कतार (दोहा), फाल्गुन २४ - गैरकानुनी रूपमा बसेका आप्रवासी कामदारलाई कुवेत सरकारले स्वदेश फर्किन वा कानुनी हैसियत प्राप्त गरी बस्नका लागि आममाफी (एमनेस्टी) दिने घोषणा गरेको छ । यो घोषणाबाट कुवेतमा गैरकानुनी रूपमा कार्यरत करिब ४ हजार नेपाली लाभान्वित हुनेछन् ।
कुवेत सरकारले चार महिनाको अवधि तोकेर यही मार्च १ देखि जून ३० अर्थात् फागुन १७ देखि असार १६ गतेसम्म आममाफी दिने घोषणा गरेको छ । कुवेतस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई यो सुविधाको सदुपयोग गरी नेपाल फर्किन वा कानुनी हैसियत प्राप्त गरी काम गर्न अनुरोध गरेको छ ।
यो आममाफीमा हत्याको आरोप लागेका, लागूऔषध, तस्करी, कारागार सजाय भोगेका भने पर्दैनन् । गैरकानुनी रूपमा बसेका कामदारलाई आममाफी सुविधा दिएको हो । गैरकानुनी हुनेमध्ये अधिकांश आफ्नो स्पोन्सर (साहू वा कम्पनी) छोडेर भाग्ने कामदार छन् । खाडी राष्ट्रमा स्पोन्सरको अनुमतिबिना अरू ठाउँमा काम गर्नुलाई गैरकानुनी रूपमा लिने गरिएको छ । कुवेतमा करिब ४५ हजार नेपालीमध्ये महिलाको संख्या ३५ हजार छ । ती महिलाहरू मुख्य रूपमा घरेलु कामदार (हाउसमेड) को रूपमा कार्यरत छन् ।
कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले आममाफीको घोषणापछि सोमबारसम्म करिब १ हजार नेपालीले दूतावासमा सम्पर्क गरेको बताएका छन् । दूतावासले आममाफीको फाइदा लिन गैरकानुनी रूपमा बसेका नेपाली कामदारले पूरा गर्नुपर्ने प्रक्रियाको विस्तृत सूचनासमेत जारी गरेको छ ।
सूचनामा राहदानी हराएका, म्याद समाप्त भएको, आवासीय भिसा नभएका, प्रवेश भिसा भएर आवासीय भिसा नलिएका, कुनै कारणले राहदानी नभएर यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) लिनुपर्ने, बहिर्गमन भिसा (इक्जिट पेपर) लिन, भिजिट भिसामा आएर म्याद समाप्त भएकालगायतका विभिन्न विषय छुट्टयाएर कुवेतको अध्यागमन कार्यालय वा
दूतावासमा सम्पर्क गर्न भनिएको छ । दूतावासले सम्पर्कका लागि आफ्नो फोन नम्बर २५२४३२५४ र २५२४३२५७ उल्लेख गरेको छ । दूतावासले साहू वा कम्पनीबाट तलबलगायत सुविधा पाउन बाँकी भएका र उक्त सुविधा पाउनका लागि अदालतमा मुद्दा चलाएको भए रकम पाउनका लागि कानुनी रूपमा कसैलाई प्रतिनिधि नियुक्ति गरी घर जान सक्ने बताएको छ ।
आममाफीअघि समस्यामा एक वर्षको अवधिमा दूतावासको पहल, घरफिर्ती केन्द्र तथा जेल सजाय भोगेर ७ सय २० नेपाली स्वदेश फर्किइसकेका छन् भने २ सय महिला दूतावासको आश्रयस्थलमा रहेको राजदूत पौडेलले बताए । नेपाली महिलामध्ये करिब एक तिहाइ नक्कली राहदानी, अर्काको राहदानीमा फोटो परिवर्तन गरेर भारतीय बाटो हुँदै कुवेत भित्रिएका हुन् ।
कुवेत सरकारले आममाफीको अवधिभर स्वदेश जानेहरूले कुनै सजाय भोग्नु नपर्ने र दण्ड जरिवाना तिर्नु नपर्ने र पुन: कुवेत फर्किन पाउने घोषणा गरेको छ । तर समयावधिभित्र कानुनी हैसियत नपाई कुवेतमै बस्नेले कडा सजाय भोग्नुपर्ने, सजायपछि देश निकाला (डिपोर्ट) गर्ने र पुन: कुवेत आउन नदिने भएको छ । राहदानी भएर गैरकानुनी हैसियतमा बसेका कामदारले आवासीय भिसा लिई कुवेतमा बस्न चाहेमा उक्त अवधिको जरिवाना तिरी आवासीय भिसाका लागि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने दूतावासले जनाएको छ ।
आममाफी पाएर स्वदेश फर्किनका लागि दूतावासले सस्तो दरमा हवाई टिकट उपलब्ध गराउन फ्लाई दुवाई र एयर एरेवियासँग कुरा गरेको छ । जसअनुसार फ्लाई दुवाई ३० केजी लगेज र ७ केजी ह्यान्डक्यारी सहित ४१ डिनार टिकट दिने निश्चित गरेको छ ।
कुवेतले आफ्नो राष्ट्रिय दिवसको स्वर्ण महोत्सव, २० औं मुक्ति दिवस र राजा साबह अल(जाबर अल सबानको पाँचौं राज्य रोहणको अवसर पारेर आममाफी घोषणा गरेको हो । फागुन १४ मा मनाइएको कुवेतको राष्ट्रिय दिवसको अवसरमा नेपाली राष्ट्रपति डा. राष्ट्रपति रामवरण यादवसहित ४० देशका राष्ट्र प्रमुख र विशेष प्रतिनिधिहरू सहभागी थिए ।
Via Source:- eKantipur

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...