बूढो बीर अस्पतालको व्यथा/डाक्टर कुर्दै घन्टौं


आगोले पोलेर उपचारका लागि वीर अस्पताल पुगेका रुपेन्देहीका रूपेन्द्र चौरसियाले ६ घन्टापछि मात्र उपचार पाए । अस्पतालका निर्देशकलाई भनेर उपचार गर्नुपर्‍यो । उनले भने, 'डाक्टर खोज्दाखोज्दै पाँच घन्टा बित्यो, महानिर्देशकलाई भनेपछि बल्ल भेटिए ।'
रूपेन्द्र अस्पताल परिसरमा आफ्ना साथीसँग डाक्टर खोज्दाको हैरानी सुनाउँदै यस्तो सास्ती कसैले भोग्न नपरोस् भन्दै थिए । मुलुककै  सबैभन्दा पुरानो अस्पतालमा बिरामीले हैरानी बेहोर्नुपरेकोमा उनी साह्रै चिन्तित थिए । 'कहाँ जान्छन् यहाँका डाक्टर ?, समयमा कोही पनि भेटिंदैनन्,' उनले भने । नुवाकोटका हीरादत्त रिमाल पनि बिहान ९ बजेदेखि आफन्तको उपचारका लागि न्युरो कक्षमा डाक्टरको प्रतीक्षामा थिए ।
साढे दससम्म डाक्टर न्युरो कक्षमा उपस्थित नभएपछि उनी आक्रोशित भएर 'टाइम किपर' सँग झोक्किंदै थिए । 'टाइम किपर' डाक्टरहरूको बचाउ गर्दै शल्यक्रिया कक्षतिर 'राउन्डिङ' मा गएको बताउँदै थिए । 'हामीलाई पनि के थाहा कसैले सोध्यो भने डाक्टर राउन्डिङमा गएका छन् भनेर भनिदिनु' डाक्टरको भनाईलाई उद्धृत गर्दै उनले भने, 'के थाहा कहाँ जान्छन्, के गर्छन् ? हामीले आफ्नो ड्युटी गरेकै छौं ।' अस्पतालको प्रत्येक युनिटको एउटा सिफ्टमा तीनदेखि सात जना डाक्टर हुन्छन् तर उपस्थित हुने समय बिहान नौ बजेदेखि भए पनि साढे दस बजेसम्म अस्पतालको उपचार कक्षमा चिकित्सक नभेटिने रिमालले दाबी गरे ।
वीर अस्तालमा डाक्टरहरू नामका लागि मात्र आउने भन्दै रिमालले अस्पतालमा दलालहरूको वर्चस्व भएको आरोप लगाए । 'अस्पतालको सुधार, डाक्टरहरूको टाइम टेबुलबारेमा कसलाई के मतलव ?' उनले भने, 'सबै डाक्टर बाहिर पैसा कमाउन जान्छन्, यहाँ कसले ध्यान दिन्छ ?, यो गरिबको उपचार गर्ने अस्पताल हो, गरिब पक्षमा कसले बोल्छ ?
ग्यास्ट्रिकको उपचारका लागि आएका कीर्तिपुरका ६५ वर्षिय रामप्रसाद रिमालले डाक्टरको पर्खाइमा दुई घन्टा पर्खनुपरेको बताए । 'म बूढोले इन्डोस्कोपीका लागि दुई घन्टा कुरें,  के गर्ने ? डाक्टर नै समयमा आउँदैनन्' उनले भने, 'यहाँ आउने बिरामी भगवान्को भरोसाले मात्र बाँच्ने हो, डाक्टरको लापरबाही देखिहाल्नु भयो ।'
नसा रोग उपचारका लागि कैलालीबाट काठमाडौं आएका तपराज जोशी पनि डाक्टरलाई दुई घन्टा पर्खनुपरेको गुनासो गरे । 'प्रत्येक युनिटमा करिब ७ जना डाक्टर छन्, भन्छन्, दुई घन्टासम्म एक जना पनि देखिंदैनन्,' उनले भने । मुलुकको सबैभन्दा पुरानो र सुविधासम्पन्न अस्पतालमा डाक्टरको यस्तो लापरबाही होला भनेर आफूले नसोचेको उनले बताए । 'मैले त वीर अस्पतालका डाक्टरहरूले यस्तो लापरबाही गर्लान् भनेर सोचेको पनि थिइनँ ।'
डाक्टर कति बेला आउँछन् भनेर बिरामीहरू टाइम किपरहरूलाई हैरानी गरिरहेका थिए । जुन कक्षको टाइम किपरलाई सोधे पनि डाक्टरहरू राउन्डिङमा गएको बाहेका अन्य जवाफ केही पनि थिएन । राउन्डिङ भनेको के हो भनेर बिरामीहरूले प्रस्ट्याउन खोज्दा टाइम किपर आफूलाई पनि थाहा नभएको भन्दै उनले हाँसेर जवाफ दिए, 'रिङरोड, उपत्यका अस्पताल, निजी क्लिनिक जता पनि हुनसक्छ, आफै अर्थ लगाउनुस् ।'
अस्पतालका उपसचिव अर्जुन गौतमले प्रत्येक युनिटमा एक सिफ्टमा कति जना डाक्टर हुन्छन् भनेर आफूलाई थाहा नभएको भन्दै निर्देशकलाई सोध्नुपर्ने बताए । 'मलाई यसबारे थाहा छैन, यो सबै कुरा निर्देशकज्यूलाई थाहा छ, कुन सिफ्टमा कति, कुन डाक्टर हुन्छन् भन्ने कुरा निर्देशकको टेबुलमा हुन्छ,' उनले भने ।
निर्देशक डा. बुलन्द थापाले आफूले राम्रो गर्दागर्दै पनि विभिन्न कोणबाट आफ्नो बदनाम गर्नेहरू पछाडि लागेको भन्दै अस्पताल, बिरामी र कर्मचारीको हितका लागि आफू पछि नपर्ने दाबी गरे । म सधै अस्पताल, बिरामी, चिकित्सक र कर्मचारीको हितमा लागेको छु, तपाईंहरु  पनि विचार गर्नुहोस् तर कसले के भन्छ मलाई मतलव छैन,' उनले भने ।
Source:- ekantipur 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...