इटहरीका क्याबिन तथा रेष्टुरेण्ट व्यवसायीले १८ वर्षमुनिका बालिकालाई लुुकाएर यौन व्यवसाय गराउने गरेको यहाँ कार्यरत् एक संस्थाले जनाएको छ ।
क्याबिनमा कार्यरत् बालिका तथा किशोरीहरुको क्षेत्रमा काम गर्ने उप्का नेपालको अवसर परियोजनाले परियोजना समाप्तिको जानकारी दिन आयोजित कार्यक्रममा यस्तो जनाएको हो । क्याबिनमा बालिकाहरु आउने क्रम बढिरहेको परियोजना निर्देशक शुभचन्द्र राईले जानकारी दिए । क्याबिन तथा रेष्टुरेण्टमा बालिकाहरु यौन दुव्र्यवहारबाट पीडित हुने गरेको उनले बताए । सजिलै बढी रकम कमाइ हुने भएकोले बालिकाहरु क्याबिनका काममा आकर्षित हुने गरेको राईको भनाइ छ ।
इटहरीका डेढ सयभन्दा बढी क्याबिन तथा रेष्टुरेण्टहरुमा कार्यरत् अढाइ सय किशोरीमध्ये एक सय ११ जनालाई परियोजनाले उनीहरुकै परिवारमा पुनःस्थापना गरेको राईले जनाए । यस्तै डेढ सयजनालाई परियोजनाअन्तर्गत अनौपचारिक शिक्षा, परामर्श तथा सीपमूलक तालिम दिइएको छ ।
क्याबिनमा कार्यरत् किशोरीहरुलाई संगठित गरी श्रमिक महिला उद्धार समूह नामको समूह बनाएर किशोरीहरुका हक–अधिकारको पक्षमा लड्न सहयोग गरेको समेत राईले जनाए । समूहमा रहेका ५६ जना किशोरी नियमित बैठक बसी सक्रिय भएका छन् ।
अढाइ वर्ष सञ्चालित सो परियोजना अवधिमा एक सय १६ जना किशोरीलाई सीपमूलक तालिम दिइएको र एक सय १२ जनालाई जीविकोपार्जनका लागि व्यवसाय सुरु गर्न आर्थिक तथा प्राविधिक सहयोग गरिएको राईले जनाए ।
क्याबिनमा कार्यरत् ४४ जना किशोरीमध्ये एकजनामा एचआईभी पोजेटिभ देखिएको बताउँदै सोही अनुपातमा गणना गर्दा क्याबिन तथा रेष्टुरेण्टमा यौन व्यवसायमा संलग्न धेरै युवतीमा एड्स सङ्क्रमण भएको हुनसक्ने राईले जनाए । पारिवारिक हेला र कमजोर आर्थिक अवस्थाका कारण किशोरीहरु होटल, क्याबिनमा यौन व्यवसायमा संलग्न हुन बाध्य भएको राईको निष्कर्ष छ ।
प्रष्ट कानुनको अभावमा प्रहरीले सक्रियता नदेखाउने गरेको बताउँदै राईले आय आर्जनका क्षेत्रमा किशोरीहरुलाई प्रोत्साहित गरेमा यौन व्यवसायमा कमी आउने जिकिर गरे ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...