पूर्वी नेपालको बन्दले जनता भए वाक्क, बन्द खुल्ने सम्भावना न्यून

  • आन्दोलन कडा बनाउने चेतावनी
  • लिम्बुवान कार्यकर्ता पक्राउ
  • ‘एक दिन बाटो खोलिदेऊ’-पर्यटक
  • स्कर्टिङ गरी यातायात सञ्चालन
  • बन्द खुलाउन गृहको निर्देशन
धरान/ मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक यातायात नचल्दा यात्रुलाई सास्ती भएको छ ।

मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले नागरिकताको आधारमा मतदाता पचियपत्रका लागि तस्विर खिचाउने कार्यलाई सरकारले निरन्तता दिएको भन्दै आह्वान गरेको बन्दको क्रममा छजना कार्यकर्तालाई पक्राउ गरेको थियो ।

बन्दको समयमा विर्तामोडको मुक्तिचोमादेखिएको एक दृष्य । तस्विर प्रकाश पौडेल/मेचीनगर अनलाईन 
तिनीहरूको रिहाइ नभएसम्म अनिश्चितकालका लागि सार्वजनिक यातायात सेवा ठप्प पार्ने परिषद्ले जनाएको छ ।


बन्द खुलाउन गृहको निर्देशन

गृह मन्त्रालयले बुधबार धनकुटास्थितक्षेत्रीय प्रशासन कार्यालयमार्फत् पूर्वाञ्चलका १६ जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर राजमार्गमा पूर्ण शान्ति सुरक्षा दिइ सवारी साधन खुलाउन कडा निर्देशन जारी गरेको छ ।
राजमार्गमा जुनसुकै समूहले अवरोध पर्‍याएमा कडा कानुनी कारवाही गरी सवारी आवागमन गराउन गृहले निर्देशन दिएको निमित्तक्षेत्रीय प्रशासक वीरेन्द्रकुमार यादवले जानकारी दिए । निर्देशनअनुसार आवश्यक शान्ति सुरक्षाको लागि सम्पूर्ण व्यवस्था मिलाइएको उनले जनाए ।
यसैबीच स्थानीयवासी दोहोरो बन्द झेल्न बाध्य भइरहेका बेला यातायात मजदुरले भने बुधबार एकपक्षीयरुपमा बन्द फिर्ता लिएको धनकुटा समाचारदाताले जनाएका छन् । यातायात मजदुर र मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले बन्द आह्वान गरेका थिए ।
धनकुटा जिल्ला प्रशासन कार्यालयको रोहवरमा बुधबार यातायात व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिबीच भएको छलफलमा यातायात मजदुरले बन्द फिर्ता लिन सहमति जनाएका हुन् । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न छलफलमा बन्द फिर्ता गर्ने सहमति भएपछि यातायात मजदुरले यातायात सञ्चालन गर्ने भएको नेपाल यातायात मजदुर संगठनका अध्यक्ष गणेश थापाले बताए । परिषद् कार्यकर्ताले आगो लगाएर नष्ट गरेको माइक्रो बसको क्षतिपूर्तिको लागि यातायात व्यवसायी महासंघको नेतृत्वमा आवश्यक प्रक्रिया अगाडि बढाइने भएपछि यातायात व्यवसायी तथा मजदुहरुले बन्द फिर्ता लिएको जनाए ।
मञ्चसम्बद्ध परिषद्ले आह्वान गरेको बन्द भने यथावत् छ । तस्विरसहितको मतदाता नामावली संकलन कार्य रोक्नुपर्ने, आन्दोलनका क्रममा भएको क्षतिको क्षतिपूर्ति राज्यले दिनुपर्ने र नियन्त्रणमा लिइएका नेता–कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने माग पूरा नभएसम्म आन्दोलन जारी रहने परिषद्का केन्द्रीय सदस्य दिलकुमार फोम्बोको भनाइ छ ।
यातायात व्यवसायी तथा मजदुरले बन्द फिर्ता लिएपछि लिम्बुवान बन्दको क्रममा सवारी साधनलाई प्रशासनले सुरक्षा दिने तयारी गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । परिषद्ले मतदाता नामावली संकलन कार्य रोक्नुपर्ने माग गर्दै गत शुक्रबारदेखि र यातायात मजदुरले परिषद् कार्यकर्ताद्वारा आगजनी गरिएको गाडीको क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शनिबारदेखि बन्द आह्वान गरेका थिए ।


