झलनाथ कमरेडको बालुवाटार डेरा


झलक सुवेदी

०४६ साल चैत २७ गते साँझ पोखरा कारागारको एउटा कोठामा हामी केही राजबन्दी रेेडियोमा कान थापेर बसेका थियौँ । दिनको जम्मा ६ पटक नेपालीमा समाचार भन्ने गरेको रेडियो नेपालबाहेक सञ्चारका अन्य छिटा माध्यम पनि हामीसँग थिएनन् । श्रीप्रसाद जिटी र तारापति सुुवेदीलगायतका चारजना स्याङ्जाली कांग्रेसी बन्धुहरू थिए अनि मालेका नेता केशवलाल श्रेष्ठ । हाम्रो टोलीका म र रवीन्द्र अधिकारीलगायत पाँचजना विद्यार्थी थियौँ । २७ चैतको टुँडिखेलको विशाल आमसभा । १७ सालपछि पहिलोपटक नेपाली जनताले राजनीतिक दलमाथि प्रतिबन्ध हटेको र जनआन्दोलनका अगाडि राजा झुकेको खुसियालीमा आमसभा भएको थियो । सभामा बोल्ने वक्ताको नाम समाचार पढ्नेले फटाफट लिएको थियो । गणेशमान, कृष्णप्रसाद, मनमोहन, साहना प्रधान............आदि ।
हामी चाहन्थ्यौँ- मालेका नेताको पनि नाम आओस् । मालेले पञ्चायतको विरोधमा गरेको संघर्षले मान्यता पाओस् । निकैबेरपछि समाचारवाचकले कमसेकम चारपटक गल्ती गर्दै कमरेड झलनाथ खनालको नाम लियो । उसले राम्रोसँग खनालको नाम उच्चारण पनि गर्न सकेन (बरु म गिरफ्तार भइसकेपछि कम्तीमा दुईजना प्रहरी अधिकारीले मलाई नै झलनाथ हो कि भनेर सोधेका थिए) । हामीलाई एकप्रकारको खिन्नता भयो, संसदीय व्यवस्थामा कांग्रेससँग टक्कर लिनुपर्ने पार्टीमा सार्वजनिक रूपले लोकपि्रय छवि भएका नेता कम थिए, त्यसमाथि पार्टीको मुख्य नेतृत्व सीमित राजनीतिक घेराभित्र मात्र परिचित थियो । हामीलाई राधाकृष्ण मैनालीलाई उक्त अवसरमा बोल्न दिएको भए हुन्थ्यो भन्ने पनि लाग्यो । त्यसको दस दिन पुग्दा-नपुग्दै तिनै खनाल नेपालको पहिला कम्युनिस्ट मन्त्रीमध्येका एकजना भए । अहिले झन्डै एक्काइस वर्षपछि उनी नेपालकै चौथो कम्युनिस्ट प्रधानमन्त्री पनि हुन पुगेका छन् । (चौथो कम्युनिस्ट प्रधानमन्त्री त्यो पनि यो बितेको २१ वर्षमा !)
यो एक्काइस वर्षमा गण्डकीमा धेरै पानी बगेझैं स्वयं खनालको राजनीतिक जीवनमा अनेक उतारचढाव आएका छन् । भूमिगत कालमा त्यति लामो समय पार्टीको नेतृत्व गरेका उनी अन्तरिम कालपछि नै झन्डै पार्टीमा पनि कमजोर हुँदै गए । कतिसम्म भने पार्टीको चर्चित चारजनाको गुटबाट बाहिरिए, पोलिटब्युरोका लागि समेत आवश्यक ठानिएनन् । तर झन्डै किनारामा धकेलिएका उनी संविधानसभाको चुनावमा पार्टीबाट जित्ने मुख्य एकजना मात्र नेता बनेपछि एकाएक उदाए र अहिले प्रधानमन्त्रीको रूपमा बालुवाटार डेरा सर्न लागेका छन् । सात सालदेखि आजसम्मको नेपाली राजनीतिको इतिहासमा एकजना प्रधानमन्त्री पनि पूर्णकाल पदमा नरहेको अवस्थामा बालुवाटार केवल अल्पकालीन डेरामात्र बन्ने गरेको छ । कुरा त केवल कोही त्यहाँबाट र्फकँदा जनताको मनमा कति सम्मान आर्जन गरेर र्फकन सक्यो भन्ने मात्र हो । प्रधानमन्त्री हुनु आफ्नै अपमानको कुरा पनि हुनसक्छ भन्ने कुराको सबैभन्दा ताजा र राम्रो उदाहरण भने निर्वतमान प्रधानमन्त्री माधव नेपाल नै छन् । चतुर विश्लेषक खनाल यस मामिलामा अनभिज्ञ छन् भनेर ठान्न अवश्य मिल्दैन । दलीय राजनीतिमा हुने नेताहरूको उत्थान या पुनर्रुत्थानको खनाल आफैं सफल उदाहरण बनेका छन् ।
