फेरिदैछ समाज– "ससुराले गराईदिए बुहारीको बिहे"



केही बर्ष अगाडिसम्म नेपाली समाजमा विधवा विवाहलाई सामाजिक मर्यादा विपरितको काम मानिन्थ्यो । तर विस्तारै विस्तारै ती मान्यता भत्किन थालेका छन् । अस्ती भर्खरैमात्र काठमाण्डौका जीवन वाग्लेले बुहारीको कन्यादान गरेका थिए भने आज झापा, तोपगाछीका उत्तम कुमार गौतमले बुहारीको विवाह गराइदिएका छन् ।
आठ बर्षअघि टंक गौतमसँग बिबाह गरे पनि दुइ बर्षअघि उनको मृत्यू भएपछि तोपगाछी ३ की २६ वर्षीया निर्मला कट्टेल (गौतम)को धरमपुर २का ३८ बर्षीय गणेश बहादुर कार्कीसँग मागी बिबाह भएको हो । बर्षेनी सासु, ससुरा र श्रीमानको मृत्यु भएपछि वालबच्चा समेत नभएकी वेसहरा निर्मलाको विवाह उनकै स्वीकृतिमा काका ससुरा उत्तम कुमारले गराइ दिएका हुन् ।
उता बैदेशिक रोजगारीका क्रममा लामो समयसम्म खाडीमुलुकमा रहेका २ छोराका बाबु गणेशलाई श्रीमतीले छोडेपछि पुनर्विवाह गर्ने निर्णय गरेका हुन् । ‘दुइ भाइ छोरा त छन् तर पनि जीबनसाथी चाहिने नै रहेछ’, बेहुलाको पोसाकमा रहेका कार्कीले भने ‘मैले पनि जीबनको साहारा खोजिरहेको थिएँ ।उनले पनि खोजेकी रहिछन् ।दुबैको आवश्यकता र मन मिलेपछि औपचारिक बिहेको निर्णयमा पुगेका हौं ।’
उता निर्मलाले पनि आफन्तको आग्रह र आफ्नो आवश्यकतालाई महशुस गरेर नै बिहेको निर्णयमा पुगेको बताइन् ।’एक्लै जीबन काट्न सकिने जस्तो लागेन’, निर्मलाले भनिन्, ‘मलाइ साथ दिने वहाँको प्रतिबद्धतापछि सँगै जीबन बिताऔं भनेर बिहेमा सहमत भएँ ।’
कलिलै उमेरमा श्रीमान् र सासु ससुरा गुमाएर बेसाहरा भइरहेकी बहिनीको नयाँ घरजम गराउने मुख्य भूमिका दिदी बिमलाले निर्वाह गरेकी हुन् । कार्कीकी छिमेकी बिमलाले दुबै पक्षसँग कुरा गरेर बिहे गराउने निर्णयमा सबैलाई सहमत गराइन् । बिहेमा सहभागी बेहुलीका बाबु उद्धव कट्टेलका अनुसार छोरीको बाँकी जीन्दगीको निश्चितताका लागि माइती पक्षले पनि पुनः बिबाहका लागि सहमति दिएका हुन् ।’यसले एउटा सकारात्मक सामाजिक सन्देश पनि जान्छ भन्ने हामीले सोचेका छौं छोरी ज्वाईलाई टिका र आर्शिवाद दिदै गरेका कट्टेलले भने, ‘मेरी छोरीजस्तै अर्ध जीबनमा बिधवा भएका थुप्रै छोरीहरुलाई यो बिबाहले पुनः बिबाह गर्न बल पुर्‍याउने छ ।’
निर्मलाका छिमेकी टिका प्रसाद अधिकारीले बिहेको सम्पूर्ण तारतम्य मिलाएका हुन् ।स्थानिय महेन्द्ररत्न उच्च माबिका अध्यक्ष समेत रहेका अधिकारीले जन्ती भोज, बेहुला बेहुलीको पहिरन सबै कुरा आफै बन्दोबस्त गरिदिएका हुन् । ‘समाजमा बसेकोले यही समाजको अर्को सदस्यको उद्धारका लागि थोरै आर्थिक लगानी गरें’ आफ्नै आँगनमा बिहेको जग्गे बनाएका अधिकारीले भने ‘निर्मला जस्तै अवला नारीहरुलाई बाँकी जीबन बाँच्न सहज होस भन्ने सन्देश जाओस भनेर यो कार्यक्रम मैले जिम्मा लिएको हुँ ।
पहिलाका श्रीमान् टंकको नामबाट निर्मलाले करिब सात कठ्ठा जग्गा र एउटा घर अंश पाएकी थिइन् ।पुनः बिहेपश्चात आफ्नो नाममा रहेको काठको घर बेचेर मृत ससुरा कृष्ण प्रसाद, सासु हरीमाया र श्रीमान टंकका नाममा अक्षय कोष स्थापना गर्ने निर्मलाले बताइन् । ‘घर बेचेको पैसाले मेरा मृत आफन्तहरुका नाममा अक्षय कोष बनाउँछु’ बेहुलीको घुम्टो खोल्दै निर्मलाले भनिन् ‘अक्षयकोषको ब्याजबाट समाजमा योगदान गर्ने ब्यक्तिलाई प्रोत्साहन र सम्मान गर्ने बिचार छ ।’
यो बिबाहमा पुरोहितको भूमिका स्थानिय कर्ण बहादुर गुरुङ्गले निर्वाह गरेका थिए । ब्राह्मण पुरोहतिलाई बोलाउँदा उनले एकै ब्यक्तिको दुइ पटक बिहे गराउँन मिल्दैन भनेर आउन अस्विकार गरेका थिए । ‘श्रीमती मरेको ४५ दिनमा दोस्रो बिहे गर्ने उनै पुरोहित हुन्’ अधिकारीले ब्यंग्य गरे ‘अहिले दोस्रो बिहेको कर्म गर्न मिल्दैन भन्ने पनि उनै हुन् । ‘
@ Purbeli Times

1 comment:

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...