भन्सार तिर्न ११ करोड नहुँदा प्राधिकरणका पुर्जा विमानस्थलमै अलपत्र


सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ११ करोड रुपैयाँ भन्सार तिर्न नसक्दा मल्टिफ्युल पावर प्लान्ट मर्मत गर्न आयात गरिएका पार्टपुर्जा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्र परेका छन् । फिनल्यान्डबाट आयात गरिएका स्पेयर पार्टस् तीन सातादेखि विमानस्थलमा रोकिएका छन् ।
मुलुकले दैनिक १४ घण्टा लोडसेडिङ भोग्नु परिरहेका बेला मल्टिफ्युल प्लान्ट सञ्चालनमा आए पूर्वी क्षेत्रमा बिजुली आपूर्ति केही सहज हुने थियो ।
विराटनगरस्थित ३९ मेगावाट जडित क्षमताको मल्टिफ्युल पावर प्लान्ट मर्मतका लागि विमानस्थल आइपुगेका सामानको भन्सार तिर्ने रकम प्राधिकरणले तीन सातादेखि जुटाउन सकेको छैन । पुर्जा अड्किएपछि यो प्लान्टको मर्मत कार्य प्रभावित भएको छ ।
भन्सार शुल्क तिर्न रकम नभएपछि स्पेयर पार्टस् छुटाउन नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक डा. जीवेन्द्र झाले स्वीकार गरे । “प्राधिकरणसँग रकम नभएपछि स्पेयर्स पार्टस् छुटाउन अनुरोध गर्दा अर्थमन्त्रालयले नमानेकाले यो समस्या आएको हो,” उनले भने ।
स्पेयर पार्टस् आयातमा भन्सार सहुलियत दिन अर्थ सकारात्मक भए पनि अहिले नमानेको उनले बताए । प्राधिकरणलाई आर्थिक संकट परेका बेला सरकारले सहयोग नगरेको झाको गुनासो छ । प्राधिकरणको सञ्चालकमा अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि बाँस्कोटा पनि छन् ।
“भन्सार शुल्क तिरेर स्पेयर पार्टस् छुटाउन नसकेका बेला मर्मतका लागि थप रकम जुटाउन झनै समस्या परेको छ,” उनले भने, “पावर प्लान्ट मर्मतलाई ५५ करोड रुपैयाँ लाग्छ, यो रकम कहाँबाट जुटाउने हो, निश्चित छैन ।”
अहिले प्राधिकरणले सामान छुटाउन पहल गरिरहेको पनि उनले बताए । सामान विश्व बैंकसँग सहुलियतपूर्ण ऋण लिएर फिनल्यान्डबाट किन्ने र सोको भन्सार प्राधिकरणले तिर्ने सहमति भएको थियो ।
पूर्वमा बिजुलीको माग सम्बोधन गर्न फिनल्यान्ड सरकारको अनुदान तथा अन्य दाताको ऋण सहयोगमा विसं २०४७ मा यसको स्थापना गरिएको हो । प्लान्ट पुरानो भइ पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि प्राधिकरण तथा निर्माता कम्पनी वार्सिलाबीच गत वर्ष अप्रिलमा यसको मर्मत गर्ने सहमति भएको थियो । प्लान्टको जडित क्षमता ३९ मेगावाट भए पनि मर्मतपछि यसले ३६ मेगावाटमात्र विद्युत् उत्पादन गर्ने वार्सिलाले जानकारी गराएको झाले बताए । यो प्लान्टले अहिले १० देखि १२ मेगावाटमात्र बिजुली उत्पादन गरिरहेको छ । प्राधिकरणले आगामी डेढ महिनामा प्लान्ट पूरा क्षमतामा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
प्लान्ट पुरानो भएकाले पनि यसको उत्पादन क्षमता घटेको झाले जानकारी दिए । उनका अनुसार गत वर्ष यो प्लान्टबाट ५ सय ७५ गिगावाट घण्टा बिजुली उत्पादन भएको थियो ।
यो प्लान्ट १६ हजार घण्टाभन्दा बढी समय सञ्चालन भइसकेको प्राधिकरणले जनाएको छ । १६ हजार घण्टा सञ्चालन भएपछि यसको नियमित मर्मतका साथै स्पेयर्स पार्टस् फेर्नुपर्ने हुन्छ । प्लान्टको १ नम्बर युनिट रबर कपलिङ फेल भएपछि विगत केही वर्षयता बन्द छ । प्लान्टका अन्य युनिट पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपाल आयल निगमले पर्याप्त मात्रामा फर्नेस आयल आपूर्ति गर्न नसकेकाले पनि प्लान्ट सञ्चालनमा समस्या हुँदै आएको छ ।
Via Source:- Karobar Daily

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...