'जन्तरे दाइ' मेचीको पहिलो प्रधानमन्त्री


इलाम, माघ २१ - झलनाथ खनाल मेची अञ्चलवाटै पहिलो प्रधानमन्त्री बनेका छन् । पञ्चायतीर बहुदलीय व्यवस्थामा पनि यहाँवाट कोही पनि प्रधानमन्त्री बनेका थिएनन् । 
उत्तरी इलामको साँखेजुङमा जन्मिएका खनालले संविधान सभाको निर्वाचनमा इलाम क्षेत्र नं. १ वाट विजय प्राप्त गरेका हुन् । खनाल प्रधानमन्त्री बन्ने भएपछि जिल्लास्थित पार्टी कार्यकर्तामा उत्साह आएको छ ।
२०४८ र २०५१ मा इलाम क्षेत्र नं. १ बाट संसदीय निर्वाचन जितेका खनाल २०५६ को निर्वाचनमा भने सोही क्षेत्रमा पराजित बनेका थिए । संविधान सभा निर्वाचनमा खनाल १७ हजार छ सय ५५ मत ल्याएर विजयी भएका हुन् ।
२००६ साल चैत ६ गत तुङ्गनाथ र मधुमाताको जन्तरे -सातौ) पुत्रका रुपमा खनाल जन्मिएका हुन् । कृषिमा आश्रति खनाल परिवारले उनको प्रारम्भिक शिक्षादीक्षा गाउँमा नै दिलाएका थिए । खनालले साँखेजुङस्थित तत्कालिन साँखेजुङ मिडिल स्कुलमा कक्षा ७ सम्मको अध्ययन गरेका हुन् । त्यसपछि सदरमुकामको तत्कालिन आदर्श पब्लिक स्कुलमा माध्यमिक स्तरको पढाई पुरा गरे । २०२८/०२९ सालमा काठमाडौंको त्रिचन्त्र कलेजमा आएस्सी अध्ययान गरेका हुन् ।
२०३९ सालमा नेकपा मालेका महासचिव बनेका खनाल लामो समयसम्म भूमिगत राजनीतिमा व्यस्त थिए । खनालले २०२५ सालतिरै कम्युनिश्ट पार्टीको सदस्यता लिएका हुन् ।  'बालक कालदेखिनै उहाँको स्वभाव तिक्ष्ण र क्रान्तिकारी थियो,' दाजु प्रधानमन्त्री बनेकामा मख्ख पोटनाथ खनालले भने, 'परिवारको मात्र नभएर समग्र जिल्लाबासीमा नै उत्साह छाएको छ ।' खनालका सात दाजुभाई मध्ये तीन जना झापामा खेती किसानीमा व्यस्त छन् भने एक जना शिक्षक र एक राजनीतिक कार्यकर्ता छन् । दुई दाजुको मृत्यू भईसकेको परिवारले जनाएको छ ।
'लामो सयमको राजनीतिक जोडघटाउ पछि इलामकै व्यक्ति प्रधानमन्त्री हुने पक्का भएपछि उत्साहीत छौं,' नेकपा एमालेका जिल्ला सचिव गणेश वरालले भने, 'पहिलो पटक यो जिल्लावाट प्रधानमन्त्री पदमा खनाल पुग्नु भएकोले विकास निर्माणलगायत जिल्लाको हीतमा काम हुने विश्वास लिएको छु ।'
जिल्लावाटै पहिलो प्रधानमन्त्रीको रुपमा खनाल चयन भएपछि अन्य राजनीतिक दलका कार्यकर्ताले खुशी मानेका छन् । 'सात महिनालामो राजनीतिक जटिलता चिर्दै मूलकको निकाश दिने तहमा आफ्नै जिल्लाको व्यक्ति छानिएकाले हषिर्त छु,' यसअघि दुई पटकको आम निर्वाचनमा खनालसँग प्रतिष्पर्धा गरेका नेपाली कांग्रेसका महासमिति सदस्य तोयनाथ भट्टराईले भने, 'उहाँको कार्यकालमा मूलुकले नयाँ संविधानसँगै दिगो शान्ति र सुव्यवस्था प्राप्त गरोस ।'     
संंविधान सभाको निर्वाचनमा विजय प्राप्त गरेका तीनै उम्मेद्वारले ऐतिहासिक भूमिका निर्वाह गर्ने अबसर पाएका छन् । क्षेत्र नं. २ बाट निर्वाचित एमाले नेता सुवाशचन्द्र नेम्बाङ संविधान सभाको सभाध्यक्ष बनेका छन् । क्षेत्र नं. ३ वाट निर्वाचित कांग्रेस नेता कुलवहादुुर गुरुङ जेष्ठ सभासदको हैसियतले संविधान सभाको अध्यक्ष भएको बेला मूलुकमा दुईसय ४७ बर्ष पुरानो राजतन्त्रको अन्त्य गरेर गणतन्त्र घोषणा गरिएको थियो । यी तीनै इलामे सभासदले माध्यमिक स्तरको पढाई सदरमुकामस्थित आर्दश उच्च माध्यमिक विद्यालयमा गरेका हुन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...