केहीअघि सरकारसँग शान्तिवार्तामा सामेल भएको भूमिगत मधेस मुक्ति टाइगर्सका पदाधिकारीबीच आरोप-प्रत्यारोप सुरु भएको छ ।
केन्द्रीय सदस्य मंगल पाण्डे (भोला मुखिया) ले अध्यक्ष रमणप्रसाद सिंह (जगदीश अधिकारी) र केन्द्रीय सदस्य चट्टान सिंह -विश्वनाथ पण्डित) लाई निष्काशन गरेको दाबी गरेपछि यस्तो भएको हो ।
तराईका २१ जिल्लामा संगठन भएको दाबी गर्ने उक्त संगठन सम्बद्ध मुखियाले बिहीबार यहाँ पत्रकार सम्मेलन गर्दै आफू कार्यवाहक अध्यक्ष भएको दाबी गरे । सरकारसँगको शान्तिवार्तामा उनी संगठनको टोलीका संयोजक थिए ।
वार्ता टोली विघटन र केन्द्रीय कार्यसमितिका ६ सदस्यलाई विधानविपरीत अधिकारीले निष्काशन गरेको दाबी मुखियाको छ । उनले भने 'चट्टान सिंहले पनि उसको जिम्मामा रहेका हतियार दुरुपयोग गरेको छ । सिरहा-सप्तरीमा भइरहेका अपहरणका घटनामा दुवैको मिलीभगत छ ।' सरकारले कारबाही नगरे आफूहरूले दुवैलाई कारबाही गर्ने दाबी उनले गरे ।
यता मुखियाको पत्रकार भेटघाट सकिएलगतै सञ्चारकर्मीको सम्पर्कमा आएका अधिकारीले भने 'मुखियाले गद्दारी गरेका हुन् । पार्टीबाट निष्काशन गर्ने अधिकार उनलाई छैन । उनी एक्लै छन् ।' गत माघ १८ गते राजविराजमा भएको बैठकमा मोरङमा इन्चार्ज महमद इस्लामलाई निष्काशनलगायतका विभिन्न निर्णय गर्दा मुखियाले पनि हस्ताक्षर गरेको उनले बताए ।
उनले भने 'हामीले हतियार दुरुपयोग पनि गरेका छैनौं । राज्यले देखा भन्छ भने देखाउन सक्छौं । सुरक्षित छ ।' केन्द्रीय कार्यसमितिका सदस्य हेरफेर र संख्या घटाउने सवालमा सबैको सल्लाहमा काम भएको दाबी अधिकारीको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...