उनका अगाडि चुनौती छन् भनेर भन्नु केवल औपचारिक कुरा हो । नेपाली राजनीतिका आजका समस्या या चुनौतीको घोडा चढेर नै उनी सिंहदरबारतिर सवार भएका हुन् । तर, भालुको घोडा चढेपछि सकुशल ओर्लन कठिन नै हुन्छ । यतिवेला प्रधानमन्त्री भएका खनाल पनि एकप्रकारले भालुको घोडा चढेका छन् । सकुशल ओर्ले भने सिकारी ठहरिने छन् अन्यथा तिसमार खाँ मात्र बन्नेछन् ।
उनको पहिलो चुनौती पूर्वप्रधानमन्त्री नेपालको वरपर संगठित भएर, उनको लोसेपना र संसदीय गणितको खेलबाट विनाडोको फाइदा उठाएर रमाइरहेको प्रतिक्रियावादी जत्था हुनेछन् । कमरेड केपी ओलीले प्रधानमन्त्रीका रूपमा खनालको नाम स्थायी समितिको बैठकमा पेस गरेको रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने कुटिल षड्यन्त्रको तहत थियो भन्ने कुरा कमसेकम काठमाडौंको कक्टेल र चिया पार्टीका सहभागीलाई थाहा भएको कुरा हो । मुलुकलाई माओवादी निषेधित बाटोमा हिँडाउने, संविधान कसैगरी बन्न नदिने, शान्तिप्रक्रियामा माओवादीलाई थिल्थिलो पारेर एउटा हरुवा समर्पणकारी बनाउने, बहाना खोजेर जेठ १४ पछि सत्ता कब्जा गर्ने मनसाय राख्ने त्यो वर्ग जेएनको प्रधानमन्त्री पदमा भएको अप्रत्यासित जितबाट तिलमिलाएको छ । त्यसले एकातिर कांग्रेसलाई सरकारमा आउन नदिन 'लोकतान्त्रिक' बहानाहरू बनाउनेछ, मधेसका नाममा सत्ताको तर मारेर ढाडिएकाहरूलाई उक्साउनेछ र पत्रपत्रिकामार्फत प्रचारयुद्ध छेड्नेछ ।
खनाललेे यस प्रवृत्तिलाई मन्साउन शान्तिप्रक्रियालाई भरपर्दो र स्वीकार्य ढंगले छिटो पूरा गर्नुपर्नेछ । कमसेकम माओवादी लडाकुहरूलाई समायोजन र पुनस्र्थापनमा जान चाहनेहरूलाई विभाजन गरी अलग-अलग पार्ने काम तत्काल थालिहाल्नुपर्ने छ । यसो गर्न विशेष समितिमा रहेका गैरसत्ताधारी दलका प्रतिनिधिहरू बाधक बनेमा पनि काम अगाडि बढाउने र अवरोध गर्नेको भण्डाफोर गर्ने बाटो अपनाउन सकिन्छ । यसो गरेर मात्र जनतामा वर्तमान गठबन्धनको औचित्य स्थापित गर्न र समग्र शान्ति तथा संविधान निर्माणका बारेमा जनतामा आशा जगाउन सकिनेछ । आशावादी जनता मात्रै अप्ठ्यारोको सामना गर्न सहयोगीसिद्ध हुनेछन् ।
दोस्रो चुनौती सेनालगायतको सुरक्षा निकायलाई अभिभावकत्व प्रदान गर्ने जिम्मेवारी हुनेछ । यसका लागि खनाल आफैंले रक्षा मन्त्रालय लिनु र सैनिक नेतृत्वसँग संवाद गर्नु उपयुक्त देखिन्छ ।
तेस्रो चुनौती राष्ट्रपति यादवका गैरसंवैधानिक धाकधक्कुलाई नियन्त्रण गर्नु हुनेछ । लोकतन्त्र जननिर्वाचित सरकारमार्फत जनताले शासन गर्ने विधि हो र राष्ट्रपति त्यो व्यवस्थाको एउटा गहनामात्र हो भन्ने कुरा भुलेर राजनीतिक उखर्माउलो प्रदर्शन गर्ने वर्तमान राष्ट्रपतिका आकांक्षाहरूमा युरिया हाल्ने काम भारतीय संस्थापन र नेपालको एउटा गिरोहले गरिआएको छ । यस मामिलामा स्वयं खनालका दुई वर्ष अगाडिका गतिविधि पनि नकारात्मक थिए । यसलाई नियन्त्रण गरिएन भने द्वैध सत्ताको स्थितितिर धकेल्न पहिलो नम्बरको प्रतिक्रियावादी शक्ति ज्यान फालेर लाग्नेछ । भारतमा हालै उनीसँग गरिएको भनिएका कुराकानी र व्यवहार पनि यसमा शंका जन्माउन पर्याप्त छन् ।
