देवेन्द्र भट्टराई
फाल्गुन २९ - जापानको भूकम्प तथा सुनामीमा १२ नेपाली सम्पर्कविहीन भएका छन् । बढी प्रभावित मियागी र सेन्डाई क्षेत्रबाट शनिबार अपराह्नदेखि सम्पर्कमा नरहेका उनीहरूबारे टोकियोस्थित नेपाली दूतावासमा जानकारी गराइए पनि विदेश मन्त्रालयबाट ती बेपत्ताको स्थिति स्पष्ट नपारिन्जेल दूतावासले केही बताउन चाहेको छैन ।
'मियागीमा रहेको मेरा आफन्तको यती रेस्टुरेन्टका तुलाचन दम्पती सम्पर्कहीन बन्नुभएको छ, स्थानीय नेपाली जनसम्पर्क समितिले दिएको जानकारीअनुसार अरू नाम पनि संकलन गरेका छौं,' टोकियोमा रहेका नेपाल-जापान अनलाइन पत्रिकाका सम्पादक शरद शेरचनले फोनमा भने । बिजुली, पानी, टेलिफोनसहितका सम्पर्कहरूबाट विच्छेद रहेका कारण पनि बेपत्ताको स्थिति थाहा हुन नसकिरहेको हुन सक्ने उनले बताए ।
शेरचनका अनुसार सेन्डाईस्थित एक इन्डियन रेस्टुरेन्टमा काम गर्ने चूडामणि सापकोटा, सेन्डाईमै कार्यरत बाबु सापकोटा, माया गुरुङ, मियागीस्थित यती रेस्टुरेन्टका सञ्चालक श्रवण तुलाचन र मीना तुलाचनलगायत सम्पर्कबाहिर छन् । सम्पर्कविहीन नेपालीबारे दूतावास जानकार रहे पनि यकिनसाथ केही भन्न नसकिने टोकियोस्थित दूतावासका उपनियोग प्रमुख दुर्गाबहादुर सुवेदीले बताए ।'आएका नामको स्थिति प्रमाणीकरण गर्न हामी आइतबार विदेश मन्त्रालयको विशेष आपतकालीन सूचना शाखामा जानेछौं,' उनले भने ।
मियागीको केसानु भन्ने स्थानमा सञ्चालित रेस्टुरेन्ट यती सुनामीको बहावमा परेको हुनसक्ने बताइएको छ । यस्तै, फुकुसिमास्थित साइनो नेपाली रेस्टुरेन्ट पनि सुनामीको छालले बगाएको छ भने यहाँ कुनै मानवीय क्षति नभएको खबर दूतावासलाई गराइएको छ ।
नेपालीको स्थिति पहिचान गर्न भूकम्प तथा सुनामी प्रभावित पीडित नेपाली सहयोग समितिसमेत गठन गरिएको छ । टोकियोस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुवेदीको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष लालबहादुर केसी छन् । समिति सदस्यहरूमा भूषण घिमिरे, गोविन्द श्रेष्ठ, अरुणकुमार श्रेष्ठ, किरणविक्रम थापा, राजन प्रधानांग, भवन भट्ट, सरोज कँडेललगायत छन् ।
'भूकम्प र सुनामीमा सबैभन्दा बढी प्रभावित फुकुसिमा र सेन्डाईमा केही नेपाली विद्यार्थी, होटल व्यवसायी र भर्खरै गएका प्रशिक्षार्थी कामदारसमेत केही कृषि फार्ममा रहेको थाहा भएको छ,' सुवेदीले फोनमा भने, 'उनीहरू खुला चौरमा सुरक्षित बसेका छन्, जापान सरकारले खाद्यान्न र राहत उपलब्ध गराएको छ ।' समाचारमा आएजस्तो नेपाली धेरै रहेको नागोया र ओसाका सहर भने असुरक्षित नरहेको उनले बताए ।
एनआरएनका उपाध्यक्ष एवं विद्यार्थी प्रतिनिधि भूषण घिमिरेका अनुसार जापानमा रहेका एक लाख अमेरिकी सेना पनि अहिले पीडितको राहत तथा उद्धारमा जुटेका छन् । 'सेन्डाई सहरमा रहेका भाषा पढ्ने विद्यार्थीमध्ये केही सम्पर्कमा आएका छैनन् तर यसो भन्दैमा बेपत्ता भएको भन्न मिल्दैन । एक दिनदेखि बिजुलीसमेत नरहेको सहरमा मोबाइल चार्ज गर्न नपाएको अवस्था छ,' घिमिरेले भने । पछिल्लो तथ्यांकअनुसार जापानमा २० हजारजति नेपाली छन् । राजधानी टोकियोमा ५ रेक्टरको मात्रै भुइँचालो आएकाले युवाते, मियागी, फुकुसिमा, सेन्डाईजस्तो ठूलो क्षति र हताहत स्थिति नरहेको दूतावासले जनाएको छ । 'टोकियोस्थित दूतावास, फुकुओका र ओसाकास्थित अवैतनिक दूतावासहरू आवश्यक सूचना संकलन गर्नमा जुटेका छन्,' गैरआवासीय नेपाली संघ जापानका प्रवक्ता कुमार बस्नेतले भने, 'यहाँ भएका नेपाली संघसंस्था अरू सबै काम भुलेर नेपालीको स्थिति पहिचानमा जुटेका छन् ।' शनिबार बिहानसम्म नेपालीलाई कुनै क्षति नभएको भनिए पनि बेपत्ता र सम्पर्कविहीनको संख्या बढ्दै गएकाले यसबारे थप तदारुकता राखिने बस्नेतले बताए । परराष्ट्र सचिव मदनकुमार भट्टराईले सबै कूटनीतिक संयन्त्र र उपायबाट जापानको प्राकृतिक विपत्तिमा पर्न सक्ने नेपालीलाई उद्धार गरिने बताए ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...