राष्ट्रपतिको भ्रमणपछि भारतले हतियार पठाउने


शाहीकालदेखि भारतले नेपाललाई रोकेको हतियार र गोलीगट्ठा सहुलियत मूल्यमा पठाउने भएको छ । प्रधानसेनापति छत्रमान सिंह गुरुङसँगको भेटमा भारतीय विदेशसचिव निरूपमा रावले जानकारी दिएको उच्च स्रोतको दाबी छ ।
बिहीबार भारतीय विदेशसचिव निरूपमा राव र प्रधानसेनापति गुरुङबीच गोप्य भेटवार्ता भएको थियो । यो विषयमा परराष्ट्र मन्त्रालयलाई पनि जानकारी छैन ।
रावसँगको भेटपछि प्रधानसेनापति गुरुङ राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न शीतलनिवास पुगेका थिए । उनले रावको हवाला दिँदै राष्ट्रपतिको भारत भ्रमणलगत्तै भारतले हतियार र गोलीगट्ठा पठाउने बताए । १३ माघदेखि राष्ट्रपति यादवले भारत भ्रमण गर्दैछन् ।
स्रोतका अनुसार रावले शाही शासनका पालादेखि रोकिएका हतियार एवं गोलीगट्ठा पठाइदिने भन्दै प्रधानसेनापतिलाई आश्वस्त पारेकी हुन् । सेनापति र विदेशसचिवबीचको छलफलबारे दुवै पक्षले सार्वजनिक गरेको छैन । तर, सेनापति गुरुङले शीतलनिवास गएर राष्ट्रपतिलाई त्यसबारे विस्तृतमा ब्रिफिङ गरेका छन् ।
राष्ट्रपति डा. यादवको भारत भ्रमणलाई नेपालले अनौपचारिक भनेको छ । तर, भारतीय दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिमा भ्रमणलाई औपचारिक भनिएको छ । '(भारतीय विदेश-सविचसँगको भेटमा) सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले आफूले निकट भविष्यमा भारतको औपचारिक भ्रमणका क्रममा भारतीय नेतृत्वसँग भेटवार्ता गर्ने आशा व्यक्त गर्नुभयो । विदेशसचिवले भारतका राष्ट्रपतिले पठाउनुभएको शुभकामना सन्देश दिँदै भारत उहाँको न्यानो स्वागतार्थ व्यग्र प्रतीक्षारत रहेको जानकारी गराउनुभयो ।'
सैन्यस्रोतले दिएको जानकारीअनुसार भारतले दुई अर्बबराबरको सैन्यसामग्री सहुलियत मूल्यमा पठाउन लागेको छ । 'अनमिनको बहिर्गमनपछि नेपाली सेनालाई हतियार बेच्न सहज परिस्थिति निर्माण भएको छ, त्यसकारण सेनालाई हतियार दिन अब भारतका लागि असहज परिस्थिति छैन,' उच्च सरकारी स्रोतले भन्यो ।
केही दिनअघि भारतीय सेनाका पूर्वजनरल अशोक मेहताले १४ जनवरीमा द पायोनियर दैनिकमा लेखेको लेखमा माओवादीको सम्भावित जनविद्रोहलाई रोक्नका लागि सक्षम शक्तिका रूपमा नेपाली सेना मात्रै रहेकाले उसलाई बलियो बनाउनुपर्ने उल्लेख गरेका थिए । नेपाली सेनाले पनि शान्तिप्रक्रिया सुरु भएपछि भारतबाट गोलीगट्ठा नआउँदा तालिमका लागि अप्ठेरो परिरहेको गुनासो गर्दै आएको थियो ।
स्रोतका अनुसार भारतीय सेनापति विजयकुमार (भिके) सिंह यसअघि नेपाल भ्रमणमा आएका वेला भारतबाट सेनाका लागि करिब एक सयजति सानाठूला गाडी भित्रिएका छन् । नेपाली सेनाका लागि चीनबाट समेत एक अर्ब १० करोडबराबरको सैन्य सहयोगको प्रस्ताव आएको चर्चा भइरहेका वेला भारतबाट हतियार पठाउने विषयमा मौखिक सहमति भएको बुझिएको छ ।