चौथो चुनौती भने उनलाई भारतसँगका सम्बन्धहरूलाई सामान्यकृत गर्नु हुनेछ । अनिच्छा हुँदाहुँदै नेपालमा झलनाथ खनाल प्रधानमन्त्री बनेपछि भारतले नेपाल कूटनीतिमा आफ्नो पराजय भएको अनुभूति गरेको छ । उसले खनाललाई असफल बनाउन र भारतपरस्त भनेर चिनिएका नेपालका राजनीतिक दल या व्यक्तित्वहरूलाई प्रयोग गर्ने र तराईमा विध्वंश मच्चाउन अनेक खेल खेल्ने सम्भावना पनि रहन्छ । खनाल भारतको सत्तावृत्तमा परिचित नै छन् । उनले आफ्ना मित्रहरूसँगको सम्बन्धलाई भारतीय शासक वर्गलाई आश्वस्त पार्न र उनीहरूलाई आफ्ना नेपालप्रतिका नकारात्मक दृष्टिकोणहरू बदल्न मनाउन प्रयोग गर्न सक्छन् । सेकेन्ड ट्रयाक कूटनीतिक च्यानलहरूको निर्माण र प्रयोग गरेर यसलाई सन्तुलनमा ल्याउन प्रयास गर्नु उनको निकै ठूलो चुनौती हुनेछ ।
उनको अर्को चुनौती माओवादी अध्यक्ष प्रचण्डका महत्त्वाकांक्षा र व्यक्तित्वसँग आफ्नो औपचारिक पद र कर्तव्यसँग नबाझिने गरी तालमेल मिलाउनु हो । मुलुकलाई घनचक्करमा पारेर, अनिर्णयको बन्दी बनाएर, संविधानसभा या जननिर्वाचित संस्थाको औचित्य समाप्त पार्ने खेलमा लागेको देशभित्र र बाहिरको -हेर्नुहोस् भारतको दि टाइम्स अफ इन्डियाको अनलाइन संस्करणको टिप्पणी र हिन्दुको सम्पादकीय) दक्षिणपन्थी शक्तिलाई २० महिनाका अनेक हार र चक्करहरू व्यहोरेका प्रचण्डले प्रधानमन्त्री निर्वाचनमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएपछि परास्त पारेका छन् । यो घटनाले उनको धमिलिँदो छवि उजिल्याएको छ र उनी फेरि एकपटक देशका शीर्षनेता -स्टेट्सम्यान) का रूपमा दरिएका छन् । यसले प्रचण्डमा महत्त्वाकांक्षा र छिटो काम गरिसक्ने उत्साह दुवै जाग्न सक्छ । झलनाथले आफ्नो काम गर्ने शैलीमा छरितोपना ल्याएर तथा दृढ कदम चालेर नै प्रचण्डको व्यक्तित्वको छायाबाट प्रधानमन्त्री पदलाई जोगाउन सक्नेछन् । प्रचण्डमा पलाएको आत्मविश्वासलाई प्रयोग गरेर संविधान निर्माण र शान्तिप्रक्रियाको बाँकी काम सम्पन्न गर्न खनालले कति चतुर्‍याइँ देखाउन सक्छन् त्यसैमा उनको भविष्य र सम्भवतः नेपालमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्ने सम्भावना निहित हुनेछ ।
कमरेड खनाललाई यो तीन वर्षमा तेस्रोपटक नै बधाई दिइँदै छ । उनी संविधानसभामा निर्वाचित भई संसदीय दलको नेता अनि कार्यवाहक महासचिव बन्दा, पार्टीको पहिलो निर्वाचित अध्यक्ष बन्दा र यसपटक प्रधानमन्त्री बन्दा । टिभीहरूले देखउँदै छन् उनका घरमा फूलका गुच्छा लिएर आउनेहरूको लाइन लामो बन्दै गएको छ । यस्तो मौका जीवनमा कमै आउँछ । खनालले राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका स्थापित गर्ने अन्तिम अवसर पाएका हुनसक्छन् । आजै शपथ खाँदै गरेका खनाललाई सफलता मिलोस्, हामी अखबारी लेखकहरूले उही कामका लागि भनेर अर्को प्रधानमन्त्रीलाई चुनौती र अवसरका बुदा टिपोट गराउनु नपरोस् । बधाई कमरेड जेएन ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...