फेसबुकमा एउटा भेट सन्दर्भः भ्यालेन्टाइन डे

राजेश विद्रोही

फेसबुकको ‘च्याट बक्स’ मा अचानक एउटी युवती झुल्किइन्, ‘नमस्ते’
–‘नमस्ते’ मैले पनि फर्काएँ ।
–‘कस्तो हुनुहुन्छ ?’ उनको दोस्रो प्रश्न ।
–‘सञ्चै, तिमी नि ?’ म पनि कुराकानीमा अग्रसर भएँ ।
–‘म पनि सञ्चै छु । कहाँ हुनुहुन्छ ?’ उनले प्रश्नको क्रम रोकिनन् ।
–‘अफिसमा छु । तिमी चाहिँ कहाँ छौ ?’ म पनि जवाफ दिँदै प्रश्नको क्रम जोड्दै गएँ ।
–‘म घरमा छु ।’
त्यसपछि धेरै कुराकानी भए–पेशागत, पारिवारीक र व्यक्तिगत पनि । उनीसँग मेरो त्यति राम्रो परिचय थिएन । एकपटक थोरै समयको लागि भेटसम्म भएको हो तर उनको आकृतिलाई म सम्झिन सक्दिन थिएँ । अपरिचयमा पनि एक प्रकारको आकर्षण थियो । त्यस दिन फेसबुकमा घण्टौंसम्म कुराकानी भयो र अन्त्यमा दुवैजना एक–अर्कालाई ‘बाई’ भन्दै छुट्टियौं ।
भोलिपल्ट फेरि त्यही समयमा फेसबुक ‘लग इन’ गरें, च्याट बक्समा उनी पनि उपस्थित थिइन् । फेरि सुरु भयो, कुराकानीको क्रम । कतिपय प्रश्न हिजोकै दोहोरिए, उत्तर पनि तिनै थिए । सम्भवतः हामी दुवै कुराकानीलाई लम्ब्याउने बहाना खोज्दै थियौं ।
कुराकानीसँगै आत्मीयता पनि बढ्दै गयो ।
उनले लेखिन्, ‘मलाई तपाईंसँग बोल्न पाउँदा खुसी लाग्छ ।’
–‘मलाई पनि’ मैले थपें ।
–‘खाना खानुभयो ?’ उनले प्रश्न गरिन् ।
–‘छैन, तिमीले खायौ ?
–‘मैले त खाइसकें’ उनले लेखिन् ।
अब यो दिनचर्या भइसकेको थियो । हरेक दिन निर्धारित समयमा म फेसबुक ‘लग इन’ गरेर उनलाई खोज्थें, उनी पनि झुल्किन्थिन् । उनलाई देखेर खुसी लाग्थ्यो, सायद उनलाई पनि । सायद, किनभने म उनको मनमा चिहाउन सक्दिन थिएँ । तर, उनको कुराकानीबाट म यस्तै अनुभूति गर्थें ।
थाहा छैन, उनीसँग मेरो कुन जन्मको साइनो थियो । लामो समयदेखि एक्लोपन महसूस गरिरहेको मेरो जीवनमा उनी एउटा मीठो अनुभूति बनेर आइन् र मेरो मनको शान्त तलाउमा ढुङ्गा फालेर तरङ्गित बनाइदिइन् । उनीसँगको सामिप्यताले म रोमाञ्चित भएँ ।
एउटा अदृश्य धागो, जसले मलाई क्रमशः उनीतर्फ तानिरहेको थियो । एउटा अबोध बालक पुतलीतर्फ आकर्षित भएजस्तै म नजानिँदो पाराले उनीतर्फ तानिँदै गएँ । उनीसँग कुरा नगर्दा मलाई उकुसमुकुस हुन थाल्यो । यसअघि यस्तो कहिल्यै भएको थिएन । त्यो छट्पटी र पीडा पनि मीठो लाग्न थालेको थियो ।
‘एकै नजरमा प्रेम’ भन्ने परम्परागत भनाइ यो सन्दर्भमा गलत साबित भएको थियो । उनीसँग मेरो भेट फरक सन्दर्भमा भएको थियो तर त्यति बेला उनीप्रति मेरो कुनै भावनात्मक आकर्षण थिएन । औपचारिकताबस केही बेर कुराकानी भएको थियो र हामी छुट्टिएका थियौं ।
