यस वर्ष वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीको संख्या तीन गुणाभन्दा बढीले घटेको छ । शिक्षामन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको सात महिना अवधिमा २३ हजार १ सय ८५ विद्यार्थीले वैदेशिक अध्ययनको अनुमति लिएकोमा यस वर्ष घटेर ७ हजार ४ सय ७१ पुगेको छ ।
गत वर्ष बेलायत सरकारले विद्यार्थीलाई प्रवेशाज्ञा (भिसा) मा सहज गरिदिएपछि वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको थियो । तर, यस वर्ष कुनै मुलुकले त्यस्तो अवसर उपलब्ध नगराएकाले विद्यार्थीको संख्यामा भारी गिरावट आएको मन्त्रालयले जनाएको छ ।
विद्यार्थीको संख्या घट्दा मन्त्रालयमा जम्मा हुने राजस्वमा समेत असर परेको छ । मन्त्रालयबाट नो–अब्जेक्सन लेटर लिँदा विद्यार्थीले प्रतिमुलुक २ हजार रुपैयाँको भौचर भरेर चिठी लिनुपर्ने हुन्छ । अघिल्लो आर्थिक वर्षको सात महिनामा जाने विद्यार्थीबाट ४ करोड ६३ लाख ७० हजार रुपैयाँ राजस्व जम्मा भएको थियो भने यस वर्ष १ करोड ४९ लाख ४२ हजार रुपैयाँमात्र जम्मा भएको छ ।
नेपाली विद्यार्थीहरू विभिन्न ४५ मुलुकमा वैदेशिक अध्ययनका लागि जाने गरेको तथ्यांक मन्त्रालयसँग छ । आव २०६४÷०६५ मा अस्ट्रेलिया जाने विद्यार्थीको चाप उच्च रहे पनि अस्ट्रेलिया सरकारले भिसा प्रक्रियामा कडाइ गरेपछि विद्यार्थीहरू एक्कासि बेलायततिर आकर्षित भएका थिए ।
बेलायतले पनि विदेशी विद्यार्थीका लागि भिसा प्रक्रियामा कडाइ गर्दै लगेपछि हिजोआज विद्यार्थीहरूको ध्यान भारततर्फ मोडिएको छ । भारत जाने विद्यार्थीले मन्त्रालयबाट अनुमति लिनु नपर्ने भएकाले मन्त्रालयमा आधिकारिक तथ्यांक छैन । एक शैक्षिक परामर्श व्यवसायीका अनुसार यस वर्ष उच्च शिक्षाका लागि करिब ३० हजार विद्यार्थी भारत गएको अनुमान छ ।
मन्त्रालयको छात्रवृत्ति शाखाका प्रमुख प्रल्हाद अर्यालले अन्य देशमा जाने विद्यार्थीको संख्यामा कमी आए पनि चिकित्सा विज्ञान (मेडिकल साइन्स) अध्ययन गर्न जाने विद्यार्थीको संख्यामा कमी नआएको जानकारी दिए । बर्सेनि करिब १ हजार विद्यार्थी चिकित्सा विज्ञान अध्ययन गर्न चीन जाने गरेको तथ्यांक उनले प्रस्तुत गरे । सरदर मासिक १ सय विद्यार्थीले चीन जाने अनुमति लिने गरेको जानकारी उनले दिए ।
शैक्षिक परामर्श व्यवसायीका अनुसार चिकित्सा विज्ञान अध्ययन गर्न चीन जाने विद्यार्थीले २० देखि २५ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । नेपालमा सीमित मेडिकल कलेजका कारण विद्यार्थी चीन जाने गरेको व्यवसायी बताउँछन् । अन्य मुलुकमा भन्दा चीनमा यो विषयको अध्ययन सस्तो रहेकोले पनि वार्षिक करिब १ हजार विद्यार्थीहरू निजी खर्चमा चीन जाने गरेको मन्त्रालयले जनाएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...