दमकमा जारी धिमाल महोत्सव स्थानीय जातजातिसहितको कला संस्कृति प्रदर्शन र प्रवद्र्धनको संगमस्थल बनेको छ। यसमा मुख्यरुपमा धिमालजातिकै कला संस्कृतिले प्राथमिकता पाएपछिको रौनकले सबैलाई मुग्ध पारेको छ।
बुधबार धिमाल युवायुवतीको आफ्नै परिधानमा प्रस्तुत मोडलिङले लोपोन्मुख भेषभूषा संरक्षणका लागि सबैलाई झक्झक्याएको छ। महिलाले ब्लाउजविना पेटानीलाई छातीसम्म बाँधेर लगाउने तथा पुरुषको अस्कोट र कछाडका रुपमा लगाइने धारी पहिरेर उनीहरु र्याम्पमा उत्रिएका थिए। २२ युवती र १२ युवा गरी ३४ जनाले महोत्सवको स्टेजलाई र्याम्प बनाएर आफ्ना जातीय परिधान प्रदर्शन गराए। सांस्कृतिक मोडलिङ धिमालहरुका लागि यो दोस्रो हो। यसअघि जिल्लाकै दुहागढीस्थित चारआलीमा गत पुस २३ र २४ को धिमाल सांस्कृतिक महोत्सवमा पहिलोपटक यसै गरी आफ्नो सांस्कृतिक स्वाद चखाउन पाएको यसका कोरियोग्राफर रक्की धिमालले सगौरव सुनाए । त्यसो त महोत्सवको शुभारम्भका दिन गत माघ १६ मा धिमाल परिधानमा सजिएका ४८ युवतीले प्रस्तुत गरेको सामूहिक नृत्यले महोत्सवमा सांस्कृतिक रौनकताको गजबको शुरुआत गरेको थियो।
धिमालका साथै राई लिम्बू याख्खा भुजेल मगर सुनुवार कुमाल मेचे नेवार उराव गुरुङ सन्थाल माझी तामाङ शेर्पा र ताजपुरिया जातिका संस्कृति भेषभूषा र खानपानका स्टलले महोत्सवलाई संस्कृतिमय बनाइरहको छ। धिमालका साथै उल्लेखित जातजाति पनि उसै गरी आफ्ना लोपोन्मुख सांस्कृतिक कलालाई माचमा उतारेर रमाइरहेका छन्। यो महोत्सव आदिवासी जनजातिको सांस्कृतिक उत्थानको महत्वपूर्ण पाटो भएको छ -रेडियो नेपालमा कार्यरत पुराना लोकगायक सीताराम ताजपुरियाले हाँस्दै भने।
झापाकै गौरादह घर भएका ताजपुरियाले काम विशेषले घर आएका बेला महोत्सवको सांस्कृतिक माहोलमा सहभागी भएर त्यसमा अझ रौनकता थपे। उनले आफ्नो चर्चित गीत गौरादहको बजारैमा र छिटको सारी गाएर दर्शक नचाएका थिए। चर्चित हास्यकलाकार सुरेन्द्र केसी र शिवशंकर रिजालको मेरो देश नामक प्रहसनले हँसाउने काम मात्र गरेन देशभक्तिपूर्ण भावनाको साचारसमेत गरायो। अघिल्ला दुई दिन जिरे खुर्सानीका किरण केसी र शिवहरि पौडेलले उसै गरी स्टेज जमाएका थिए।
अहिलेसम्म लोकदोहोरी गायक नवराज घोरासिनी लोकपप गायक अर्जुन कौशल पूर्वका गायक कुशल राई नृत्यकार दिलीप महत हास्यव्यंग्यकार चन्द्रराज राजवंशी धनकुटे कान्छा लगायतले मन तान्ने प्रस्तुति दिएका छन्। आगामी फागुन १ गतेसम्म नै दिनहुँ यसखाले प्रस्तुति रहने आयोजकमध्येका कलाकार शिव नेपालले जनाए । महोत्सवलाई पर्यटन वर्षको सन्दर्भ जोडेर धिमाल जाति विकास केन्द्रको अगुवाइमा आदिवासी जनजाति महासंघ दमक नगरपालिका दमक उद्योग वाणिज्य संघले आयोजनामा सघाएका छन् ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...