फेसबुकमा उनले नै ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएकी थिइन् र अरुलाई जस्तै उनलाई पनि मैले विनाउद्देश्य स्वीकार गरेको थिएँ । भौतिक भेटघाटमा पलाउन नसकेको माया फेसबुकको निर्जीव मैदानमा कसरी पलायो, म अहिले पनि भन्न सक्दिनँ । उनको काल्पनिक छवि मेरो हृदयमा कसरी गाडियो भने त्यसलाई म निकाल्न नसक्ने अवस्थामा पुगेको थिएँ ।
भनिन्छ, प्रेम हृदयको साइनो हो । त्यसैले त प्रत्यक्ष भेटघाटविना नै उनको हृदयसँग मेरो हृदय साटिएको थियो । हृदयमा एक प्रकारको हाहाकार मच्चिएको थियो, समय कुनै एउटा विन्दुमा पुगेर टक्क रोकिएझै अनुभूति हुन्थ्यो । फेसबुकमा जब उनीसँग कुरा गर्न थाल्थें, समय बितेको पत्तै हुँदैन थियो ।
रातभरि कोल्टे फेर्थें, निद्रा कोशौं टाढा भाग्थ्यो र हृदयको गहिराइमा एउटा मीठो पीडा हुन्थ्यो ।
फेसबुकमा सम्वाद जारी नै थियो । हरेक दिन हामी घण्टौं सम्वाद गथ्र्यौं । सामान्यतः अर्थहीन सम्वाद तर, प्रेममा तर्क र दर्शनको स्थान हुँदैन । सायद त्यसैले ती अर्थहीन सम्वाद पनि मेरालागि महत्वपूर्ण थिए । घरी–घरी म आफैसँग सोध्थें, ‘मलाई यो के हुँदैछ ? के यो सही हो ?’ जवाफ कुनै शास्त्रमा थिएन । म उत्तरविहीन भएर छट्पटिन्थें । म त्यसै पनि भावुक र एकान्तप्रिय मान्छे । उनीसँगको निकटताले मलाई अझै एकान्तप्रिय बनाएको थियो । मनमा अनेकौं तर्कनाहरु आउँथे र हृदयलाई बोझिल बनाउँथे । रातको नीरवतामा जीवनको परिभाषा खोज्थें र त्यसभित्र प्रेमको अर्थ ।
भनिन्छ, ‘प्रेम र युद्धमा सबै जायज हुन्छ ।’ तर म दोधारमा थिएँ, ‘के उनीसँगको मेरो सम्बन्ध जायज छ ?’ यस्तै प्रश्न मेरो मस्तिष्कमा पटक–पटक घन बनेर बज्रिन्थ्यो । मैले कयौंपटक उनीसँग टाढिने प्रयास नगरेको होइन तर म उनीसँग टाढिन नसक्ने अवस्थामा पुगेको थिएँ ।
एक दिन उनले च्याट बक्समा लेखिन्, ‘मैले पहिले त जस्ट फ्रेण्डसिप गर्न चाहेको थिएँ तर तपाईंसँग यति क्लोज कसरी भएँ, मलाई नै थाहा छैन ।’
‘मलाई पनि त्यस्तै भएको छ ।’ मैले जवाफमा लेखें, ‘म तिमीविना बाँच्न सक्दिनँ ।’ 
तर, उनले लेखिन्, ‘म आमालाई असाध्यै माया गर्छु, उहाँको आँखामा आँशु देख्न सक्तिनँ ।’
‘तिमी सही छौ । आमा–बुबालाई खुसी दिनु सन्तानको कर्तव्य हो’, मैले थपें, ‘यो (प्रेम) त भावनाको साइनो हो, त्यसैले म तिमीलाई फोर्स गर्दिनँ ।
‘म जति टाढा भए पनि तपाईंलाई बिर्सिन सक्तिनँ’, उनी लेख्दै गइन्, ‘तर मलाई डर लाग्छ ।’
‘त्यसो भए अब यो सम्बन्धलाई समाप्त गरौं’, च्याट बक्समा मैले थपें, ‘सायद हाम्रो सम्बन्धको नियति नै यही हो ।’
‘हामी राम्रो साथी त हुन सक्छौं नि,’ उनले अर्को प्रस्ताव राखिन् ।
