एक सातापछि सुरु हुन लागेको क्यान इन्फोटेकमा ब्रोडलिंक कम्युनिकेसनले विद्यार्थीलाई लक्ष्य गरेर वाइफाई इन्टरनेटमा विशेष छुट ल्याउने तयारी गरेको छ। ब्रोडलिंकले अहिलेको भन्दा सहुलियतपूर्ण प्याकेजमा विद्यार्थीलाई छुट सुविधा दिने तयारी गरिरहेको छ।'हामीले विद्यार्थीलाई निकै आकर्षक प्याकेजमा इन्टरनेट सुविधा दिने तयारी गरिरहेका छौं,' ब्रोडलिंकका प्रमुख कार्यकारी अधिकृत विनोद तिमल्सिनाले भने।
ब्रोडलिंक यसपटक क्यान इन्फोटेकको टाइटल प्रायोजक हो। नेपालमा इन्टरनेटको प्रयोग गर्ने सबैभन्दा ठूलो वर्ग विद्यार्थी भएको र उनीहरुलाई शैक्षिक प्रयोजनको लागि समेत सेवा आवश्यक पर्छ। क्यान इन्फोटेकको समयमा विद्यार्थीलाई उनीहरुको परिचयपत्रको आधारमा अहिलेभन्दा छुटमा वाइफाई इन्टरनेट र डोंगलसमेत बिक्री गर्ने तयारी यो कम्पनीले गरिरहेको छ।
ब्रोडलिंक वाइफाईबाट व्यावसायिक रुपमा इन्टरनेट सेवा सुरु गर्ने पहिलो कम्पनी हो। यसले अहिले काठमाडौं उपत्यका, बनेपा, बुटवल, नारायणगढ, पोखरा र हेटौंडामा इन्टरनेट सुरु गरिसकेको छ। नेपाल भ्रमण वर्षमा यहाँ आउने पर्यटकलाई सुविधा दिने गरी यो कम्पनीले सबै प्रमुख पर्यटकीय स्थललाई वाइफाई सेवायुक्त बनाउने भएको छ।
सन् २०११ भित्रै धुलिखेल, पाल्पा, भैरहवा, बेसीसहर, गोर्खा, दमौली, बन्दीपुर, टाँडी र सौराहामा वाइफाई सुरु गर्ने तयारी ब्रोडलिंकले गरिसकेको छ। 'हामी लुम्बिनीमा पनि सुरु गर्ने तयारीमा छौं, तर घर पाउन सकेका छैनौं,' उनले भने।
नेपाललाई सिंगापुर जस्तै सुविधासम्पन्न बनाउने भनेर नेताहरुले वाचा गरेका छन्। तर तिमल्सिना सूचना प्रविधिको क्षेत्रमा नेपाललाई सिंगापुर सरह बनाउन अहिले सक्रिय छन्। उनी लामो समयसम्म सिंगापुर र अस्ट्रेलियामा बसेर सूचना प्रविधिको क्षेत्रमा काम गरेर नेपाल फर्किएका हुन्।
नयाँ प्रविधिले गर्दा निजी इन्टरनेट सेवा प्रदायकहरुको बजार दूरसञ्चार कम्पनी लिइरहेका छन्। यस्तो अवस्थामा दूरसञ्चार कम्पनीहरु इन्टरनेट सेवा प्रदायकका लागि चुनौती बनेका छन्। 'मेरो प्रतिस्पर्धी अब आइएसपीहरु होइनन्, दूरसञ्चार कम्पनीहरु हुन्,' उनी भन्छन्।
नेपाल टेलिकमले एडिएसएल सुरु गरेपछि आइएसपीहरुको बजार हिस्सा घटेको छ। चार महिना अघि एनसेलले थि्रजी ब्रोडब्यान्ड सुरु गरेपछि आइएसपीहरुको बजारलाई खुम्च्याएको छ। इन्टरनेटको बजारमा बलियो उपस्थिति बनाउन ब्रोडलिंकले वाइफाई इन्टरनेट प्रभावकारी रुपमा टिप्ने नयाँ डिभाइससमेत क्यान इन्फोटेकको अवसरमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। नेपालको भौगोलिक वातावरण अनुसारको यो डिभाइसलाई दुई हजार रुपैयाँमा कम्पनीले बिक्री गर्दैछ। ब्रोडलिंकको वाइफाई इन्टरनेट ल्यापटपबाट युजर आइडी र पासवर्डबाट चलाउन सकिन्छ। युजर आइडी र पासवर्ड लिन ग्राहकले ब्यान्डविथ अनुसारको महसुल तिर्नुपर्छ।
ब्रोडलिंकको सबैभन्दा सस्तो वाइफाई इन्टरनेटलाई करसहित महिनाको एक हजार १७ रुपैयाँ तिर्नुपर्छ। यसबाट ग्राहकले १२८ केबिपिएसको वाइफाई इन्टरनेट पाउँछन्। काठमाडौंको घरका बनोटले गर्दा राम्रोसँग सिग्नल नटिपेको गुनासो बढेपछि विदेशबाटै प्राविधिक ल्याएर यहाँको आवश्यकता अनुसारको डोंगल ब्रोडलिंकले ल्याउन लागेको हो। यो डोंगललाई क्यान इन्फोटेकमा बिक्री सुरु गर्ने तयारी कम्पनीले गर्दैछ।
वाइफाई इन्टरनेट सुरु गरेको दुई महिनामा ब्रोडलिंकले चार हजार ग्राहक बनाइसकेको छ। क्यान इन्फोटेकसम्म १० हजार ग्राहक बनाउने लक्ष्य कम्पनीले लिएको छ। यो लक्ष्यलाई पूरा गर्न विद्यार्थी स्किम र कमजोर सिग्नल भएको ठाउँमा पनि राम्रोसँग इन्टरनेट चलाउन सकिने डोंगलको बिक्री बढाउने कार्यक्रम ब्रोडलिंकले अघि सारेको छ।
ब्रोडलिंकले तोकिएकै ब्यान्डविथमा इन्टरनेट दिने घोषणा गरेको छ। अरु आइएसपीहरुले जस्तो सेयरिङ नगरी 'डेडिकेटेड' ब्यान्डविथमा इन्टरनेट दिने तिमल्सिनाले बताए। उनले पछिसम्म पनि डेडिकेटेड ब्यान्डविथ नै ग्राहकलाई दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यो कम्पनीले विदेशी कम्पनीसँग १५० एमबिपिएसको ब्यान्डविथ लिएको छ।
Source:- nagariknews


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...