् । १ सय ४१ होटल व्यवसायीले बालमजदुर नराख्ने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
जिल्लाका कुनै पनि होटलले बालमजदुर नराख्न व्यवसायीले प्रतिबद्धता गरेकाले पालना गराउन प्रयास गर्ने होटल एसोसिएसनका नव निर्वाचित अध्यक्ष दावा लामाले बताए । जिल्ला बालकल्याण समितिले गरेको अध्ययनका क्रममा जिल्लाका विभिन्न होटल र पसलहरूमा ५८ जना बाल श्रमिक रहेको पाइएको छ । समितिको तथ्यांक अनुसार ३३ जनाभन्दा धेरैलाई ज्याला नै नदिई काममा लगाइएको छ ।
सताअघि समिति, मानवअधिकार मञ्च, मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूहलगायतका संस्थाले पटकपटक बालमजदुर नराख्न आग्रह गर्दा पनि अटेर गर्ने होटलबाट छ जना बाल श्रमिकको उद्धार गरेर अभिभावको जिम्मा लगाएका थिए ।
उद्धार गरिएका बाल श्रमिकमध्ये दानावारी-२ का अनिल सुब्बालाई महिला कल्याण समाज इलामले शैक्षिक सहायता प्रदान गरेको छ । द्वन्द्व प्रभावित बालबालिका परिवार तथा समुदायका लागि पुनःस्थापना परियोजना आरसीपीले शैक्षिक सहायता कार्यक्रम अन्तर्गत बालकलाई सहायता गरेको हो । सुब्बालाई स्कुल ब्याग, पोसाक र जुत्ता उपलब्ध गराइएको थियो ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...