अमर खड्का
माओवादी लडाकु रोहिणी गौतम यतिवेला एसएलसीको तयारीमा छन्। झापा, शनिश्चरेमा कक्षा ७ मा पढ्दापढदै साथीभाइको लहैलहैमा लागेर पढाइ त्यागे पनि २३ वर्षीया गौतम ६ वर्षपछि एसएलसीको माचोमा छन्। टेस्ट परीषामा राम्रो अंक ल्याएपछि उनी एसएलसीका लागि हौंसिएकी छन्।
'ढिलै भए पनि पढ्न पाएकोमा खुसी छु। टेस्ट पनि राम्रो भयो। एसएलसी झन राम्रो गर्ने आशा छ,' उनले भनिन्।
अर्काले उक्साएको भरमा माओवादी पार्टीमा प्रवेश गरेपछि उनले त्रासले गर्दा केही समय भारतमा गएर बस्नुपर्यो। फर्केर आउनसाथ उनलाई लडाकु बनाइयो। अहिले इलामको चुलाचुलीको प्रथम डिभिजन मुख्यालयमा ड्युटीबाहेकको सबै समय पढाईमा सदुपयोग गर्छिन्। बर्जुवा शिक्षा भनेर विद्यालयस्तरको पढाइ छाडेकोमा उनलाई पछुतो छ।
माओवादीद्वारा बेनी आक्रमणसहित पूर्वका प्रायः अधिकांश लडाइँमा सहभागी भएका मकवानपुरका समीर लामा पनि एसएलसीको तयारीमा छन्। चरम गरिबीका कारण पढाइ त्यागेर माओवादीमा लागेकाले पढ्ने सुनौलो सपना बीचमा रोकिए पनि त्यसलाई निरन्तरता दिएर प्रगति गर्ने सोचमा छन् समीर।
उनले मकवानपुरको हाडीखोलास्थित निर्मल माध्यमिक विद्यालयमा कक्षा–८ मा पढ्दापढ्दै छाडेका थिए। 'नियमित पढ्न पाएको भए यतिबेलासम्म पढाइबाटै प्रगतिको फड्को मारिसक्थे होला,' उनले भने, 'ढिलै भए पनि हिम्मत घटेको छैन।' एसएलसी सकेर विज्ञान पढ्ने उनको सोच छ।
बाबु र काका माओवादी भएकै कारण पढाइ बिथोलिएको बताउने धनकुटा चानुवाका श्रीकृष्ण खड्का समेत चैत १० देखि सुरु हुने यस वर्षको एसएलसीका लागि मरिमेट्दै छन्।
गाउँकै सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा बाबुराम खड्का र काका रुकमान खड्काकै कारण माओवादीमा प्रवेश गरेपछि उनी लडाकु बन्न पुगे।
'कलिलो मनस्थितिले गर्दा लागेँ, अहिले पछुतो छ। धेरै समयपछि पढाइ सुरु गर्दा भने निकै असजिलो महसुुस हुँदोरहेछ,' उनले भने। पढाइ त्यागेका माओवादी लडाकु यतिबेला योग्यताका लागि भए पनि धमाधम परीक्षाको तयारीमा जुटेका छन्।
झापा, कोहवारका भेषराज दाहाल 'उमेर गए पनि पढनलाई छक्दैन' भन्ने मनासय लिएर परीक्षाका तयारीमा छन्। उनले भने, 'माओवादीमा लागेलगतै संकटकाल लागु भयो। त्रासले गाउँ बस्न छाडियो। पढाई पनि रोकिएन अहिले त चिन्ता लाग्छ।'
माओवादीको प्रथम डिभिजन मुख्लालय चुलाचुलीका लडाकुले यस वर्ष प्राइभेट तर्फ जिल्ला शिक्षा कार्यालय झापामा २ सय ६५ जनाले फाराम भरेेका थिए। फाराम भरेकामध्ये टेस्ट परीक्षामा ३७ जना सहभागी भएनन्।
सहभागी सतप्रतिशत उत्तीर्ण भएको शिक्षा कार्यालयका परीक्षा फाँटका ज्ञानवहादुर पौडेलले बताए।
परीक्षाको तयारीमा जुटेका लडाकुलाई शिविरभित्रै पठनपाठनका लागि शिक्षकको व्यवस्था मिलाइएको मुख्यालयका कमान्डर प्रतीक्षाले जानकारी दिए। माओवादीको प्रथम डिभिजनको मुख्यालय इलामको चुलाचुलीसहित सहायक शिविर दानाबारी, मोरङको याङ्सिला र टाँडीका लडाकु पनि परीक्षाको तयारीमा जुटेका छन्। याङ्सिला र टाँडी शिविरका लडाकुको फाराम स्थानीय विद्यालयबाट भरेको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...