भरियाबाट करोडपति बनेका कुमारको कहानी


‘चुनौती नै चुनौतीबीचको परिश्रम नै व्यापार हो’ उनको सिकाईले यही भन्छ । ‘जति जनसम्पर्क बढाउन सकियो, त्यति नै व्यापारमा फाइदा हुन्छ’ उनले थपे । यस्तो भनाई राख्ने युवा हुन् ३७ बर्षीय कुमार गौतम ।
कुनै बेला कटारीदेखि ओखलढुंगा चार दिन लगाएर भारी बोक्ने कुमार गौतमले त्यसबेला पनि अहिले जस्तो करोडपति बन्छु भन्ने सोचेका थिएनन् ।
टोक्सेल-३, जैसीगाउँका गौतमलाई सात कक्षादेखि नै पढ्न मन लागेन, जतिखेर पनि पैसा कसरी कमाउने भन्ने धुनले उनको ध्यान किताबतिर तानेन । त्यसपछि लागे पैसा कमाउने कामको खोजीमा ।
घरखेतको अन्नले सामान्य खान पुगे पनि पर्याप्त लाउन खान नपुग्ने भएपछि उनले ठेक्कामा गाउँलेलाई लिएर कटारी- ओखलढुंगा भारी बोकाउने र बोक्ने दुवै काम गर्न थाले । व्यापारकै लागि बाबुको नाममा भएको खेत समेत ३ लाखमा बेचेर व्यापार सुरु गरे । तर व्यापारमा नाफा भएन । त्यसपछि दुइ वर्ष भारतको नयाँ दिल्लीतिर पनि गए । ‘अहँ कतैबाट पनि नाफा मिलेन ।’ उनले भने, ‘जसरी भएपनि लगानी उठाउनु नै थियो । त्यसपछि जिरीदेखि नाम्चेको भारी बोकाउने काममा पनि लागेँ ।’ केही समय उनले आफ्नै गाउँमा जग्गा र अन्य कामको ठेक्कापट्टा पनि गरे ।
व्यापार गर्न पर्याप्त ऋण साहुले नपत्याउँदा उनलाई खुब गाह्रो भयो । केही विकल्प बाँकी नरहेपछि २०५४ सालमा पासपोर्ट बनाएर विदेश जाने तयारी गरे ।
रामहरी खतिवडाले विदेश पठाउने पहल गरिदिए पनि छ महिना कुर्नु परेप छि विदेश जाने सुरबाट पनि उनको मन मर्यो । त्यसपछि उनले फेरि गाउँतिरै फर्किने निधो गरे । शुरुमा चतुरमान राईको ३० वटा खच्चड भाडामा लिएर धपाउन थालेका उनले वि.सं. २०५६ मा चतुरमान राई र आङ्छिरिङ शेर्पाको गरी ४२ वटा खच्चड भाडामा लिएर भारी बोकाउन थाले ।
खच्चड भाडामा धपाएबापत भएको कमाईले नै उनले एकै वर्षमा ९ वटा खच्चड आफैंले खरिद गरे ।त्यसपछि केही महिनामै थप १० वटा खच्चडको संख्या थप्न उनी सफल भए । गौतमको दुःखको भारीले यी दिनहरु पश्चात् भने केही टेको लाउने अवसर पाए ।
वि.सं.२०५९ सालमा ‘पार्टनरसिप’मा किनेको ट्याक्टरले घाटामा लगे पनि व्यापारमा उनको आकर्षण पटक्कै घटेन । केही वर्षअघिसम्म १ सय ५२ वटासम्म खच्चडका मालिक बनेर आम्दानी बटुल्न सफल उनको अहिले पनि ७२ वटा खच्चड छन् । सोलुखुम्बुको सदरमुकामदेखि सोताङ्तिर खाद्यान्न बोक्ने काममा लगाइएको खच्चड चलाउने कर्मचारी मात्रै आठ जना छन् । एकजनालाई मासिक १३ हजारदेखि १५ हजार रुपैयासम्म तलब दिएर रोजगार बनाएका छन् उनले ।
मासिक खर्च कटाएरै खच्चडबाट अहिले ५० हजार रुपैयाँ बराबर आम्दानी छ । तीनवटा ट्याक्टर, दुइवटा ट्रक पनि सिद्धिचरण राजमार्गमै उनको संचालित छन् । समय अनुसारको व्यापार गर्न गाडी खरिद गरेको उनी बताउँछन् । ‘जताततै सडक र मोटर पुगेपछि खच्चडको व्यवसाय भने घट्दो क्रममा छ’ उनले सुनाए, ‘तैपनि १० वटा नै किन नहोस् मेरो जीवनभरि नै खच्चड चलाउने रहर भने छ ।’ उनको जीवनस्तर उकास्ने यिनै खच्चड भएकोले पनि खच्चडमोह नघटेको उनको तर्क छ । १ करोड १२ लाख मूल्य बराबरको सदरमुकाममा घर बनाएका उनको घर र उनलाइ देख्ने जोकोही पनि व्यापारका प्रेरणाका स्रोत भनेर उनलाई भन्ने गर्छन् । कम उमेरमै सफल व्यवसायी बनेका उनी खच्चड व्यवसायी संघ ओखलढुंगा सोलुका उपाध्यक्ष समेत छन् ।

आफ्नो बाबुतर्फका ५ छोरा र ३ छोरीमा काइँला सन्तानको रुपमा जन्मिएका उनको अहिले पनि जम्मा जम्मी परिवारमा २८ जना सदस्य छन् । घरखर्चदेखि लिएर पढाउनेसम्म सबै सदस्यहरुको जिम्मा उनकै काँधमा छ । विदेश गएर पैसा कमाउन चाहने युवालाई उनी आफ्नै देशमा रहेर केही गर्ने सल्लाह दिन्छन् । अझै पनि सधैँजसो व्यस्त रहने गौतमको हुलिया हेर्ने जोकोही पनि उनलाइ करोडपति भन्न हिच्किचाउँछन् । तैपनि उनको परिश्रम र सीपले जोडेको सम्पतिले अहिले उनको जीवन भरियादेखि करोडपतिसम्म बन्न सफल भएका छन् । व्यवसायको अनेकन सघंर्षका घुम्तीहरुमा सहयोग गर्ने उनका दाजु नारद गौतमको नाम लिन भने उनले छुटाएनन् । गोरखापत्र संस्थानमा अधिकृत रहेका नारदले कुमारको धेरै पाइलाहरुमा साथ दिएकै कारण अहिले उनी यो स्थानमा आउन सफल भएको उनले बताए ।
कुम्भराज राई
(सार्वजनिक विक्लीबाट)


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...