जुम्रा नासिएपछि झुल प्यारो


शरीरको नांगो अंगले छुँदा पोल्ने भएकाले सित्तैमा पाए पनि लामखुट्टे नियन्त्रणका लागि वितरित 'सुपानेट' झुल सबैतिर प्रयोगमा आउन सकिरहेको छैन । तर, सुपानेटकै कारण टाउकाका जुम्रा नासिएपछि भने प्रयोगकर्ता बढ्दै गएका छन् ।
बैजापुरकी बिस्ना वलीको घरमा 'सुपानेट' झुल आएको डेढ वर्ष भयो । उनको ११ जनाको परिवारका लागि सित्तैमा पाइएका पाँचवटा सुपानेट छन् । सुपानेटमा अनुहार, हात, खुट्टाले छुँदा पोल्न थालेपछि उनले झुल हाल्न छोडेकी थिइन् । तर, उनकी छिमेकी तारा वलीले सुपानेट हाल्न थालेपछि टाउकाका जुम्रा निर्मूल भएको बताएपछि पछिल्ला तीन-चार महिनादेखि उनी पनि नियमित सुपानेट प्रयोग गर्न थालेकी छिन् ।

'सुपानेट प्रयोग गर्न थालेपछि मेरा पनि जुम्रा सकिए,' ६३ वर्षीया बिस्नाले कपाल टकटकाउँदै भनिन्, 'यो (सुपानेट) झुल लगाउँदा जुम्रा आफैँ मरे । पहिले त यसबाट जुम्रा मर्छ भनेको सुने पनि विश्वास लागेको थिएन । तर, अहिले आफ्नै टाउकामा एउटै जुम्रा नभएपछि बल्ल विश्वास लाग्यो ।'

बाँकेको राप्तीपारि बैजापुर-५ का बिस्नाका छिमेकी जयबहादुर सुवेदीले पनि सुपानेट झुल प्रयोग गर्दा जुम्रा मरेको सुनाए । सुपानेटको प्रयोगले कपालका जुम्रा मर्छन् भन्ने चर्चा चलेपछि पहिले-पहिले सुपानेट प्रयोग गर्न नमान्ने बैजापुरका बासिन्दा यसलाई माया गर्न थालेका छन् । 'झुटो होइन, साँच्चिकै भन्या हो,' जयबहादुरले भने, 'टाउकामा जुम्रा र घरमा उपियाँ, उडुस केही छैन ।' खटियामा भएका जुम्रा, उपियाँ मरेको र उडुससमेत भागेर गएको उनले दाबी गरे । 'खटियामा भएका उडुस कता भागे कता,' उनले भने ।
औलोको उच्च जोखिममा रहेका राप्तीपारिका बैजापुर र बिनौनाका बासिन्दालाई सुपानेट झुल विरतण गरिएको थियो । दुई वर्षअघि बैजापुरमा औलोले ३३ जनाको मृत्यु भएपछि गत वर्षदेखि सुपानेट प्रयोग गरिएको स्थानीय बासिन्दा वीरबहादुर सुवेदीले बताए । सुरुवातमा स्थानीय बासिन्दाले सुपानेटको प्रयोग गर्न मानेका थिएनन् । सुपानेट प्रयोग गर्ने घरमा जुम्रा, उपियाँ मरेको चर्चा चलेपछि यसको प्रयोग बढेको हो । 'सबैले प्रयोग गर्न थालेका छन्,' स्थानीय सुपानेट वितरण समितिका सदस्यसमेत रहेका सुवेदीले भने, 'पोल्छ भनेर लगाउँदैनथे, जुम्रा उपियाँ मरेपछि खुसीसाथ लगाइरहेका छन् ।'
बाँकेसँगै औलोको उच्च जोखिम रहेका कञ्चनपुर, कैलाली, डडेल्धुरा, बर्दिया, नवलपरासी, काभ्रे, सिन्धुली, धनुषा, महोत्तरी, मोरङ, झापा र इलाममा सुपानेट वितरण गरिएको छ । भारतसँग सीमा जोडिएकासहित १३ जिल्लाका ६५ लाख बासिन्दा औलोको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । गत वर्ष १२ लाख झुल विरतण गरिएको पिएसआई नेपालका औलो कार्यक्रम निर्देशक केपी पाठकले बताए । यस वर्ष थप ३४ लाख सुपानेट झुल वितरण गरिने उनले बताए ।
यसअघि सन् १९५९ मै नेपालमा औलो उन्मूलन कार्यक्रम लागू गरी औलो उन्मूलनको घोषणा पनि गरिएको थियो । तैपनि फेरि औलोले ज्यान लिन थालेपछि देशका ६५ जिल्लामा सरकारले औलो नियन्त्रण कार्यक्रम लागू गरेको छ । सरकारी तथा गैरसरकारी निकायबाट औलो नियन्त्रणका लागि प्रयास भइरहेका छन् ।
'खुला सीमा भएकाले नेपालमा औलो उन्मूलन गर्न सकिन्न,' पाठकले भने । नेपालको सीमा क्षेत्रमा औलो नियन्त्रणका लागि प्रयास भए पनि भारतीय सीमा क्षेत्रका गाउँमा भने कुनै प्रयास गरिएको छैन । जसका कारण सीमा क्षेत्रका जिल्लामा औलोको जोखिम बढी रहेको छ ।
जतिसुकै जोखिम भए पनि स्थानीयवासीमा औलोको डरले भन्दा जुम्रा, उपियाँ, उडुसबाट बच्न सुपानेटको आकर्षण बढेको छ । सित्तैमा सुपानेट पाइने भएपछि गर्भवतीहरू स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यचौकी आउने गरेको उपस्वास्थ्यचौकी प्रमुख हीरामणि गुरौथारूले बताए । स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई निःशुल्क सुपानेट दिने गरिएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...