‘अब हामी नबोलौं । बोल्दै जाँदा सम्बन्ध झन् नजिक हुँदै जान्छ र पछि छुट्टिन गाह्रो हुन्छ ।’ प्रत्युत्तरमा मैले लेखें ।
‘बोल्दैमा त के हुन्छ र ?’ उनको प्रश्न थियो ।
‘म अब आउट हुन्छु ।’
‘प्लिज, दुई मिनेट बोलौं ।’ उनको आग्रह थियो ।
उनको आग्रहलाई अस्वीकार गर्दै मैले फेसबुक ‘लग आउट’ गरें । उनले मोबाइलमा फोन गरिन्, मैले उठाइनँ । उनले धेरै बेरसम्म पटक–पटक फोन गरिन् तर मैले उठाइनँ । उनले म्यासेज पठाइन्, ‘सरी ।’ मैले पनि म्यासेज पठाएँ, ‘रातिदेखि मलाई सञ्चो छैन, त्यसैले म एक्लोपन चाहन्छु । म तनावमा छु ।’ त्यसपछि उनको म्यासेज आयो, ‘अबदेखि मलाई म्यासेज पनि नपठाउनू, फोन पनि नगर्नू । मैले तपाईंलाई साथी बनाएर गल्ती गरेछु ।’
उनको वाक्य मेरो मुटुमा चस्स बिझ्यो । त्यो चोट सहने सामथ्र्य मसँग थिएन तर सहनुको विकल्प पनि थिएन । मैले म्यासेज पठाएँ, ‘सरी फर माई मिस्टेक ।’
मैले उनीसँग बोल्न नचाहेको होइन । म उनलाई मात्र होइन, आफैलाई पनि ढाँटिरहेको थिएँ । वास्तवमा म जानी–जानी नै झगडा गरेर उनीसँगको सम्बन्ध समाप्त गर्न चाहन्थें तर त्यसपछि छट्पटी झन् बढ्यो । मलाई फोन गरुँ–गरुँ लाग्थ्यो, म्यासेज पठाउन मन लाग्यो । फेरि फेसबुकमा बस्न मन लाग्यो तर मैले आफूलाई बलपूर्वक रोकें ।
मलाई रातभरि निन्द्रा लागेन र तनावको पारो चढ्दै गयो । मैले आप्mनो मोबाइल अफ गरें । घरी–घरी लाग्थ्यो, यो तनाव र छट्पटीबाट मुक्त हुन केही साता वा महिनाका लागि कतै टाढा जाऊँ तर त्यो सम्भव थिएन । म बडो अप्ठ्यारो स्थितिमा थिएँ । मलाई लाग्यो, यो कस्तो सम्बन्ध हो, न जोड्न सकिने न भत्काउन सकिने । जीवन सायद यस्तै अप्ठ्याराहरुको नाम हो ।
भोलिपल्ट बिहानै घरबाट निस्किएँ । उनलाई बिर्सिने कोशिस जति गर्थें, म आफैलाई बिर्सिन्थें । उनीप्रतिको माया झन्–झन् गाढा बन्दै जान्थ्यो । म बुझ्थें, यो ठीक होइन । मेरो उनीप्रतिको यो लगाव र एकोहोरोपन उचित होइन भन्ने मलाई थाहा थियो तर प्रेममा मस्तिष्कभन्दा हृदय प्रबल बन्दो रहेछ र हृदयमा तर्कको स्थान हुँदैन । ।
जति कोशिस गरे पनि मैले आफूलाई रोक्न सकिनँ । बेलुकातिर उनलाई फोन गरें, उनले फोन उठाइन् । ‘नबोल्ने मान्छेले किन फोन उठाएको ?’ मैले ठट्टामिश्रित प्रश्न गरें । 
‘नबोल्ने मान्छेले किन फोन गरेको ?’ जवाफमा उनले पनि प्रश्न नै हुत्याइन् ।
‘मैले गरे पनि तिमीले नउठाएको भए हुन्थ्यो नि ।’ मैले भनें ।
‘मेरो मोबाइलमा आएको फोन म उठाउँछु, तपाईंले चाहिँ किन गर्नुभएको ?’ उनले प्रश्न गरिन् ।
एक छिन त म केही बोलिनँ, फेरि भनें, ‘मैले आफूलाई रोक्न सकिनँ, धेरै तनाव भयो ।’ उनले भनिन्, ‘तपाईं आफूलाई मात्र सोंच्नुहुन्छ । मलाई चाहिँ कम तनाव भयो र ?’
