झापड !

क सैलाई कुट्नु-पिट्नु अपराध हो । सार्वजनिक ठाउँमा हात छोड्नु त जघन्य अपराधै हो । अझ देश हाँक्ने पदमा बसेका व्यक्तिलाई थप्पड हान्नु महाअपराध हो, महापापै हो । कुटेर समस्या समाधान हुँदैन । झापड हान्नु भनेको उद्दण्डता, अराजकता, कानुनहीनता मात्र होइन, विवेकहीनता पनि हो । तर पनि बेला-बेला किन चल्छन् मान्छेका हात ?
---
दलको कार्यक्रममा इटहरी पुगेका विचरा झलनाथ खनालले बेकारमा झापड खानुपर्‍यो । सार्वजनिक कार्यक्रममै उनका गालामा चड्कन दिने देवीप्रसाद रेग्मी प्रहरी हिरासतमा छन् । साराले देखेको र उनैले बकेको बक्यै गरेको घटना छानबिन गर्न सरकारले एसएसपीको संयोजकत्वमा आयोग बनाएको छ । एमालेले जिल्ला उपसचिवको नेतृत्वमा छुट्टै समिति तयार गरेको छ । सार्वजनिक अपराधको मुद्दा दर्ता गर्न प्रमुख जिल्ला अधिकारीले अदालतबाट १५ दिनको म्याद पाएका छन् ।
अपराध गर्नेलाई कारबाही गर्नुपर्छ । उन्मुक्ति दिनु भनेको अर्को अपराधीलाई प्रोत्साहन गर्नु हो । देवीप्रसादलाई कारबाही गर्न गाह्रो पनि छैन किनभने उनको अपराध छर्लङै देखिएको छ । उनले 'होइन' भनेका पनि छैनन् । त्यति जाबो कामका लागि दुई-दुई आयोग र १५-१५ दिनको म्यादचाहिँ किन चाहियो कुन्नि ? 
तैपनि नागरिक समुदायलाई एउटा प्रश्न सोध्न चाहन्छु- मानौं झलनाथले देवीप्रसादलाई कुटेको भए उनलाई कारबाही गर्न राज्यशक्ति यति दह्रो गरी लाग्थ्यो होला ? उनलाई प्रहरीले पक्रेर अदालतसम्म पुर्‍याउन सक्थ्यो होला ? पुराना घटना हेर्दा, अहँ, पत्यार लाग्दैन ।
राम्रो गाडी नदिएको झ्वाँकमा राज्यमन्त्री करिमा बेगमले सीडीओ कुटिन् । सुन्निएको गालो देखाउँदै सीडीओ दुर्गाप्रसाद भण्डारी गुहार मागेर  हिँडे । उनको कुरो न सरकारले सुन्यो, न त कानुनकै नजरमा पर्‍यो । उल्टै सरुवा गरेर थन्क्याइयो । करिमा झन् डुक्रिँदै राजधानी आइपुगिन् । खोई, उनलाई केही भएन त ! के सार्वजनिक अपराधको मुद्दा लगाउने कानुनी प्रावधान उनका लागि चाहिँ च्यातिएको थियो ?
वास्तवमा भन्ने हो भने हाम्रो देशको कानुन एउटा लङ्गौटी हो जसले सीधा हेरे नाङ्गो ढाक्छ, दायाँ-बायाँबाट चियाए छर्लङ्ग देखिन्छ । यो त कसैका आँखामा छारो हाल्न, कसैका बङ्गारा झार्न बनाइएको औजार मात्र हो । 'सानालाई ऐन, ठूलालाई चैन' त्यसै भनिएको होइन यहाँ !