‘एक दिन बाटो खोलिदेऊ’

विजयपुर/ मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको बन्दले विदेशी पर्यटक पनि मारमा परेका छन् । भारत, भुटान, कोरिया, नर्वेलगायत्का देशबाट पूर्वाञ्चल घुम्न आएका पर्यटकहरु धरान, इटहरी, बिर्तामोडलगायत्का सहरमा अलपत्र परेका छन् ।
चार दिनदेखि जारी अनिश्चितकालीन यातायात बन्दले सर्वसाधारणको पनि बिचल्ली भएको छ । अकस्मात् भएको बन्दका कारण सर्वसाधारण सडकमै बस्न बाध्य भएका छन् । धरानमा स्वदेशी तथा विदेशी नागरिकहरुले सडकमै खाना पकाएर खाने, नुहाउने, सुत्ने गरेका छन् । ‘अब खर्च पनि सकिसक्यो,’ तेह्रथुमको म्याङलुङका राजेन्द्र निरौलाले भने, ‘जनतालाई सास्ती दिने यो कस्तो विरोध हो ? हाम्रो आग्रह छ, हामीलाई आ–आफ्नो गन्तव्यमा पुग्न दिइयोस् ।’
सङ्खुवासभाको मुढे शनिश्चरेका लाक्पा शेर्पाले कम्तीमा एक दिनको लागि भए पनि बन्द खोलिदिन आग्रह गरे । होटल व्यवसायीसमेत रहेका उनले बन्दका कारण पर्यटकहरु पनि अलपत्र परेकाले नराम्रो सन्देश गएको बताए । ‘नेपाल घुम्न आएका पर्यटकले पाएको यो सास्तीले देशकै छवि बिगारेको छ’ उनले थपे । भारतको राजस्थानबाट परिवारसहित बराहक्षेत्र घुमेर फर्किएका नन्दलाल देवले आफूहरुलाई आफ्नो देशको सिमानासम्म पुर्‍याइदिन प्रशासनसँग माग गरे ।
नर्वेली नागरिक हुन सेनले भने आफूलाई काठमाडौं पुर्‍याइदिन आग्रह गरे । ‘हामीलाई बस्ने ठाउँको अभाव छ, साथीहरु काठमाडौंमा छन्’, उनले आग्रह गरे, ‘हामीलाई सुरक्षित स्थानमा पु¥याइदिनुहोस् ।’ सर्वसाधारणले गन्तव्यमा पुग्न एक दिनको लागि भए पनि बन्द खोलिदिन बन्दकर्तासँग आग्रह गरेका छन् । मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान ाज्य परिषद्ले तस्विरसहितको मतदाता नामावली संकलन कार्य नयाँ संविधान नबनेसम्म ोक्नुपर्ने माग अघि सो आन्दोलन गर्दै आएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोशी अञ्चल समितिले पनि अनिश्चितकालीन बन्दको विकल्प दिन माग गरेको छ । बुधबार विज्ञप्ति जारी गरी महासंघले यातायात व्यवसायीलाई हतोत्साहित नगर्न माग गरेको छ ।


विरोध प्रदर्शन

पक्राउ कार्यकर्ता रिहाइको माग राख्दै मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताले बुधबार दमकमा विरोध प्रदर्शन गरेको समाचारदाताले जनाएका छन् ।
दमक चौकमा गरिएको प्रदर्शनका सहभागीले सरकार र प्रहरी–प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रदर्शनपछि स्थानीय गणतन्त्र चौकमा भएको कोणसभाका वक्ताहरुले कार्यकर्ता रिहा नभएसम्म यातायात बन्दको कार्यक्रम फिर्ता नहुने बताएका थिए ।
बन्दको अवज्ञा गरेको भन्दै परिषद्का कार्यकर्ताले बुधबार बिहान एउटा सवारीमा ढुङ्गामुढा गरेका थिए । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ३ ख २९४७ नम्बरको बसमा ढुङ्गा प्रहार गर्दा झापाको दुवागढी–२ की ३३ वर्षीया सुधा राजवंशीको अनुहारमा चोट लागेको छ । उनको विराटनगरमा उपचार भइरहेको दमक प्रहरीले जनाएको छ । दमक र बिर्तामोडमा सञ्चालन भइहेको महोत्सव बन्दका कारण प्रभावित भएको छ । बिर्तामोडमा सञ्चालन भइहेको पूर्वाञ्चल महोत्सव र दमकमा लागिरहेको धिमाल महोत्सव प्रभावित भएको आयोजकले जनाएका छन् । धिमाल महोत्सव मूल आयोजक धिमाल जाति विकास केन्द्रका अध्यक्ष रामबहादुर धिमालले महोत्सवलाई ध्यानमा राखेर बन्द फिर्ता लिन माग गरेका छन् । बन्दले प्रत्येक बुधबार लाग्ने दमकको पशुहाट बजार पनि प्रभावित भएको छ । बुधबार यहाँ लाखौंको कारोबार हुने गर्दछ ।
तीन दिनदेखिको लगातारको यातायात बन्दले झापाको जनजीवन प्रभावित भएको छ ।


