शाखा टिकाउन कार्यालय-प्रमुख कुचो लाउँदै


कार्यालय प्रमुख आफैँले कार्यालयको सरसफाइ गर्छन् भन्दा सायद पत्याउन मुस्किल पर्ला । तर, सिन्धुलीमा रहेको जनकपुर चुरोट कारखानाको उपशाखा कार्यालयमा यस्तै दृश्य देखिन्छ ।
कार्यालयमा रहेका एक मात्र पियन परशुराम पौडेलले अवकाश पाएपछि कार्यालय प्रमुखसहित अन्य तीन कर्मचारी बाँकी छन् । उनीहरूले पालो लगाएर कार्यालयको सरसफाइ गर्ने गरेका छन् । चुरोटको बिक्रीमा कमी आएपछि शाखा बन्द हुने डरले उनीहरू आफैँले कार्यालय सरसफाइ गर्न थालेका हुन् ।
पाचँ कर्मचारी दरबन्दी रहेको उपशाखामा अहिले चारजना कर्मचारी मात्र रहेका छन् । ०३७ मा स्थापना भएको उपशाखाले पछिल्लो समयमा बिक्रीवितरण गर्न नसकेकाले दरबन्दीअनुसार कर्मचारी नपठाएको एक कर्मचारीले बताए । विगतमा चार लाखसम्मको कारोबार गर्दै आएकामा अहिले ३० हजार मात्रको कारोबार भएको छ । बिक्रीमा कमी आएका कारण शाखा नै 'कोल्याप्स' हुन लागेको कर्मचारी बताउँछन् ।
सबै कर्मचारी बजारमा चुरोटको पाकेट बोकेर हिँड्दा पनि बिक्री गर्न नसकिएको उपशाखा सहायक दुर्गाप्रसाद ढकालले बताए । 'पहिला बजार नहिँड्दा पनि अर्डरको सामान पुर्‍याउँदैमा फुर्सद हँुदैन थियो, अहिले दोकान-दोकानमा सोध्न जाँदा पनि बिक्री हुँदैन,' उनले भने ।
अर्का कर्मचारी केदारकुमार कार्की भने यो कर्मचारीको दोष नभएर कारखाना प्रशासनको दोष भएको बताउँछन् । 'तीन महिनासम्म कारखाना बन्द हुँदा पनि चासो नदिने, अनि अहिले बिक्री भएन भनेर हुन्छ ?' उनले भने, 'बजारमा हिँड्नका लागि सवारी खर्च भनेर चार सय ५० रुपैयाँ दिने गरेको छ । चार-पाँच लिटर तेल आउँछ, कसरी महिनाभर पुर्‍याउने ?'
कार्यालय प्रमुख ओमकार हमाल पियन नभएकाले अफिसमा आफूहरूले नै कुचो लगाउने गरेकोे बताउँछन् । बिक्रीवितरणमा कमी आएकाले तलब खानसमेत गारो परेको उनको भनाइ छ । शाखा कोल्याप्स हुने हल्ला सुने पनि आधिकारिक जानकारी भने आइनसकेको हमालले बताए ।
'शाखा टिकाउनका लागि भए पनि कुचो लगाउनुपरेको छ,' उनले भने । कारखाना सरकारी स्वामित्वमा रहेको भए पनि वेलावेलामा बन्द हुने भएकाले उपभोक्ताहरूले अन्य चुरोट प्रयोग गर्न थालेको हमाल बताउँछन् । उनले भने, 'सरकारले कारखानालाई बन्दमुक्त बनाउने हो भने यसको बिक्री कहिले घट्नेछैन,' उनले दाबी गरे । कारखानाले देउराली, गैँडा फिल्टर, गैँडा ननफिल्टर र याक गरी चारवटा उत्पादन गरे पनि सिन्धुली उपशाखाले भने याक मात्रै बिक्री गर्दै आएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...