अर्थमन्त्रीले बजेट पेस गर्न खोज्दा कानुन बनाउने सभासद्हरूले नै संसद्मा हातपात गरे । बजेटको बि्रफकेस फुटाए । त्यस्तालाई कारबाही गर्ने कानुनै हुँदो रहेनछ । संसद् नियमावलीअनुसार सभामुखले कारबाही गर्न त सक्छन् रे । तर, आँखैअगाडि भएको घटनामा उनलाई पनि प्रमाण पुगेनछ । कति सजिलो उन्मुक्ति ? कति गतिलो विभेद ? आखिर कानुन बनाउने र पालना गर्ने दुवै यही देशका नागरिक होइनन् र ? कानुन बनाउन उनीहरूलाई जनताले नै त्यहाँ पुर्‍याएका होइनन् र ? कि उनीहरू चाहिँ अर्कै लोकबाट आएका दैवीशक्ति हुन् ? एउटा नागरिकले संसद्मा पसेर त्यत्रो उद्दण्डता मच्चाओस् त, त्यसलाई समातेर तिनै नेताले प्रहरीलाई छाला काढ्न लाउँछन् ।
ललितपुरका स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई तत्कालीन वनमन्त्री मातृका यादवले बोलाएर ४५ मिनेट शौचालयमा थुने । यादवले भोलिपल्टै पत्रकार सम्मेलन गरी उल्टै 'यस्तै हो भने अरूलाई पनि थुनिदिन्छु' भन्ने धम्की दिए । कानुन हातमा लिने मन्त्रीलाई केही भएन, कर्मचारीको सरुवा भयो ।
कति सभासद्ले मान्छे कुटेका समाचार आउँछन् । कतिका छोराछोरी फुर्ती लाएर ट्राफिक-प्रहरीलाई धम्क्याउँदै हिँड्छन् । झन्डा हल्लाउँदै रेस्टुरेन्ट छिरेका मन्त्री पैसा नतिरी कुलेलम ठोक्छन् । यो देशमा ठूलाले जे गरे पनि केही हुँदैन । त्यसैले होला जनतामा नेतादेखि वितृष्णा पैदा भएको ! यही देशमा बसेर यहीँ राजनीति गर्ने नेताले त जनतालाई खुसी पो पार्न सक्नुपर्छ । देश यस्तो होस्- जहाँ नेतालाई देख्दा जनता फूलमाला लिएर स्वागत गर्न स्वतःस्फूर्त तम्सिऊन् । यहाँ त इँटा र ढुंगा गोजीमा बोकेर जान थालिसके । नेताज्यूहरू, सोच्नुपर्ने तपाईंहरूले नै हो ।
त्यसो त बाहिर पनि बेला-बेला नेता कुटिन्छन् । इराकमा अमेरिकी तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसलाई र भारतमा मन्त्री पी चिदम्बरम्लाई जुत्ता हानियो । हाम्रो देशमा गोल्छे सार्कीले रामचन्द्र पौडेललाई संसद्मै चड्कन हाने । माओवादी कार्यकर्ताले सोलुखुम्बुमा भारतीय राजदूतलाई जुत्ता प्रहार गरे । आखिर सिकाउने राजनीतिका खेलाडी नै हुन् । उनीहरूका जेजस्ता अपराध र बदमासी पनि सुनपानीले चोख्याइन्छ । अन्तिममा फस्छन् उनीहरूबाट सिकेका जनता !
---
झलनाथ पिटिएपछि कान्तिपुरले एसएमएसबाट जवाफ माग्दै पाठकलाई सोध्यो- 'नेतामाथि हात छोड्नुलाई के भन्नुहुन्छ ? ९१ प्रतिशतले भने- 'स्वाभाविक आक्रोश ।' 'पूर्वाग्रह प्रेरित' का पक्षमा ५ र 'व्यक्तिगत सनक' ठान्ने ४ प्रतिशत पाइए । यात्रा गर्दा बसमा, चिया खाँदा पसलमा, हिँड्दा सडकमा, पधेँरामा, मेलामा, हाट-बजारमा अनि अफिस-अफिसमा सबैको गफको विषय बने झलनाथ । जहाँ जसको मुखबाट पनि एउटै कुरा सुनियो- 'ठीकै भयो, नेतालाई कुट्नै पर्छ ।' नेतालाई कुट्दा जनता किन खुसी हुन्छन् अचेल ? नेताप्रति जनता किन निर्दयी हुँदै गए
अचेल ? नेताको दुःख पीडामा हर्ष बढाइँ गर्ने दिन किन आयो अचेल ? देश किन दण्डहीन बन्दै गयो अचेल ?
---
यस्तो हुनु राम्रो होइन । म फेरि भन्छु- कुट्नु अपराध हो । झापड हान्नेलाई कानुनी कारबाही गर्नुपर्छ । तर, सबैको कुटाइको दुखाइ बराबर हुन्छ, कारबाही पनि बराबरै हुनुपर्छ । जनताले कुटे सार्वजनिक अपराध लाग्ने, नेताले कुट्दाचाहिँ कुनै अपराध नलाग्ने हुनुहुँदैन । कानुन देवीप्रसादहरूका लागि मात्र पनि त होइन नि !
कान्तिपुर दैनिकका अखण्ड भण्डारीको लेख ईकान्तिपुरबाट 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...