आन्दोलन कडा बनाउने चेतावनी


धरान/ अनिश्चितकालीन बन्द आह्वान गरेको मञ्चसम्बद्ध सङ्घीय राज्य परिषद््ले आन्दोलनका कार्यक्रम थप कडा बनाउने भएको छ ।

परिषद्का अध्यक्ष कुमार लिङ्देनले बुधबार विज्ञप्ति जारी गरी धनकुटा, इटहरी रमोरङमा प्रहीद्वारा पक्राउ गरिएका आफ्ना कार्यकर्ता विनाशर्त रिहा नभएसम्म आन्दोलन नरोकिने जनाएका छन् । विज्ञप्तिमा लिम्बुवान कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने, तस्विरसहितको मतदाता नामावली संकलन कार्य रोक्नुपर्ने र अरुण–सप्तकोशीपूर्वलाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग उल्लेख छ ।

माग पूरा नभए लिम्बुवान दावी गरिएका पूर्वका नौ जिल्लामा बिहीबारदेखि शैक्षिक संस्थासमेत बन्द गर्ने, नौवटै जिल्लाका गाविस कार्यालयमा तालाबन्दी गर्ने र कालो झण्डा गाड्ने कार्यक्रम परिषद्ले सार्वजनिक गरेको छ ।
यसैबीच खम्बुवान स्वायत्त राज्य परिषद्ले पनि परिषद्को आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । परिषद्का अध्यक्ष इन्द्रहाङ खम्बूले बुधबार विज्ञप्ति जारी गरी पक्राउ कार्यकर्ता रिहा गर्न र निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन कार्य बन्द गर्न माग गरेका छन् ।



स्कर्टिङ गरी यातायात सञ्चालन

झापा/ सङ्घीय लिम्बुवान राज्य परिषद्द्वारा गरिएको बन्दका कारण सास्ती भोगिरहेका यात्रुलाई सुरक्षित स्थानसम्म पुर्‍याउन प्रहरीले स्कर्टिङको व्यवस्था गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापा खण्डको काँकडभिट्टाबाट धरानका लागि दुईवटा, विराटनगरका लागि तीनवटा र उदयपुरको कटारीका लागि एकसमेत गरी छवटा यात्रुवाहक बसलाई स्कर्टिङ गरी बुधबार बिहान १० बजे पठाइएको काँकडभिट्टा इलाका प्रही कार्यालयले जनाएको छ । अनिश्चितकालीन बन्दले सार्वजनिक यातायात सेवा ठप्प भएको छ ।

अरुणपूर्वका नौ जिल्ला बन्द गराउन हिँडेका लिम्बुवान कार्यकर्तालाई बुधबार मोरङको पथरीबाट प्रहरीले पक्राउ गरेको छ । यातायात र बजार बन्द गराउँदै हिँडिहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो । अशोक चेम्जोङ, वीरबहादुर घिसिङ, गोविन्द नागो, प्रितम फागो, सुवास सिंह कुरुङवाङ, सानुबाबु सुब्बालगायत् पक्राउ परेका छन् ।





लिम्बुवान कार्यकर्ता पक्राउ

बन्द गराउँदै हिंडेका केही लिम्बुवान कार्यकर्तालाई मोरङको पथरीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । यातायात एवम् बजार बन्द गराउने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अशोक चेम्जोङ, वीरबहादुर घिसिङ, गोविन्द नागो, प्रितम फागो, सुवास सिंह कुरुङवाङ, सानुबाबु सुब्बालगायतका रहेका छन् । 
With Reference to Blast Times Daily.

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...