इलाम/रासस-इलाम सदरमुकामस्थित विभिन्न होटलमा कार्यरत सातजना बाल मजदुरलाई मङ्गलबार उद्धार गरिएको छ । जिल्ला बालकल्याण समिति र बाल अधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाको पहलमा उनीहरूलाई उद्धार गरिएको जिल्ला बालकल्याण अधिकृत अजित योञ्जनले जानकारी दिए ।
बालबालिकालाई मजदुरका रूपमा काममा लगाउन नपाइने कानुन भए पनि इलामका कतिपय होटलमा बाल मजदुर राखिएकाले उनीहरूलाई उद्धार गरी संरक्षण गर्न लागिएको समितिकी सदस्य मीरा थापाले बताइन् । उनका अनुसार उद्धार गरिएका बालबालिकालाई मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह मेची प्यागमा रहेको बाल संरक्षण केन्द्रमा राखिने र उनका परिवारको खोजी गरी जिम्मा लगाइने छ । ताम्राकार मिष्ठान्न भण्डारका प्रोप्राइटर बाबुकाजी ताम्राकारले गरिब परिवारमा रहेका बालबालिकालाई उनीहरूका बाबुआमाले काम लगाइदिएर खान दिनुहोस् भन्दै ल्याएर जिम्मा लगाइदिने भएकाले आफूहरू बाल मजदुर राख्न बाध्य भएको बताए ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...