नयाँ सरकारमा मधेसीहरूको निर्णायक भूमिका हुनुपर्छः भारत

भारतले अब बन्ने नयाँ सरकारमा मधेसवादी दलहरूको भूमिका निर्णायक हुनुपर्नेमा जोड दिएको छ । स्रोतका अनुसार नेपाल भ्रमणमा रहेकी विदेशसचिव रावले उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँगको भेटमा भारतको अडान राखेकी हुन् ।
'नेपालभित्र रहेका मधेसवादी शक्तिहरूको अब बन्ने सरकारमा निर्णायक भूमिका रहनुपर्छ,' गच्छदारसँगको भेटमा रावको भनाइ उद्धृत गर्दै स्रोतले नयाँ पत्रिकासँग भन्यो, 'मधेसवादी शक्तिहरू एक भएर अघि बढ्नु आवश्यक छ, भारत सहयोग गर्न सधैँ तयार छ ।'
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका गच्छदारले कांग्रेस, एमाले र माओवादीको नेतृत्वमा विगतमा बनेका सरकार असफल भइसकेकाले मधेसवादी दलको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा रावसँग व्यक्त गरेको उनीनिकट स्रोतले बतायो । तर, उनले कांग्रेस, मधेसवादी र अन्य प्रजातान्त्रिक शक्तिबीचको एकताबाट सरकार बन्ने सम्भावना व्यक्त गरेका थिए ।
रावसँगको भेटमा गच्छदारले सबै मधेसवादीलाई मिलाएर मधेसी गठबन्धन मजबुत पार्ने पक्षमा आफू रहेको बताउँदै त्यसमा सघाइदिन सचिव रावलाई आग्रह गरेका थिए । 'तपाईंले अन्य प्रजातान्त्रिक शक्तिलाई समेत विश्वासमा लिने प्रयास गर्नुस्,' रावले एक घन्टा भएको भेटमा भनेकी थिइन् ।
स्रोतका अनुसार गच्छदारले सकेसम्म माओवादीबिनाको सरकारको पक्षमा मधेसवादी दलहरू रहेको बताएका थिए । गच्छदारका स्वकीय सचिव यज्ञ चौधरीले सरकार निर्माण र राजनीतिक घटनाक्रमबारे भारतीय विदेशसचिवसँग कुराकानी भएको प्रतिक्रिया दिए । 'अहिलेको सरकार निर्माण प्रक्रिया, राजनीतिक र समसामयिक परिस्थितिबारे छलफल भएका हुन्,' चौधरीले नयाँ पत्रिकासँग भने ।
त्यस्तै मधेसी नेताहरूले रावलाई होटल द्वारिकामा भेटेका थिए । भेटमा माओवादीले भारतीय माओवादीलाई सीमाक्षेत्रमा तालिम दिएको बारे सचिव रावले कुरा उठाएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । 'पूर्वीमधेस तथा सीमाक्षेत्रमा भारतविरोधी गतिविधि भइरहेका छन्, नेपाली माओवादीले पनि सीमाक्षेत्रमै भारतीय माओवादीलाई तालिम दिएका थिए,' रावको भनाइ उद्धृत गर्दै महतोले भने, 'यस्ताखाले भारतविरोधी गतिविधिले राम्रो गर्दैन, दुई देशको सम्बन्धमा असर गर्छ ।'

सचिव रावले बिहीबार नै उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासँग भेटिन् । 'दुई देशबीचको सम्बन्ध, नेपाली विकास परियोजनामा भारतीय सहयोग तथा विगतमा भएका द्विपक्षीय भ्रमणहरूमा सहमति कसरी कार्यान्वयन गर्नेबारे चर्चा भयो,' मन्त्री कोइरालाले भेटपछि भनिन् । ऊर्जामन्त्री डा. प्रकाशशरण महतसँगको भेटमा जलस्रोतमन्त्रीस्तरीय बैठक छिट्टै बस्ने, ३६ सय मेगावाट विद्य्त् उत्पादन हुने पञ्चेश्वर विकास प्राधिकरणको टम्र्स अफ रिफ्रेन्स (टिओआर) तयार गर्ने विषयमा कुराकानी भएको थियो ।

'नेपालमा सरकार बन्न नसकको र जारी अस्थिरताका कारण जलस्रोतमन्त्रीस्तरीय बैठक बस्न नसकेको हो,' मन्त्री डा. महतले भेटपछि भने, 'भारतमा बस्ने भनिएको बैठकमा हामी सहभागी हुनै सकेनौँ पटकपटक बैठक सर्‍यो, अब बैठक छिट्टै बस्नेछ भन्ने कुरा राखेँ ।' मन्त्री महतले ढल्केवरमुज्फरपुर प्रसारण लाइन निर्माण, गण्डक विद्युत् आयोजनाको मर्मतसम्भार, राहुघाट जलविद्युत् आयोजनामा टर्वाइन बनाउन भारतीय सचिवसँग आर्थिक सहयोग मागिएको जानकारी दिए ।
'प्रधानमन्त्री माधवकु्मार नेपालको भारत भ्रमणमा भएका सम्झौताहरू कार्यान्वयन गर्न तथा बाँकी रहेका सहमति अघि लैजान भारत तयार छ,' रावको भ्रमणपछि काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्तिमा भनेको छ, 'नेपालमा बहुदलीय प्रजातन्त्र, समावेशीयुक्त, स्थायी शान्ति र समृद्धि होस् भन्ने पक्षमा भारत छ ।' परराष्ट्रसचिव डा. मदनकुमार भट्टराईसँगको द्विपक्षीय वार्ता गरेकी सचिव राव बिहीबार नै स्वदेश फर्किएकी छिन् ।
Source:- Nayapatrika

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...