सीमावर्ती भारतीय बजार लागूऔषधको स्वर्गभूमि


मुक्ति पौडेल
काँकडभिट्टा/सीमावर्ती भारतीय बजारहरु लागूऔषध खरिद गर्न आउने नेपालीका लागि स्वर्गभूमिजत्तिकै भएका छन् । पान पसरदेखि मिठाई र औषधि पसलसम्म जताततै प्रतिबन्धित लागूऔषध उपलब्ध हुन्छन् । 
झापा, मोरङ, सुनसरी र धनकुटासम्मका नेपाली ग्राहकहरु प्रतिबन्धित लागूऔषध खरिद गर्न र सेवन गर्न पानीट्याङ्की, बतासी, खोरीबारी, गलगलिया, नक्सलबाडी, बाघडुग्रा र सिलिगुडीमा आउने गरेको भारतीय व्यापारीहरु बताउँछन् । ‘हाम्रो काम बेच्ने हो,’ खोरीबारी दूधगेटका एक पानपसले भन्छन्, ‘खानेको जीवन बर्बाद हुन्छ कि हुँदैन, हामीलाई मतलब छैन ।’ ती पसलेका अनुसार उनको पसलमा पान खाने बहानामा नेपाली युवा नाइट्रोजन, डाइजीपाम, फेन्सिडल र टीडी जेसिक खरिद गर्न मोटरसाइकल र कारसम्म लिएर आउने गर्छन् । 
नेपालमा प्रतिबन्धित स्पेसमो, प्रोक्सिमन, फेनरगन, कोरेक्सलगायत्का लागूपदार्थ भारतीय पसलमा खुल्लारुपमा बिक्री हुँदै आएका छन् । भारतीय प्रहरीले स्थानीय व्यापारीबाट मासिक ‘हप्ता’ असुलेर कारोबारमा आँखा चिम्लिने गरेका छन् । ‘पाँच वर्षदेखि धाइरहेको छु,’ भारतको पानीट्याङ्कीस्थित एक पलसमा भेटिएका धरानका मनोज मगरले भने, ‘काँकडभिट्टाबाट माल छिराउन सजिलो छ ।’ पसलेहरुले स्थानीय व्यक्तिलाई त्यस्ता सामान बेच्ने गरेका छैनन् । प्रहरी–प्रशासनसमेतको मिलोमतोमा धन्धा चलाएको पाइन्छ ।
काँकडभिट्टा इप्रकाले गत एक वर्षमा दर्जनौं व्यक्तिलाई लागूपदार्थ ओसार–पसार गरेको अभियोगमा पक्राउ गरेर कार्वाही चलाएको छ । इन्स्पेक्टर देवीप्रसाद फागोका अनुसार सोही अवधिमा पाँचवटा मुद्दा दर्ता गरिएका छन् भने केहीले जेल सजाय भोगिरहेका छन् । यसैबीच मेचीनगर–१ का कुमार श्रेष्ठ लागूपदार्थ ओसार–पसारसम्बन्धी अभियोगमा सोमबार पक्राउ परेका छन् । 
काँकडभिट्टाका युवक सुरेन्द्र नेम्वाङ भारतीय सीमावर्ती बजारको विकृतिका कारण नेपालमा लगाइएको प्रतिबन्धको खासै असर नभएको टिप्पणी गर्छन् । ‘पारिपट्टि पनि प्रतिबन्धित हुनुपर्छ,’ नेम्वाङको भनाइ छ, ‘नत्र पारिबाट सामान आउन कसैले रोक्न सक्दैन ।’ एक व्यापारीका अनुसार पानीट्याङ्कीमा मात्रै पनि महिनामा पचासौं लाखको लागूऔषधको कारोबार हुने गर्छ । ट्याब्लेट, सुई, गाँजा र चरेशको कारोबार सीमावर्ती भारतीय क्षेत्रमा जति बढ्दै जान्छ, त्यसको प्रभाव नेपालमै पर्ने जानिफकारहरु बताउँछन् ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...