सिँचाइ आयोजना अलपत्र


 सुजन तिम्सिना 
पशुपतिनगर/प्रतिहेक्टर लागत मूल्यमा वृद्धि भएपछि महमाई गाविसको सिँचाइ आयोजना अलपत्र परेको छ । 
नौवटा वडामा सिँचाइ सुविधा पुर्‍याउन सरकारले पिउरे खोला फिउरे सिँचाइ आयोजना सञ्चालन गर्ने निर्णय गरेको थियो । चुरे क्षेत्रको समस्याको रुपमा रहेको गरिबी अन्त्यका लागि खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन तीन वर्षअघि आयोजनाको अन्तिम सर्भे गरिएको थियो । सर्भेपछि प्रत्येक वर्ष बजेट विनियोजन हुँदै आए पनि लागत मूल्य बढी भएको भन्दै झापास्थित पूर्वाञ्चल सिँचाइ डिभिजन कार्यालयले काम अघि बढाउन सकेको छैन । सिँचाइ आयोजनाका लागि राष्ट्रिय योजना आयोगले अहिलेसम्म ८० लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।
बजेट विनियोजन भए पनि लागत मूल्य बढेकोले काम गर्न नसकिएको सिँचाइ डिभिजन कार्यालयका प्रमुख मित्र बरालले बताए । इभाङ र जितपुर गाविसको देउमाई खोलाको पानी महमाई पुर्‍याउने लक्ष्य थियो । आयोजना सञ्चालनका लागि हेमबहादुर बस्नेतको अध्यक्षतामा महमाई गाविसमा उपभोक्ता समिति गठन भएको स्थानीय सन्तराम योङहाङले बताए । यसका लागि सिँचाइ डिभिजन कार्यालयले राष्ट्रिय योजना आयोगमा प्रत्येक वर्ष बजेट माग गर्दै आएको छ । 
अन्तिम सर्भेपछि आयोगले सिँचाइ डिभिजनको मागअनुसार बजेट विनियोजन गरेको छैन । ९ हजार ३ सय मिटर लामो सिँचाइ आयोजना सम्पन्न गर्न सन् २००९ मा गरिएको अन्तिम सर्भेमा ९ करोड ९९ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो तर अहिले निर्माण सामग्रीको मूल्यमा वृद्धि भएपछि लागत मूल्य बढ्ने डिभिजन प्रमुख बरालले बताए । ‘बाँझो रहेको सयौं हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने यो आयोजना सम्पन्न भएमा चुरे क्षेत्रका जनताको आर्थिकस्तर ७० प्रतिशतले वृद्धि हुनेछ,’ उनले भने, ‘त्यसैले हामीले यो आयोजनालाई प्राथमिकतामा राखेका छौं ।’ पूरै योजना सञ्चालन गर्न नसके पनि आधासम्म निर्माण गर्ने सोंच बनाएको बरालले जानकारी दिए । ‘प्राविधिक टोली खटाउने योजना भइरहेको छ ।’ डिभिजन प्रमुख बरालले थपे । 
गरिबीको समस्या झेल्दै आएका चुरे क्षेत्रका जनताका लागि सिँचाइ आयोजना अति आवश्यक रहेको प्राविधिक बताउँछन् । सर्भेमा संलग्न एक प्राविधिकले यस आयोजनामा सरकारले ठूलो लगानी गर्नुपर्ने जिकिर गरे । नौवटै वडामा सिँचाइ सुविधा पुर्‍याउन २२ वटा खोल्सीमा पुल निर्माण गर्नुपर्ने भएकोले निर्माण कार्य जटिल रहेको प्राविधिकहरु बताउँछन् ।
सिँचाइ नहुँदा महमाई गाविसका नौ वडामा एक हजार बिघा खेतीयोग्य जमिन बाँझो छ ।
With reference to blast times daily


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...