राजेश हमाल कैद


पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणासँग एसएमएसमार्फत मार्ने धम्की दिएर एक करोड रकम माग्ने रुकुमका राजेश हमाललाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै साढे तीन वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको छ।
न्यायाधीश माधवप्रसाद पोखरेलले बिहीबार हमाललाई अपहरण तथा शरीरबन्धक मुद्दामा कैद र जरिवाना सजाय सुनाएका हुन्। दुई वर्षअघि कात्तिक २४ गते आफ्नी प्रेमिका प्रतीक्षारत्न शाहसँग प्रेरणाको मोबाइल नम्बर लिएर हमालले एक करोड नदिए श्रीमान् राजबहादुर सिंह र छोरालाई मार्ने धम्की दिएका थिए।
‘मेरो मोबाइल’ कम्पनीको ९८०८३१८०३१ नम्बरबाट हमालले, ‘प्रेरणा सरकार। नमस्कार, तपाईले हाम्रो पार्टीलाई सहयोग गर्नुपर्‍यो। तपाईको सचिवलाई मेरो मोबाइल नम्बर दिएर एक करोडका साथ गोदावरीमा पठाउनुहोला। नत्र तपाईका श्रीमान् राजबहादुर सिंह र छोराको मौत हुनसक्छ’ भन्ने एसएमएस प्रेरणाको मोबाइलमा पठाएका थिए। एक साताभित्र एकै बेहोराका तीनवटा एसएमएस आएपछि सिंहले हमालविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। हमाल मंसिर १ गते गोपीकृष्ण हलनजिकबाट पक्राउ परेका थिए।
प्रहरीसँगको बयानमा उनले आफ्नो कुनै पार्टी नरहेको र प्रतीक्षासँग विवाह पक्का भएपछि खर्च जोहो गर्न प्रेरणालाई एसएमएस गरेको बताएका थिए। दाङ तारागाउँकी प्रतीक्षा प्रेरणाकी पूर्वस्वकीय सचिव हु्न्। सिंहले नै उनलाई श्रीमतीको सहयोगी नियुक्त गरेका थिए।
यार्सागुम्बा व्यापारी हमालले लाखौंको व्यापार घाटा असुली र विवाह खर्च जुटाउन एसएमएस गरेको बताएपछि प्रहरीले राजेश र प्रतीक्षा दुवैविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘अपहरण तथा शरीरबन्धक’ मुद्दा दायर गरेको थियो। अदालतले प्रतीक्षालाई भने ‘स्पष्ट प्रमाण नभेटिएको’ भन्दै सफाइ दिएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...