देवीप्रसादलाइ साथ दिने हैन ?


मदिरा विवादमा आवेशमा आएर गोली चलाएका पारस शाह प्रहरीको मेजमानी सहित २ दिन प्रहरी तालीम केन्द्रमा बसेर १० हजार धरौटीमा रिहा भए । चित्त नबुझ्दा प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भन्डारीको गालामा चड्काउने पात्र करिमा वेगमलाइ न प्रहरीले पक्राउ गर्यो न उनीमाथी कुनै अभियोग नै लगायो । उनी सिडिओलाइ चड्काउंदा पनि राज्यमन्त्री थिइन र अहिलेपनि छिन् । जो होचो उसैको मुखमा घोचो भनेझै बरु कुटाइ खाने सिडिओको सरुवा भयो । आफुले भनेको मानेन भन्दै स्थानीय विकास अधिकारीलाई शौचालयमा थुन्ने मात्रिका यादवको व्यवहार कानुन विपरित भएन । तर नेताहरुको धोकापूर्ण व्यवहारवाट आजीत भएर एमाले अध्यक्ष झलनाथ खनालको गाला चड्काउने देवीप्रसाद रेग्मी सत्ता संचालकहरुका अगाडि घोर अपराधी बने । 
एमालेगणहरुवाट आएको प्रतिकृया सुन्दा यस्तो लाग्छ मुलुकको सबैभन्दा ठुलो अपराध गरेका छन् रेग्मीले । सायद फासि दिने कानुनी व्यवस्था भएको भए एमालेगणहरुले झापड हान्ने रेग्मीलाई फासिको माग गर्थे होलान । अनी पक्कै माग अनुसारकै साजय पनि सुनाउथे नेपाली प्रशासकहरुले ।

शासन र सत्ताको आडमा सार्वजनिक अपराधको अभियोग लागेका रेग्मीलाइ एकैपटक १५ दिने थुनामा राख्ने आदेश दिएर बढो बहादुरी काम गरे सुनसरीका सिडिओ रामप्रसाद थपलियाले ।
सार्वजनिक अपराध ऐन अनुसारको कसुर लागेका व्यक्तिलाइ पहिलो दिननै १५ दिन थुनामा राख्ने आदेश दिएको विरलै घटनामध्येको आदेश हो यो । सामान्यतया ३ दिनभन्दा बढी हिरासतमा राख्ने अनुमति िदंदैनथ्यो प्रशासनले । कसुर हेरेर २४ दिनसम्म थुन्न पाउने अधिकार भएपनि अधिकांश सार्वजनिक अपराधको अभियोग लागेकाहरु एक सातामा धरौटी बुझाएर रिहा हुने गरेका छन् । अनी यस्ता केसमा प्राय अधिकतम १० हजार धरौटी लिने गरेका छन् सिडिओहरुले । तर रेग्मीको हकमा भने प्रशासनले चड्कन खाने गाला कसको हो भन्ने आधारमा निर्णय गर्यो । जुन खेदजनक छ ।
सिडिओ भन्डारीको गाला र खनालको गालामा केही फरक छैन । रेग्मीले जुन कानुनको उलंघन गरेका छन् करिमाले पनि त्यही कानुन उलंघन गरेकी थिईन । रेग्मी सजायको भागिदार हुन भने करिमा किन हैन ? उत्तर छ यो सरकारसंग ? उत्तर छ यसको गृहप्रशासनसंग ?
त्यत्ति मात्र हो र प्रहरी प्रशासनपनि तातिसकेको छ । दिनदहाडै शुरक्षाकर्मीको विचमा गोली हानेर मारिएका जमिम शाह हत्याको अनुसन्धानका लागी समिति गठन गर्न हतार नहुने प्रहरीले शुक्रवारै एसएसपीको नेतृत्वमा छानवीन समिति गठन गरे खनाललाइ झापड हानेको घटनाको अनुसन्धान शुरु गरिसकेको छ ।
कति न कुनै रहस्यमय आपराधिक घटना भए झै अनुसन्धान गर्ने रे सबैसामु झापड हानेको घटनाको के अनुसन्धान गर्नुपर्यो कि झापडको एंगल हेर्न हो यति डिगि्रको कोणवाट यसरी हानिएको हो भनेर पत्ता लगाउने हो कि क्या हो रेग्मीले नै भनिसकेका छन् किन चड्कन हानेको भनेर । फेरी के पत्ता लगाउंन एसएसपीको नेतृत्वमा छानवीन समिति गठन भएको हो अचम्मै छ नाटक पनि ।
रेग्मीले गरेको काम नेपालको कानुन अनुसार दण्डनिय हो । कसैलाइ रिस उठ्यो भन्दैमा कुट्दै हिड्न पाईदैन । उलंघन गरेको कानुन अनुसारको साजय पाउनु पर्छ । तर अपराधमा पनि कुन नियतले गरेको हो त्यो हेरिन्छ नै । हत्या जस्तो जघन्य अपराधमा त योजनावद्ध हो कि आवेशपूर्ण हो विष्लेशण गरेर आवेशपूर्ण भएमा केही कानुनी छुटको व्यवस्था छ कानुनमा ।
पड्किएको गाला खनालको भएपनि रेग्मीले उनलाइ मात्र लक्षीत गरेका हैनन । खनालमार्फत सबै नेताहरुलाइ बेलैमा सुध्रन सन्देश दिएका हुन । त्यसमा थप घटना योजनावद्ध भन्दा पनि आवेशपूर्ण देखिन्छ । तैपनि राज्यले रेग्मीलाइ ठुलै अपराधी झै व्यवहार गरिरहेको छ ।
हातमा तराजु बोकेर बसेको मुर्तीको आंखामा पट्टी बाध्नुको अर्थ हो कानुनले व्यक्ति चिन्दैन चिन्छ त केवल अपराध मात्र । अपराध गर्ने करोडपति हो कि रोडपती किसान हो की मन्त्री त्यसको आधारमा सजायको व्यवस्था हुन्न कानुननमा । कानुनको आर्दशनै अपराध अनुसारको समान दण्ड नै हो । नेपालमा घटेका घटना र अभियुक्तले पाएका सजायहरुको विवरण अनी प्रशासनले रेग्मीमाथी गरेको व्यवहार हेर्दा भने न्यायको व्यवस्था व्यक्ति अनुसार हुनेरहेछ भन्ने पुष्टी भयो ।
दृष्य प्रष्ट छ पड्किने गाला यो मुलुकको कुनै दलको अध्यक्षको भएकैले एक किसानमाथी राज्यले कडा व्यवहार गरिरहेको छ । त्यसको विरोध गर्नु तपाई हाम्रो कर्तब्य हैन र ?

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...