‘कारण त तिमी नै हौ ।’ मैले दोष उसकै जिम्मा लगाएँ ।
‘अँ, आफै रिसाउनुहुन्छ अनि दोष मलाई लगाउनुहुन्छ । मलाई सारै चित्त दुख्यो ।’ उनले प्रतिवाद गरिन् ।
‘मलाई धेरै गाह्रो भयो ।’ मैले लेखें ।
‘मलाई पनि ।’ उनले थपिन् ।
तनाव र छट्पटीले गर्दा मलाई अघिल्लो रात खान मन लागेको थिएन । उनले पनि खाइनछिन्, उनलाई पनि निन्द्रा लागेनछ ।
‘अब मसँग बोल्न नछाड्नुस है ।’ उनले लेखिन् । मलाई पनि उनीसँग नबोल्ने मन त कहाँ थियो र ? तर, परिस्थिति नै त्यस्तै थियो । पछि दुर्घटना हुनुभन्दा समयमै मनलाई सम्हाल्नु उचित हुने निष्कर्षमा पुगेको थिएँ । तर, मन आफ्नो नियन्त्रणमा नहुँदो रहेछ । यो सम्बन्ध उनको पढाइमा पनि तगारो बन्न खोज्दै थियो । त्यसैले म उनीबाट टाढिन खोज्थें तर मनले मान्दैन थियो । कल्पनामा हरेक समय उनी नै आउँथिन् ।
हरेक दिन कयौंपटक फोनमा कुरा गथ्र्यौं । म जब सम्हालिन खोज्थें, उनी फोन गरेर बिथोलिदिन्थिन् । थाहा छैन, फोनमा के कुरा गथ्र्यौं तर गफ कहिल्यै सिद्धिँदैन थियो ।
फोनमा कुरा गरेर फेरि च्याटमा बस्ने सम्झौता हुन्थ्यो र हामी फेरि च्याटमा झुम्मिन्थ्यौं ।
‘म आफूलाई कन्ट्रोल गर्ने प्रयास गर्छु तर गाह्रो हुँदो रहेछ ।’ उनी लेख्थिन् ।
‘सम्झौता गर्नुपर्छ’, म सम्झाउँथे, ‘जीवन नै सम्झौता हो ।’
‘म तपाईंलाई कसरी बिर्सिन सक्छु ?’ उनी अर्को वाक्य थप्थिन् ।
‘प्रेम पाउनुमात्र पनि त होइन । रोजेको सबै कुरा कहाँ पाइन्छ र ? गुमाउनुको पीडामा पनि एउटा आनन्द हुन्छ ।’ मनले नमाने पनि म लेख्थें ।
‘खै के हो ?’ उनी अल्मलमा पर्थिन्, सायद ।
‘अब निद्रा लागेन ?’ मेरो प्रश्न हुन्थ्यो ।
‘लागेन ।’ उनको छोटो उत्तर ।
‘बिरामी हुन्छौ ।’ म सम्झाउँथे ।
‘धेरै माया नगर्नुस् ।’ उनी भन्थिन् ।
‘गर्न मन लाग्छ ।’ म थप्थें ।
कुरा यसरी नै लम्बिँदै जान्थ्यो र घडीको सुई घुमेको पत्तै हुँदैन थियो । हाम्रो सामाजिक–पारिवारिक पृष्ठभूमि र परिवेशको कुरा गथ्र्यौं अनि हाम्रो सम्बन्धको परिणाम सम्झिएर झस्किन्थ्यौं ।
फेसबुकमा हाम्रो भेट अहिले पनि जारी नै छ । मलाई थाहा छ, यो सम्बन्धको परिणाम मेरो लागि दुःखद् हुनेछ । त्यो अवस्थालाई झेल्ने सामथ्र्य म कसरी जुटाउन पाउँला, अहिले कल्पनामात्रले पनि मेरो हृदयलाई झस्काउँछ । तर, सम्भावित दुःखद् परिणामको पूर्वाभाष हुँदाहुँदै पनि म यो सम्बन्धलाई त्यतिञ्जेलसम्म जीवित राख्न बाध्य छु ।
haami_1@yahoo.com

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...