सहिद सबैका साझा


सहिद को हुन् ? सहिद तिनै हुन् जसले निजी कुराबाट माथि उठेर देशदुनियाँका लागि जीवनको बाजी थापे । जसले अरूका लागि आफूलाई गुमाए, सहिद तिनै महापुरुषहरू हुन् । त्यसैले कवि ईश्वर बल्लभले सहिदका बारेमा लेखेका छन्, 'जसले आफूलाई समाप्त गरेर अरूलाई प्रारम्भ गरेका छन् ।' वास्तवमा हामीले टेकेको यो खुला धरती, हिँडेको बाटो, राजनीतिक मार्ग र वर्तमान तिनै महापुरुषहरूको बलिदानबाट प्राप्त भएको हो । मानव इतिहास भनेकै क्रान्ति, संघर्ष, बलिदान र उत्सर्गको एउटा अथाह सागर हो । मानव जातिको उन्नति र स्वतन्त्रता प्राप्तिका लागि यस धरतीमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने थुप्रै वीरवीराङ्गनाहरू छन् । तिनीहरू जसले मातृभूमिको प्रगति र स्वतन्त्रता तथा समानताका लागि हाँसीहाँसी वैरीसामु टाउको नझुकाई आफ्नो जीवनको बलिदान गरे त्यस्ता वीरवीराङ्गनाहरू यथार्थमा देशका अमूल्य र साझा निधि हुन् ।
गरिमामय सहिद शब्दको पर्याय नै आस्था, विश्वास, त्याग र बलिदान हो । चाहे उपनिवेशवादी बि्रटिस सेनाविरुद्ध राष्ट्रको स्वाधीनता र अखण्डताको रक्षार्थ लडेर वीर गति प्राप्त गर्ने भक्ति थापा हुन्, चाहे १०४ वर्षीय जहानियाँ राणाशासनविरुद्ध प्रजातन्त्र प्राप्तिको लडाइँमा अमरत्व प्राप्त गर्ने वीर सपूत दशरथ चन्द, गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्री हुन् । पञ्चायती निरकुंशताविरुद्ध छेडिएका विभिन्न जनसंघर्षका क्रममा वीर गति प्राप्त गर्नेर् रत्नकुमार बान्तवा, ऋषि देवकोटा, क्या. यज्ञबहादुर थापा, दुर्गानन्द झा, सरोज कोइराला किन नहुन्, यी सबै महापुरुष हुन् ।
मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्न र सामन्तवादको पृष्ठपोषक राजतन्त्रको उन्मूलन गर्ने जनयुद्ध वा २०६२/६३ को जनआन्दोलनमा आफूलाई बलिवेदीमा होमेर उत्सर्ग गर्नेहरू गोरखाका वासुदेव वाग्ले हुन् वा मकवानपुरका रुद्र पाखि्रन, वासुदेव घिमिरे, सिन्धुलीका शेरमान कुँवर, नेपालगन्जकी सेतु विक, दाङका गोविन्दनाथ शर्मा, दीपक कामीलगायत सहिदहरू नेपाल र नेपालीका लागि आस्थाका पुञ्ज र प्रेरणाका स्रोत हुन्, राष्ट्र निर्माणका मार्गदर्शक स्रष्टा हुन् । सहिद स्वयंमा एउटा जीवन्त इतिहास हो ।
वर्तमानमा उभिएर विगतका विभिन्न कालखण्डका सहिदहरूको सम्मान गर्दै तिनको पदचापलाई पछ्याउँदै अगाडि बढ्नु सबैको जिम्मेवारी हो । सहिदहरूको सम्मान गर्नु भनेको उनीहरूको प्रेरणालाई आत्मसात् गर्नु हो । उनीहरूले देखाएको मार्गको अवलम्बन गरी सपनालाई मूर्तरूप दिनु हो र यो नै उनीहरूप्रतिको सच्चा सम्मान हो । सहिदहरूको सम्मान गर्ने  नाममा उनीहरूको त्याग, तपस्या, बलिदान र असीमित व्यक्तित्वलाई वैचारिक दायरामा मात्र सीमित राख्नु उनीहरूप्रतिको अपमान हो । जुनसुकै कालखण्डमा होस् अँध्यारोविरुद्ध उज्यालाका पक्षमा लड्ने क्रममा जीवन उत्सर्ग गर्नेहरू सबै सहिद हुन्, उनीहरू मुलुकका सम्पत्ति हुन् ।
सहिद व्यक्ति वा समूहगत सम्पत्ति नभएकाले उनीहरूको सम्मान दलगत वा समूहगत स्वार्थ भन्दा माथि उठेर गर्नुपर्छ । सहिदहरू कुनै दल र समूहको विचारसँग आबद्ध हुन सक्छन् तर जीवनको आहुति भने उनीहरूले देश र जनताका निम्ति दिएका हुन्छन् । जीवित हुँदा उनीहरू कुनै दल र समूहको घेरामा रहेका हुन सक्छन् तर जीवन बलिदान गर्दा आकाशजस्तो फराकिलो भएर जनताका निम्ति बलिदान गर्नेहरूको घोर अपमान गर्नु हो । त्यसैले विचार र दलका आधारमा सहिदहरूलाई विभक्त गर्नु हुँदैन । त्यसो गर्नु भनेको उनीहरूको घोर अपमान गर्नु हो । सहिद मुलुकका साझा सम्पत्ति हुन् । उनीहरू समाजलाई सदियौंंसम्म उज्यालो दिइरहने 'चार्ज' गर्न नपर्ने 'इन्भर्टर' हुन् । सहिद दिवसले सबैमा उनीहरू प्रेरणाका स्रोत हुन् भन्ने चेत पलाउनुपर्छ तर अहिले सहिदलाई 'सहिद' बनाउने काम भएको छ । सहिदका बलिदानबाट सत्तामा पुगेकाहरूले उनीहरूलाई होच्याउने काम मात्र गरेका छैनन्, उनीहरूलाई 'सहिद' बनाएका छन् । सहिदलाई अहिले कुखुराको प्वाँखजस्तै हलुंगो बनाइएको छ । सहिदको सम्मान र आदर गर्न नजान्नेहरूले मुलुकको जिम्मेवारी पनि वहन गर्न सक्दैनन् । वर्तमानलाई यहाँसम्म ल्याउन आफ्नो ज्यान उत्सर्ग गर्ने  विभिन्न कालखण्डका सहिदहरूप्रति सहिद दिवसका अवसरमा श्रद्धासुमन ।
sms प्रतिक्रियाका लागि kab<स्पेस> प्रतिक्रिया-8080
Source:- eKantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...