राष्ट्रपति डा. रामवरण यादव आज (शुक्रबार) धरान आउँदैछन् ।
यहाँस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आठौं दीक्षान्त समारोहमा सहभागी हुन राष्ट्रपति धरान आउन लागेका हुन् । कार्यक्रममा प्रतिष्ठानका पदेन कुलपति रहने प्रधानमन्त्री भने नआउने बुझिएको छ । उनको साटो कार्यक्रमको अध्यक्षता गर्न बिहीबार मात्रै विनाविभागीय मन्त्री नियुक्त भएका दुर्गालाल तुलाधर आउने निश्चित भएको प्रतिष्ठानका सूचना अधिकृत विजय रिमालले जनाए । राष्ट्रपति हेलिकोप्टरबाट धरान आउने सुरक्षा स्रोतले बताएको छ । राष्ट्रपति आउने भएपछि बिहीबार साँझदेखि नै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिष्ठानमा शुक्रबार २ सय २५ विद्यार्थी दीक्षित हुनेछन् । प्रतिष्ठानले यसपटक दीक्षित गर्ने विद्यार्थीहरुमा एमडी÷एमएस (सन् २००६ र २००७ समूह) का ५८, एमएस्सी (सन् २००६ र २००७ समूह) का ७, एमपीएच (सन् २००८ समूह) ९, एमबीबीएस (सन् २००२, २००३ र २००४ समूह) का ७३, बीडीएस (सन् २००२, २००३ र २००४ समूह) का ४२, बीएस्सी नर्सिङ (सन् २००६ समूह) १९, बीएस्सीएमआईटी (सन् २००६ र २००७ समूह) का ८ र बीएस्सी एमएलटी (सन् २००७ समूह) का ९ जना विद्यार्थी छन् ।
प्रतिष्ठानको एमडीएमएसतर्फ अर्थोपेडिक्स, एनेस्थेसियोलोजी, सर्जरी, डर्माटोलोजी र पेडियाट्रिक्स गरी पाँचवटा विषयलाई मेडिकल काउन्सिल अफ इण्डियाले मान्यता दिइसकेको छ । सबै संकायमा गरी हाल १ हजार ३ सय १० जना विद्यार्थी अध्ययनरत् रहेको प्रतिष्ठानले जनाएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...